सजिलो विषय टुंगियो, अप्ठ्यारो केन्द्रीय समितिलाई

|

काठमाडौं : नेपाली कांग्रेसले दुई प्रकारका सदस्यता मात्रै वितरण  गर्ने तयारी गरेको छ। कांग्रेसको नयाँ बन्न लागेको विधानमा दुई प्रकारका सदस्यता वितरण गर्ने प्रस्ताव गरिएको छ। विधान परिमार्जनका लागि बनाइएको मस्यौदा समितिले नेपाली कांग्रेस सदस्य र क्रियाशील सदस्य गरी दुई प्रकारका मात्र सदस्य रहने प्रस्तावमा छलफल सुरु गरेको छ। 

यसअघि मस्यौदा समितिले साधरण, क्रियाशील, सम्मानित र विषेश गरेर चार प्रकारको सदस्य रहने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई सातै प्रदेशमा छलफलमा लगिएपछि कार्यकर्ताबाट आएको सुझावका आधारमा दुई प्रकारको सदस्य मात्र रहने गरी तयारी अघि बढाएको मस्यौदा समितिका एक सदस्यले जानकारी दिए।

‘हामीले एक प्रकारको मात्रै बनाऔं भनेका छौं,’ उनले भने, ‘तर यो विषय छलफलमै छ।’ एक प्रकारको सदस्यका बारेमा समितिमा छलफल हुने र टुंगो नलागेमा विकल्पसहित पार्टी केन्द्रीय समितिमा पेश गर्ने तयारी भएको उनले बताए।

उपसमितिबाट आएका प्रस्तावलाई पूर्ण समितिमा छलफल

मस्यौदा समितिले चाडै आफ्नो काम सक्ने तयारी गरेको छ। मंसिर ५ गतेदेखि ९ गतेसम्म बस्ने भनिएको महासमिति बैठकमा प्रस्तुत गर्न बनाइएको विधान पार्टी केन्द्रीय समितिलाई बुझाउनका लागि अन्तिम तयारी थालिएको हो। विधान मस्यौदा समितिले आइतबार र सोमबार बैठक बसेर विधान मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको हो।

‘उपसमितिले तयार पारेको विषयलाई आइतबारदेखि पूर्ण समितिमा छलफलमा ल्याउँदैछौं,’ मस्यौदा समिति सदस्य दिलेन्द्रप्रसाद बडूले भने, ‘पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने बेलासम्म हामी केन्द्रीय समितिलाई बुझाउँछौं।’

सभापतिको अधिकारमा विवाद 

यसअघि प्रदेशमा छलफलका लागि लगिएको प्रारम्भिक विधान मस्यौदामा सभापतिका कतिपय अधिकारलाई केन्द्रिकरण गर्दै शक्तिशाली बनाउने प्रस्ताव गरिएको थियो। तर सभापतिइतर समूहले यसको खुलेर विरोध गरेको थियो। विषेश गरेर नेता अर्जुनरसिंह केसीले कांग्रेसमा लामो समयदेखि सामूहिक नेतृत्वको अभ्यास भइरहेकाले एकल नेतृत्व ल्याउन नहुने बताउँदै आएका थिए। मस्यौदा समितिमा पनि यो विषयले प्रवेश पाएको छ।

मस्यौदा समितिका एक सदस्यका अनुसार सभापतिलाई शक्तिशाली बनाउन शेरबहादुर देउवा समूहका सदस्यहरू लागि परेका छन्। तर इतर समूहका सदस्यहरू भने कुनै पनि हालतमा शक्तिशाली बनाउन नहुने बताउँदै आएका छन्। 

यसअघि सुझाव संकलनका लागि प्रदेशमा लगिको प्रारम्भिक विधानमा पार्टी पदाधिकारीलाई सभापतिले मनोनित गर्ने वा केही निर्वाचित गर्ने र केही मनोनित गर्ने प्रस्ताव गरिएको थियो। प्रदेशबाट सुझाव आए पनि यो विषय अझै टुंगो लागेको छैन। सभापति समूहले सबै मनोनित गर्नुपर्ने धारणा राख्दै आएका छन् भने इतर समूहका नेताहरूले सबै पदाधिकारी निर्वाचित हुनुपर्ने प्रस्ताव राख्दै आएका छन्।

