|
फाइल फोटो

काठमाडौं : नेपालमा दुर्लभ पाटे बाघको संख्या बढेर २३५ पुगेको छ। राष्ट्रिय संरक्षण दिवसका अवसरमा वन मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३७ बाघ बढेर २३५ पुगेको हो। अघिल्लो गणनामा नेपालमा १९८ बाघ रहेको तथ्यांक थियो।

राष्ट्रिय बाघ गणना, २०१८ को नतिजा अनुसार यसपटक १९ प्रतिशतले बाघ बढेको पाइएको भए पनि सबैभन्दा बढी बाघ रहेको चितवनमा भने बाघको संख्या घटेको छ। चितवनमा १२० बाघ रहेकोमा यसपटकको गणनामा भने चितवनमा कुल ९३ बाघ मात्रै रहेको पाइएको तथ्यांकमा उल्लेख छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९३, बर्दिया राष्ट्रिय निकुञ्ज, ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जका १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ भेटिएका हुन्।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा क्यामेरा ट्रापिङ विधिको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघ गणना गरेको थियो।

निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले चितवनमा बाघ घट्नुमा गत वर्षको बाढीले बाघ बगाएको, सो क्षेत्रमा धान्ने क्षमता सीमित भएको र पर्सा निकुञ्जमा बाघ सरेको हुन अनुमान गरे। साथै सो क्षेत्रमा गत चार वर्षमा प्राकृतिक रूपले, आपसमा लडेर र विभिन्न रोग लागेर १८ बाघ मरेको उनले बताए।

नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३  मा १९८ रहेको तथ्यांक थियो।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। अब बाघ दोब्बर बनाउन १५ बाघ मात्रै अपुग छ। यसले २०२२ सम्ममा लक्ष्य पूरा हुने देखिएको छ। 

सन् २०१६ को तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको संख्या छ। नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमी क्षेत्र मध्ये ११ हजार ५७ वर्ग किमी (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ।

संरक्षणमा उपलब्धी  : मन्त्री बस्नेत

सो क्रममा बोल्दै वनमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रका आशलाग्दो उपलब्धी हासिल गरेको बताए। उनले बाघ गणनाको पछिल्लो नतिजाले सन् २०२२मा बाघको संख्या दोब्बर पुर्‍याउने मुलुकको प्रतिबद्धता पूरा हुने देखिएको भन्दै खुसी व्यक्त गरे। वातावरण संरक्षण र विकासका कार्यलाई एकअर्काका पूरकका रूपमा अघि बढाउने विषयमा मन्त्रालय स्पष्ट रहेको उनले बताए।

विस २०६३ असोज ७ गते वातावरणसम्बन्धी एक कार्यक्रममा गएको तत्कालीन वनमन्त्री गोपाल राईलगायत २४ जना वातावरण संरक्षणकर्मी टोलीका सबै सदस्यको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको सम्झनामा संरक्षण दिवस मनाउन थालिएको हो।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले सरकार र सरोकारवाला निकाय तथा व्यक्तिको प्रयासमा वन क्षेत्र बढेको जानकारी दिए।

वन सचिव डा विश्वनाथ ओलीले बाघ गणनाको नतिजा सकारात्मक रहेको औँल्याए। यस वर्षको राष्ट्रिय संरक्षण पुरस्कार डा कमल गैरेलाई प्रदान गरिएको छ। रु एक लाख ५१ हजार राशीको उक्त पुरस्कार मन्त्री बस्नेतले उनलाई प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.