|
Photo : liveaaryaavart.com

काठमाडौं : महोत्तरी सहितका मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व बिहीबारदेखि सुरु भएको छ। 

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व बिहीबार ‘नहाय–खाय’ विधिसँगै सुरु हुन लागेको हो। छठ पर्व सुरु भएसँगै गाउँनगर बस्तीमा छठी गीत गुञ्जिरहेका छन्। सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन बिहीबार व्रतालुले व्रत सङ्कल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन्। 

पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ। पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन्। 

यसैगरी, पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई-ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझ अस्ताउँदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने गरिन्छ। झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.