|

काठमाडौं : वि. सं. २०३० जेठ ३० गते निर्दलीय पंचायती शासनविरुद्ध आन्दोलनमा रहेको नेपाली कांग्रेसले विराटनगरबाट काठमाडौं आउन लागेको प्लेन 'हाइज्याक’ गरेको थियो। यो काण्डले नेपाली राजनीतिक वृत्तमाा सधैँजसो चर्चा पाउने गरेको छ।

उक्त अपहरण काण्डका योजनाकारमध्ये एक थिए, चक्रप्रसाद बाँस्तोला। उनी यो घटनामा मात्र होइन, कांग्रेसले गरेका विभिन्न क्रान्तिमा निकै महत्त्वपूर्ण भूमिका खेल्ने नेता हुन्। उनी विपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पनि विश्वास पात्र थिए। विपी र गिरिजाका लागि उनी नभई नहुने पात्र थिए कुनै बेला।

नेपाली कांग्रेसले आह्वान गरेको विभिन्न क्रान्तिमा होस् या पार्टीलाई अप्ठ्यारो पर्दा होस्< उनको नाम सधैँ आइरहन्थ्यो। नेपाली कांग्रेसभित्र बौद्धिक नेताको छवि बनाएका बाँस्तोला अन्तत: शनिबार राती सधैँका लागि अस्ताए। २०४८ सालको संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर- ४ बाट पराजित भएपछि उनी भारतका लागि नेपाली राजदूत भएका थिए। उनी २०५१, २०५४, २०५६ र २०५७ मा गरेर चार पटक विभिन्न मन्त्रालय सम्हाल्दै मन्त्रीसमेत बने उनी। मओवादी युद्धलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका बाँस्तोलाका लागि २०६९ पुस १४ गतेदेखि कहालीलाग्दो अवस्था सिर्जना भएको थियो। बौद्धिक नेता बाँस्तोला अन्तत: अर्धचेत अवस्थामा पुगेका थिए।

वि.सं. २००३ मंसिर ११ गते जन्मिएका बाँस्तोला २०६९ पुस १४ गते मोरङमा भएको बन्धु भेलालाई सम्बोधन गर्ने गम्भीर मस्तिष्कघात भई अर्धचेत अवस्थामा पुगेका थिए। उक्त कार्यक्रममा ढलेका बाँस्तोला उठ्दै नउठी संसारबाटै बिदा भए।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका बाँस्तोला कांग्रेसको तरुण संगठन प्रजातान्त्रिक समाजवादी युवा लिगको संस्थापक पनि हुन्। ‘उहाँ पनि छ वर्षअघि यस्तो अवस्थामा नपुग्नु भएको भए अहिले पार्टीको नेतृत्वको दाबेदार हुनुहुन्थ्यो’, पार्टी उपसभापति विमलेन्द्र निधि भन्छन्, ‘नेपाली कांग्रेसको इतिहासमा नेताहरूको नाम लिनुपर्‍यो भने चक्र बाँस्तोलाको नाम पनि अग्रपंक्तिमा आउँछ। उहाँ नेपालको प्रधानमन्त्री हुने क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो।’

बाँस्तोला २०३६ सालको आममाफीपश्चात भारतको भूमिगत जीवनलाई छाड्दै नेपाल फर्किएका थिए। कांग्रेसको संगठनलाई सुदृढ एवं गतिशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येमा उनको नाम पनि पर्छ। प्रजातन्त्र पुन:स्थापनाका निम्ति बाँस्तोलाको निकै महत्त्वपूर्ण भूमिका थियो। यति मात्र होइन, विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्ने श्रेय पनि उनलाई जान्छ। मओवादीलाई शान्ति प्रक्रियामा ल्याएर सात राजनीतिक दललाई एक ठाउँमा ल्याई १२ बुँदे समझदारी निर्माण गर्ने पृष्ठभूमि तयार गर्नेमध्येमा उनी पनि अग्रस्थानमा थिए। उनी पार्टीभित्र देखिएका आन्तरिक कलह व्यवस्थापन गर्ने नेता पनि हुन्।

२०५५ सालमा कांग्रेसका दुई नेताबीच सधैँ टकराव हुन्थ्यो। तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईबीचको टकरावले पार्टी नै कमजोर बनाएको थियो। त्यो समयमा जसरी पनि चुनाव जित्नुपर्छ भनेर केही उपाय निकाल्न कोइरालाले बाँस्तोलालाई आग्रह गरेका थिए। बाँस्तोलाले दुई नेतालाई मिलाएका पनि थिए। त्यो थियो- गोदावरी सम्झौता। कांग्रेसको राजनीति बुझ्न खोज्ने जो कोहीलाई पनि यो सम्झौताबारे थाहा छ। उनले गोदावरीमा कोइराला र भट्टराईलाई लगेर सहमति गराएका थिए।

नेपाली राजनीतिक इतिहासमा चक्रप्रसाद बाँस्तोला र संघर्ष पर्यायवाची भएको पूर्वसांसद तथा बाँस्तोलाका राजनीतिक सहयात्री तिलकप्रसाद न्यौपाने बताउँछन्। ‘उहाँ एउटा कांग्रेसको पिलर हो। उहाँ संघर्ष र विचारका हिसाबले पनि पिलर हो’, उनले भने, ‘उहाँसँगै कांग्रेसको एउटा पिलर ढलेर गयो।’

बाँस्तोलको जीवनीबाट सिकेर कांग्रेसले अघि बढ्नुपर्ने उनले बताए। ‘कांग्रेसका पुराना नेतामा आदर्श थियो। अहिले त्यस्तो छैन। अहिले त राम्रा मान्छे बाहिर गए, हाम्रालाई भित्र्याइयो’, उनले भने, ‘उहाँको विचारबाट सिकेर कांग्रेसले अब पुराना नेताहरूलाई पनि सम्मान गर्नुपर्छ।’ क्रान्ति पुराना नेताको संघर्षले भएको न्यौपाने बताउँछन्। ‘अहिलेसम्म भएको क्रान्ति पुराना नेताको संघर्ष, धैर्य र लगनशीलताले भएको हो। कांग्रेसले यस्ता व्यक्तिबाट पाठ सिकेर अघि बढ्नुपर्छ’, उनले भने, ‘चक्रजी पनि त्यही क्रान्ति उब्जाउने क्रान्तिकारी नेता हो।’

पछिल्लो समय कांग्रेसभित्रको विकृतिप्रति बाँस्तोला असन्तुष्ट रहेको झापाका पुराना नेता तथा उनीसँगै काम गरेका नेता पूर्णानन्द शर्मा बताउँछन्। ‘उहाँ र मैले २०३८ सालमा सँगै काम गरेका थियौँ। म कांग्रेस झापाको सभापति हुँदा उहाँ सचिव हुनुहुन्थयो’, उनले भने, ‘उहाँ स्पष्ट वक्ता हुनुहुन्थ्यो। पछिल्लो समय पार्टीमा देखिएको खिचातानीबाट वाक्क हुनुहुन्थ्यो। त्यसैले त तेस्रो धार बनाउनुभएको थियो। उहाँलाई मस्तिष्कघात नभएको भए अहिले सबैलाई समेट्ने कांग्रेस बन्नुहुने थियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.