सभापतिलाई पदाधिकारी मनोनित गर्न दिने भन्ने विषयले पनि सभापतिलाई शक्तिशाली नबनाउने मस्यौदा समितिका सदस्य प्रदीप पौडेल बताउँछन्। ‘मनोनित गर्ने प्रस्तावमा पनि बाहिर आएको जस्तो सभापतिलाई सबै अधिकार दिने भन्ने होइन’, उनले भने, ‘मनोनित पनि सभापतिले मौजात व्यवस्थाबाट गर्ने भनिएको हो। सभापतिले केन्द्रीय समितिमा प्रस्ताव लगेर निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने भनिएको हो। यद्यपि यो विषय टुंगिएको छैन।’

पार्टी पदाधिकारी कति रहने भन्ने विषय पनि नटुंगिएको बताइएको छ। यसअघिको प्रारम्भिक मस्यौदामा १० जनाको पदाधिकारी रहने उल्लेख गरिएको थियो। तीन उपसभापतिसहित १० पदाधिकारी धेरै हुने भन्दै सभापतिइतर समूहले यति धेरै पदाधिकारी राख्न नहुने धारणा राख्दै आएका छन्।

यसअघिको प्रारम्भिक विधान मस्यौदामा १०३, १२३ वा १३३ को केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो। तर कार्यकर्ताले सानो आधारको केन्द्रीय समिति बनाउन सुझाव दिएका थिए। केन्द्रीय समिति कति सदस्य बनाउने भन्ने विषय मस्यौदा समितिले टुंगो लगाउन सकेको छैन। यद्यपि १११ सदस्यीय केन्द्रीय समिति बनाउने गरी छलफल भइरहेको विधान मस्यौदा समितिका एक सदस्यले जानकारी दिए। 

यसअघि पार्टी केन्द्रीय सदस्यले पनि बुथबाटै निर्वाचित भएर केन्द्रसम्म आउनुपर्ने सुझाव आएको थियो। त्यहीअनुसार समितिले विधानमा समेट्ने प्रयास गरे पनि अन्तिम टुंगो भने लाग्न नसकेको सदस्य बडूले बताए। ‘केन्द्रीय सदस्यले पनि बुथबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भएको हो’, उनले भने, ‘अन्तिम टुंगो लागेको छैन अब पूर्णसमितिमा छलफल हुन्छ।’

मस्यौदा समितिमा रहेका सभापतिइतरका सदस्यहरूले समानुपातिकबाट एक पटक पद लिएकालाई दोस्रोपटक दोहो¥याउन नहुने धारणा राखेका छन्। यद्यपि सभापति समूहका सदस्यहरूले यसलाई अन्तिम रूप दिन नमानेको सभापतिइतर समूहका एक सदस्यले जानकारी दिए। 

सजिलो विषय टुंगियो, अप्ठ्यारो केन्द्रीय समितिलाई

देश संघीय संरचनाअनुसार अघि बढ्दा पनि नेपाली कांग्रेस भने पुरानै ढाँचा र संरचनामा चलिरहेको छ। पार्टीलाई संघीय संरचनामा विकास गर्नका लागि विधान मस्यौदा समिति बनाउँदै विधान संशोधन गर्न लागेको हो।

विधान संशोधनको मुख्य काम भनेको पार्टीलाई संघीय संरचनामै लैजानु हो। यही मौकामा कांग्रेसले अन्य विषयलाई पनि थपघट गर्न लागेको छ। विधान मस्यौदा समितिले प्रदेश संरचना भने टुंगो लगाएको छ। पार्टीभित्र विवाद नभएका प्राय सबै विषय टुंगो लगाए पनि विवादमा रहेका धेरै विषय टुंगो लगाउन बाँकी रहेको छ। 
विधान मस्यौदा समितिमा रहेका विभिन्न उपसमितिले पूर्ण समितिमा बुझाएको विधान मस्यौदामा छलफल सुरु भएको भए पनि विवादमा रहेका विषयलाई पूर्णरूपमा टुंगो लगाउने सम्भावना कम रहेको एक सदस्यले जानकारी दिए।

‘सजिलो विषय टुंगिएको छ, अब बाँकी रहेको अप्ठ्यारो विषय पार्टी केन्द्रीय समितिलाई बुझाउने तयारी भइरहेको छ’, उनले भने, ‘यो विषय मस्यौदा समितिले पनि टुंगो लगाउन सक्छ। तर किन विवाद गर्ने? विकल्पसहित केन्द्रीय समितिमा बुझाउँछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.