|

सिन्धुली :  वर्षाै देखि भग्नावशेषको रूपमा रहेको ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवं पुनर्निर्माणका लागि गुरुयोजना निर्माण भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र कमलामाई नगरपालिकाको सहकार्यमा गुरुयोजना निर्माण सम्पन्न भएको हो। उक्त गुरुयोजना एनआरएनएका अध्यक्ष भवन भट्टले कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन्।

तत्कालीन ब्रिटिस साम्राज्यवादी अंग्रेजलाई हराउँदै नेपालको सार्वभौम र अखण्डता कायम गर्न बहादुरी देखाइएको सिन्धुलीगढी किल्लालाई पहिलाकै अवस्थामा लैजान नगरपालिकाले गुरुयोजना निर्माण गरेको हो। 

झण्डै एक वर्ष लगाएर १६ करोड रुपैयाँको लागतमा सिन्धुलीगढीलाई ऐतिहासिक तथा कलात्मक शैली तर आधुनिक प्रविधिसहित निर्माण गर्नसक्ने योजना सहितको गुरुयोजना एनआरएनएले तयार पारी नगरपालिकालाई हस्तान्तरण गरेको नगरप्रमुख खत्रीले जनाए।

गुरुयोजनाअनुसार सिन्धुलीगढीको जिर्णाेद्धार एवं पुनर्निर्माणका लागि कुल १६ करोड रुपैयाँ लाग्ने छ। त्यसमध्ये कमलामाई नगरपालिकाले १० करोड रुपैयाँ जम्मा गर्ने नगरप्रमुख खत्रीले बताए। सिन्धुलीगढीको सानो पौवा, ठूलो पौवा, आड भञ्ज्याङ गढीदरबार, सानो र ठूलो किल्ला, पिकनिक स्पट, अतिथिगृह, पानी, शौचालय, पार्किङलगायतका सुविधासहितको ऐतिहासिक स्थलको पुनर्निर्माण गुरुयोजनामा समावेश छ। 

सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले वि‍.सं. १८२४ कात्तिक २४ गते साम्राज्यवादी ब्रिटिस अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो। नेपाली वीर गोरखालीहरूले साम्राज्यवादी ब्रिटिस सेनालाई परास्त गराएको पनि यही कात्तिक २४ गते २५१ वर्ष पुग्दैछ।

२०२२ सालपछि सदरमुकामलाई सिन्धुलीमाढीमा झारीएपछि गढीको संरक्षण हुन सकेको थिएन। तर, दुई वर्ष भित्र गढीको पुनर्निर्माणका लागि एनआरएनएले समेत सहयोग गर्ने गरी अध्यक्ष भट्टले प्रतिबद्धता जनाएकाले गढीको पुनर्निर्माणपछि त्यस क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको एउटा टुकडी राख्ने गरी काम थालिने नगरप्रमुख खत्रीको भनाइ छ। 

यस्तै जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्न ऐतिहासिक स्थल सिन्धुलीगढीमा भ्यु टावर निर्माण गरिने भएको छ। सिन्धुलीगढी किल्लालाई ‘वार टुरिज्म’ का रूपमा विकास गर्न भ्यु टावर निर्माण गर्न लागिएको हो। 

पर्यटन क्षेत्रको विकास गर्न भन्दै प्रदेश ३ सरकारले सिन्धुली गढी किल्लामा यस्तो भ्युटावर निर्माण गर्न लागेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.