'मैले तपाईंहरूलाई टाढा सम्झिएको छैन'

|

काठमाडौं : नेपाल विद्यार्थी संघमा पार्टी महामन्त्री डा. शशांक कोइरालाको छुट्टै समूह छ। त्यो समूहको नेतृत्व उपाध्यक्ष उर्मिला थपलियाले गरिकी छन्। तर संगठनमा भने उनीहरू सधैँ उपेक्षामा परेको गुनासो गर्छन्। पार्टी महामन्त्री डा. कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको उपसमूहमा छन्। यस्तै छ नेविसंघमा पनि।

नेविसंघको ११औँ महाधिवेशनमा वरिष्ठ नेता पौडेल र महामन्त्री डा. कोइराला समूहका विद्यार्थी नेता सँगै भएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए तर पछि उनीहरू छुट्टिए। नेविसंघमा वरिष्ठ नेता समूहको नेतृत्व उपाध्यक्ष प्राकाश रानाले गर्दै आएका छन् भने कोइराला समूहको नेतृत्व उपाध्यक्ष थपलियाले गर्दै आएकी छन्।

जब महामन्त्री कोइराला वरिष्ठ नेता समक्ष असन्तुष्टि राख्न थाले, तब वरिष्ठ नेता पौडेल समूहले पनि कोइराला समूहलाई बेवास्ता गर्दै गयो। अन्य समूहले कोइराला समूहकै उपगुट भनेपछि उनीहरू विभिन्न समयमा हुने भागबन्डाबाट पनि बाहिरिन थाले। यही समस्या नेविसंघमा पनि देखियो।

यस्तै, नेविसंघमा अन्य दुई सशक्त समूह छन्, सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको। देउवा समूहको नेतृत्व अध्यक्ष नैनसिंह महर र सिटौला समूहको नेतृत्व महामन्त्री कुन्दनराज काफ्लेले गर्दै आएका छन्। यी दुई समूहले नेविसंघमा वरिष्ठ नेता पौडेल समूह नै ठान्छन् कोइराला समूहलाई पनि। त्यस कारण उपाध्यक्ष थपलिया समूहले बारम्बार आफूहरू ‘बाइपास’ भएको दुखेसो गर्ने गरेका छन्।

उनीहरू आफूहरूको पनि छुट्टै अस्तित्व भएको भन्दै निर्णय प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै आएका छन्। केही समयअघि तीन समूहले गोप्य छलफल गरेर निर्णय लिँदा पौडेल समूहले आफूहरूको पनि ‘ठेक्का’ लिएको भन्दै महामन्त्री डा. कोइराला निकटका विद्यार्थी नेताहरू असन्तुष्ट थिए। उक्त निर्णय प्रक्रियामा आफूहरूलाई ‘रिङ’बाहिर राखेर महाधिवेशनको विरोधी जस्तो देखाउन खोजेको भन्दै उनीहरूले पटक पटक दुखेसो पोख्दै आएका छन्। यिनै दुखेसो लिएर यी समूहका विद्यार्थी नेताहरूले आइतबार पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन्।

वरिष्ठ नेता पौडेललाई भेटेर उनीहरूले आफूहरूलाई नेविसंघको निर्णय प्रक्रियामा बाइपास गरेको दुखेसो गरेका थिए। ‘हामी महाधिवेशन विरोधी होइन तर निर्णय प्रक्रियामा सहभागी हुनबाट वंचित गरेर हामीलाई महाधिवेशनविरोधी जस्तो बनाइयो’, उपाध्यक्ष उर्मिला थपलियाले भनिन्, ‘हामीले यिनै कुरा वरिष्ठ नेता समक्ष राखेका छौँ।’ कुनै पनि हालतमा नेविसंघको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने वरिष्ठ नेता समक्ष आग्रह गरेको थपलियाले बताइन्।

भेटका क्रममा विद्यार्थी नेताहरूले पार्टीले रोकेर राखेको नेविसंघको विधान पास गर्नुपर्ने बताएका थिए। पौडेललाई भेट्न महामन्त्री डा. कोइराला समूहका उपाध्यक्ष थपलियासहित उपाध्यक्ष खड्ग डाँगी, नीलकण्ठ रिजाल, सागर परियार, पूर्वमहामन्त्री गजेन्द्र कार्की, पूर्वकेन्द्रीय सदस्य मनोहरि श्रेष्ठ, सन्तोष पाण्डेलगायत पुगेका थिए।

भेटका क्रममा वरिष्ठ नेता पौडेलले उनीहरूलाई अब हुने निर्णय प्रक्रियामा ‘बाइपास’ नगर्ने आश्वासन दिएका थिए। ‘तपाईंहरू सबै मेरो नजिकै हुनुहुन्छ। मैले तपाईंहरूलाई टाढा सम्झिएको छैन। तपाईं हामी सधैँ एकै ठाउँ छौँ। हामी टाढा छैनौँ’, नेता पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेविसंघको महाधिवेशन हुन्छ। तपाईंहरू ढुक्क हुनुहोस्।’ उनले रोकिएर रहेको विधानका बारेमा भने खासै बोल्न नचाहेको स्रोतले बताएको छ।

यस्तै, उनीहरूले नेता डा. रामशरण महतलाई समेत भेटेका छन्। नेविसंघको महाधिवेशनमा मध्यस्थकर्ताको भूमिका खेलिदिन उनीहरूले आग्रह गरेका थिए। नेता महतबाट भने उनीहरूले केही राम्रै आश्वासन पाए। महतले नेविसंघमा देखिएको विवाद मिलाउन आफू प्रयासरत भएको उनलाई भेट्न पुगेका विद्यार्थी नेताहरूले जानकारी गराएका थिए। उनले संगठनमा कसैले कसैलाई बाइपास गर्न नहुने पनि धारणा राखेका थिए। ‘अब तपाईंहरू बाहिर बसेर हुँदैन’, नेता महतलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरू संगठित हुनुपर्छ अनि मात्र नेविसंघ बलियो बन्न सक्छ। नेविसंघलाई संगठित बनाउन म पार्टीमा भूमिका खेल्छु।’

नेता महतलाई भेट्न गएका पार्टी महामन्त्री डा. कोइराला समूहका विद्यार्थी नेताहरूले पार्टीमा पुगेको संगठनको विधानलाई पारित गर्न भूमिका खेल्न आग्रह गरे। नेता महतले आफूले जसरी भए पनि यो विधानलाई पार्टी केन्द्रीय समितिबाट पारित गर्न भूमिका खेल्ने विद्यार्थी नेता समक्ष आश्वासन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.