|

काठमाडौं : नेपाली कांग्रेसको भदौ २८ मा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो। उक्त बैठकमा अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्ने कार्यसूची थियो तर आन्तरिक विवादले उक्त बैठक नै बस्न सकेन र अनिश्चितकालका लागि स्थगित भयो। उक्त बैठक बस्न नसक्दा अनुशासन समिति र कार्यसम्पादन समिति नै बन्न सकेन।

बैठक स्थगित भएलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा गए। उनी एक साताभन्दा लामो कार्यक्रम लिएर युरोपमा बसे। लगत्तै विधान मस्यौदा समितिले प्रस्तावित विधानलाई सुझावका लागि प्रदेशमा लैजाँदा नेताहरू त्यता व्यस्त भएका कारण केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन।

तर वरिष्ठ नेता पौडेल स्वदेश फर्कनुका साथै सातै प्रदेशमा विधान मस्यौदामा छलफल सकिए पनि केन्द्रीय समिति बैठक अझै अन्योलमा छ। ‘बैठक अब केही दिनमै बस्छ’, कांग्रेस नेता अर्जुननरसिंह केसीले भने,‘वरिष्ठ नेता विदेश जानुभएको थियो। प्रस्तावित विधानलाई छलफलका लागि प्रदेशमा पठाउनुपरेकाले सबै नेता त्यता गएका कारण बैठक बस्न सकेको छैन।’

केन्द्रीय समितिको जिम्मेवारीमा अब कार्तिकमा हुने भनिएको नेविसंघको विधान पारित गर्नुपर्नेछ। यस्तै, अर्को महत्त्वपूर्ण विषय महासमिति बैठकको तयारी गर्नु पनि हो। तत्काल केन्द्रीय समिति बैठक बस्न नसके महासमिति बैठकमा समेत असर पर्ने देखिन्छ। मंसिर पहिलो साताका लागि तोकिएको महासमिति बैठकको तयारीका लागि भदौ २८ मा बस्ने भनिएको बैठकमा महासमिति बैठकको तयारीका लागि उपसमितिहरू गठन गर्ने कार्यतालिका रहेको थियो। अब पनि बैठक बसेर महासमिति तयारीका लागि उपसमितिहरू गठन नगरे समस्या हुने केसी बताउँछन्। ‘महासमिति बैठकको तयारीका लागि पनि केन्द्रीय समिति बैठक बस्नुपर्छ’, उनले भने, ‘अब तत्काल बैठक बस्न नसके दशैँ, तिहार, छठ आउँदै छ। त्यसपछि लगत्तै महासमिति बैठक पनि छ।’

विवाद के विषयमा?

नेपाली कांग्रेसमा सानो विषयमा पनि गुटगत विवाद हुने गर्छ। यस पटकको केन्द्रीय समिति बैठकमा पनि गुटगत विवाद देखिएपछि बैठक नै बस्न सकेन। सभापति शेरबहादुर देउवाइतर समूहका नेताहरूले सभापतिलाई अप्ठ्यारोमा पारेपछि सभापतिले बाध्य भएर बैठक स्थगित गरेका थिए। तर कहिले बैठक गर्ने भन्ने मिति तय गर्न भने सकेनन्।

भदौ २८ गते बैठक बस्नुअघि शीर्ष नेताहरू आन्तरिक छलफलमा थिए। बैठकमा प्रस्तुत हुने एजेण्डा अनुशासन समिति र कार्यसम्पादन समिति गठनका विषयमा आन्तरिक सहमति गर्नका लागि शीर्ष नेताहरू अन्तरिक तयारीमा जुटे। तर उक्त आन्तरिक बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र नेता अर्जुनरसिंह केसीले सभापति देउवाको तीब्र आलोचना गरेपछि देउवा बैठक स्थगित गर्न बाध्य भए।

बैठकमा पौडेल र केसीले अनुशासन समिति गठन गर्दा संयोजक सिनियर राख्नुपर्ने प्रस्ताव गरेका थिए। समितिको संयोजकबाट रमेश रिजालले राजीनामा दिएपछि खाली रहेको संयोजकमा देउवाले भीष्मराज आङ्देम्बेलाई राख्न देउवाको प्रस्ताव थियो। यसअघिको अनुशासन समितिमा संयोजक रिजालसहित देउवा सुरेन्द्रराज पण्डे, हृदयराम थानी, कमलादेवी पन्त र उमाकान्त चौधरी थिए। पण्डे राष्ट्रियसभा संसदीय दलको नेता भए भने थानी र पन्त निष्क्रिय थिए। चौधरी भने आफू समितिमा रहेको बताउँदै आएका थिए।

यस पटक देउवाले समितिको संयोजकमा आङ्देम्बेसहित सदस्यमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेललाई सिफारिस गरेका थिए। तर पौडेल समूहबाट कुनै सिफारिस आएन। पैडेल समूहले आङ्देम्बे जुनियर भएको भन्दै अनुशासन समितिमा सिनियर राख्नुपर्ने अडान राखे। पौडेल समूहले दिलबहादुर घर्तीलाई संयोजक बनाउन देउवा समक्ष प्रस्तावसमेत गरेका थिए। देउवाले उक्त प्रस्ताव स्वीकार नगरेपछि विवाद सुरु भएको थियो। उक्त आन्तरिक विवादका कारण कांग्रेस बैठक नै बस्न सकेन।

यस्तै, नेता सिटौलाको भने यस विषयमा छुट्टै धारणा थियो। उनले सभापति देउवा समक्ष अनुशासन समिति सदस्य उमाकान्त चौधरीले राजीनामा नदिएको बताउँदै उनलाई नियमले संयोजक बनाउनुपर्ने धारणा राखे। सिटौला समूहबाट सदस्य बनेका चौधरीले भने राजीनामा नगरेका कारण अनुशासन समिति नै नयाँ बनाउन लागेजस्तो सबैको नाम माग्न नहुने सिटौलाले बताएका थिए।

‘उमाकान्त चौधरीले राजीनामा दिनुभएको छैन। उहाँ भएका कारण सबैले राजीनामा दिएजस्तो समिति नै नयाँ बनाउने कुरा गर्नु गलत हो', सिटौलाले राखेका कुरालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं (देउवा)ले सभापतिबाट राजीनामा दिनुभयो भने कार्यवाहक सभापति को हुन्छ? उपसभापति हुने होइन? त्यस कारण उमाकान्तजी कार्यवाहक संयोजक हुनुपर्छ।’ आन्तरिक छलफलमा यसअघि केन्द्रीय कार्यसमिति बैठकले खारेज गरेको कार्यसम्पादन समिति र संसदीय बोर्डको विषयमा भने छलफल नभएको स्रोतले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.