बाग्लुङ : दश वर्षअघि मलेसियाको रोजगारी त्यागेर गाउँमै पानी मिल सञ्चालन गरेका बाग्लुङको काठेखोला–७ रेशका यामबहादुर जिसीले अहिले मासिक ५० हजार रुपैयाँभन्दा बढी कमाइ गर्दै आएका छन्। पानी मिलबाट सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत गर्दै आएको जिसीले बताए।
खेर गइरहेको पानीको स्रोतलाई उपयोग गरी सञ्चालन गरेको पानी मिलमा कुटानीपिसानीका साथै काठ काट्ने काम समेत हुने गरेको छ। एक लाख ५० हजार रुपैयाँ लगानीमा स्थापना गरिएको मिलबाट जिसीले मनग्य कमाई गर्दै आएका हुन्।
२०६२ सालमा गाउँमा रोजगारीको कुनै स्रोत नभेटेपछि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका जिसी तीनपछि फर्किएका थिए। थोरै तलब र कठिन काम रहेकाले कम्पनीले भिसा थप गर्न आग्रह गर्दा समेत नमानेर उनी घर फर्केको बताउँछन्। घर फर्केपछि गाउँको खोलामा बगिरहने पानी उपयोग गर्ने योजना बनाएका थिए।
मलेसियामा काम गर्दा उनले जाँदा लागेको ऋण मात्रै तिर्न सके। त्यसैले मिल स्थापना गर्न उनले ऋण लिए। त्यस मिलमा अहिले बिहान ६ बजेदेखि राति ८ बजेसम्म कुटानीपिसानी र काठ चिर्न आउने घुइँचो लाग्ने गरेको छ। पानीबाट चलेको टर्बाइनले पिस्ने, कुट्ने र काठ काट्ने मेसिन चल्ने गरेको छ।
उनको मिलमा विद्युतबाट सञ्चालन गरिएका मिलभन्दा शुल्क आधा सस्तो रहेकाले टाढा–टाढाबाट समेत ग्राहकहरु आउने गरेको काठेखोला–७ वडाध्यक्ष प्रेमबहादुर लामिछानेले बताए। ‘शुल्क सस्तो छ, समयमा काम दिने गर्नुभएको छ,’ लामिछानेले भने, ‘सबैको विश्वास जितेर काम गर्नुभएको छ त्यसैले उहाँको मिल चर्चामा छ।’
जिसीको मिलमा कोदो, मकै, गहुँ पिसेको प्रतिकिलो चार रुपैयाँ मात्रै पर्छ भने धान कुटेको पाँच रुपैयाँ शुल्क लाग्ने गरेको छ। गाउँमै रहेका विद्युतबाट चल्ने मिलहरुले कोदो, मकै, गहुँ पिसेको प्रतिकिलो ८ देखि १२ रुपैयाँ र धान कुटेको १० देखि १२ रुपैयाँ लिँदै आएका छन्।
वन क्षेत्र रहेको रेशमा काठका काट्ने र चिर्ने मिलहरु धेरै छन्। स्थानीय बजारमा रहेका मिलहरुले एक फिट काठ चिरेको १२ रुपैयाँ लिन्छन् भने जिसीले सात रुपैयाँमा एक फिट काठ चिर्दै आएका छन्। ‘बाग्लुङ बजारमा बन्ने घरहरुमा राखिने काठका झ्याल, ढोका र गाउँघरमा बन्ने घरका लागि काठ चिर्ने थलो बनेको छ,’ रेश नुन्थला माध्यमिक विद्यालयका शिक्षक युवराज गौतमले भने, ‘काठ बोकेर चिर्न आउनेहरुको लाइन नै लाग्ने गरेको छ।’ जिसीले आफ्नो मिलमा तीन जनालाई रोजगारी समेत दिएका छन्।
मलेसियामा प्लाष्टिक कम्पनीमा काम गर्दाका दुःख सम्झिँदा उनी भावुक हुन्छन्। मलेसिया जाँदा गरेको लगानी पहिले नै उद्यममा नलगाएकोमा उनलाई पछुतो छ। ‘पहिले विदेशमा निकै कमाइ हुने सपना देखेर ऋण खोजेर मलेसिया पुगें,’ जिसीले भने, ‘पहिले नै पानी मिल चलाउने आँखा देखेको भए तीन वर्ष बिदेशमा बगाएको पसिना देशकै माटोमा सदुपयोग हुन्थ्यो।’
हिउँद वर्षा दुवै सिजनमा पानी प्रसस्त हुने खोला थुनेर जिसीले मिल चलाएका छन्। २०६९ सालअघिसम्म उनको मिलबाट विद्युत समेत उत्पादन हुँदै आएको थियो। २०६५ सालमा चार किलोवाट विद्युत निकालेर गाउँलेलाई वितरण गरेको जिसीले बताए। ८० घर परिवारलाई वितरण गररिएको विद्युत २०६९ सालमा केन्द्रीय प्रसारण लाइन बिस्तार भएपछि बन्द भएको हो।
मिल सञ्चान गर्दै परिवारसँग बसेर गाउँमा नै राम्रो आम्दानी गरेकोमा जिसी खुसी छन्। देशमा भएका स्रोतको परिचालन गर्न नसकेर विदेशिने युवाहरुको लर्को लागिरहेका बेला यहीँका स्रोत उपयोग गर्नुपर्ने जिसीको सुझाव छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।