‘पार्टीमा पनि उमेर हद लगाइनुपर्छ’

|

काठमाडौं : लामो समयको विवादपछि आइतबार राती ११ बजे नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको विधान पारित गर्‍यो। विधानमा सबैभन्दा बढी विवादित बनेको विषय थियो, उमेर हद।

नेविसंघमा अराजकता फैलिएको भन्दै सभापति शेरबहादुर देउवा समूहले ३२ वर्षे उमेर हद लगाएर १२औँ महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसभित्र हलचल सुरु भएको छ। सभापतिसँग सधैँ रुष्ट हुने संस्थापनइतर समूह अहिले सभापतिविरुद्ध खनिएका छन्। उनीहरू गोप्य ‘क्याम्पेनिङ’मै जुटेका छन्। केन्द्रीय समिति बैठकको उक्त निर्णयमै असहमति जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमानसिंह, कृष्णप्रसाद सिटौला र अर्जुनरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए।

उनीहरूले सर्वसम्मतिबाट स्वीकृतिका लागि नेविसंघले प्रस्तुत गरेको नेविसंघको ‘विधान २०२७ सातौंँ संशोधन २०७२’ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिविपरीत छुट्टै विधान मस्यौदा प्रस्तुत भएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्। उनीहरूले नोट अफ डिसेन्ट लेख्दै अध्ययन गर्ने समयसम्म नदिई विधान जस्तो मात्त्वपूर्ण विषयलाई बैठकमा प्रस्तुत गरेर सभापति समूह नेविसंघको महाधिवेशन नगर्ने खेलमा लागेको आरोप लगाएका थिए। सभापति समूहले पार्टीलाई अलोकतान्त्रिक बनाउन खोजेको आरोप पनि लगाएका थिए। तर ३२ वर्षे उमेर हदमा भने यी चार नेता असहमत रहेका बताइएको छ। उनीहरू उमेर हद लगाउन नहुने पक्षमा छन्।

यस्तै, कांग्रेस केन्द्रीय समिति बैठक असोज २५ गतेका लागि बोलाइएको छ। उक्त बैठकमा सहभागी हुने/नहुने भन्ने विषयमा रणनीति तय गर्न सुरु गरेका छन्। देउवाइतर समूह कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न सोमबार वरिष्ठ नेता पौडेल निवासमा उक्त समूहको भेला थियो। उक्त भेलामा केही नेताले सभागी भएर फरक मत राख्नुपर्ने बताएका थिए।  बैठकमा नेता सिंह, सिटौला र केसीले २५ गते बस्ने केन्द्रीय समिति बैठक बहिष्कार गर्नुपर्ने धारणा राखे भने वरिष्ठ नेता पौडेल सभापतिको प्रतिक्रिया हेरेर अघि बढ्नुपर्छ भन्ने मनस्थितिमा थिए। ‘वरिष्ठ नेता कार्यक्रममा काठमाडौंबाहिर जानुपर्ने रहेछ’, बैठकमा सहभागी एक नेताले भने, ‘त्यस कारण कुनै निर्णय आएन तर फोनबाटै फाइनल गर्ने कुरा भएको छ।’

बैठकमा सहभागी नेताहरूले नेविसंघमा वर्षौँ दुःख गरेका नेतालाई जिम्मेवारीविहीन बनाउन खोजेको भन्दै आपत्ति जनाएका थिए। स्रोतका अनुसार नेविसंघमा दुःख गरेका नेतालाई जिम्मेवारीको विकल्प नखोजी बिदा गरिनु गलत भएको बताएका थिए।

कांग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको नेविसंघको विधान प्रक्रियाविपरीत भएको कांग्रेसका एक नेताले बताए। ‘पार्टीले नेविसंघलाई विधान बनाउन भनेको थियो। उनीहरूले बनाएर पठाए तर सहमहामन्त्री डा. प्रकाशशरण महतले बनाएको विधान प्रस्तुत गरियो’, ती नेताले भने, ‘निर्देशक समिति औपचारिक पनि होइन। त्यो नेविसंघको विवाद मिलाउन अनौपचारिक ढंगले बनाएको मात्र हो।’

सभापतिले नेविसंघमा पनि हार्ने डरले महाधिवेशन समयमा गर्न नखोजेको संस्थापनइतरका एक नेताले बताए। ‘अब यति गर्दा मंसिर २ मा महाधिवेशन हुन सक्दैन। त्यसपछि यो समिति स्वतः विघटन हुन्छ’, उनले भने, उमेरका कारणले यो समितिले पनि निरन्तरता पाउँदैन। त्यसपछि ३२ वर्षमुनिकालाई सभापतिले टीका लगाइदिन्छन्।’

‘पार्टीमा पनि उमेर हद लगाइनुपर्छ’

पार्टी केन्द्रीय समितिको निर्णयसँगै सभापतिइतरका विद्यार्थी नेताहरू भने आक्रोशित बनेका छन्। उमेर हद लगाएसँगै उनीहरूले सभापति देउवाले महाधिवेशन नचाहेको आरोप लगाउँदै आएका छन्।

‘पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन नगर्ने बहाना गर्नुभएको हो’, नेविसंघ नेता मोती भण्डारीले भने, ‘तर हामी कुनै हालतमा महाधिवेशन गराएरै छाड्छौँ।’

पार्टीमा पनि उमेर हद लाग्नुपर्ने नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले बताउँछन्। पार्टीको निर्णयले लोकतन्त्रमाथि नै गम्भीर प्रहार गरेको भन्दै उमेर हद गलत भएको उनले बताए।

‘शिक्षक हुन उमेर चाहिने, लोकसेवा दिन उमेर चाउनले, पार्टीको नेतृत्व गर्न उमेर नचाहिने?’, उनले भने, ‘अब ७० कटेका, शारीरिक रूपमा गल्दै गएका र स्मृति गुम्दै गएका अनि अशक्त नेताहरूले पनि विश्राम लिनुपर्छ। उहाँहरूचाहिँ अहिलेसम्म नेतृत्व गर्ने अनि हामीलाईचाहिँ किन उमेर लगाउने?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.