|
Photo : sanjeevnitoday.com

काठमाडौं : आयुर्वेदका प्रवर्तक धन्वन्तरीको आराधना गरी शुक्रबार धन्वन्तरी जयन्ती मनाईंदैछ। 

विश्वकै पुरानो चिकित्सा पद्धति मानिएको आयुर्वेदका प्रवर्द्धक धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरी जयन्ती मनाउने गरिएको छ। देवता र दानव मिलेर समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर धन्वन्तरीको उत्पत्ति भएको धर्मशास्त्रमा उल्लेख छ। धन्वन्तरी जयन्तीलाई आयुर्वेदका चिकित्सकले शुभ संकल्प तथा शुभकार्य गर्ने दिनका रुपमा लिन्छन्। 

नेपालमा सन् १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा पनि मनाउने गरिएको छ। 

सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस किर्तिपुर, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद क्याम्पस दाङ्ग, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र नीजि आयुर्वेद अस्पतालहरुले विभिन्न कार्यक्रम गर्दैछन्। 

यस्तै धन्वन्तरी कलश लिएर प्रकट भएको स्मरणमा आजको दिनलाई धनतेरसका रुपमा मनाउँदै नयाँ भाँडाकुँडा र सुनचाँदीका गरहना किनमेल गर्ने चलन छ। सक्नेले सुनचाँदी किन्ने र नसक्नेले नयाँ भाँडा किनेर राख्ने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.