कृषि प्रविधितर्फ आकर्षित

|

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका –२ कुसुमटारका नारायण थिङ्ग अहिले धान काट्न व्यस्त छन्। उनलाई अहिले धान भित्र्याउने चटारो छ। मंगलबार उनले कुसुमटार फाँटमा धान काट्न पर्म लगाए। ‘धान काट्न, भित्र्याउन मारामार छ, गाउँका सबै अहिले वर्षभरी खाने अन्नबाली धान भित्राउन व्यस्त भएको छन्’ उनले भने।

मानोरोपेर मुरी उब्जाउने काम भइरहेको अर्का किसान अम्बर राज थिङ्ग बताउँछन्। उनले पनि मंगलबार नै खेताला लगाएर धान काट्दै छन्। धान पाकेर झुरुम्म भइसकेका छन्। उनले भने, ‘बेलैमा भित्र्याउन पाए हुन्थ्यो, फेरि पछि पानी आयो भने धान खत्तम हुन्छ त्यही भएर खेताला लगाउँदै धान काट्दै छु।’

पछिल्लो समयमा युवायुवती वैदेशिक रोजगारीका लागि विदेश गएकाले र गाउँमा भएका पनि रोजगारीका लागि अन्यत्रै जाने गरेकाले गाउँमा कामदार भेटाउन मुस्किल छ। ‘गाँउका काम गर्न सक्ने सबै विदेश छन्, विदेश जान नसकेकाहरु दैनिक गुजारा गर्न पैसा कमाउन गाउँबाट अन्यत्रै छन्, गाँउमा खेतीपातीका काम गर्ने मान्छे पाउनै गाह्रो भइसक्यो,दुई चार जनापर्म लगाउन सारै मुस्कील पर्छ’ नारायणले गुनासो गरे।

नारायण र अम्बरराज मात्र हैन्न जिल्लाका सबै किसान यतिबेला धान काट्न र भित्र्याउन व्यस्त छन्। जिल्लाको कमलाखोँच, मरिण,तिनपाटन, माढीका फाँट लगायत क्षेत्रका किसानलाई अहिले धान काट्ने तथा भित्र्याउने चटारो छ।

किसान कृषि प्रविधितर्फ आकर्षित

खेतीपाती गर्न कामदारको अभाव हुन थालेपछि जिल्लामा पछिल्लो समय आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै गएको पाइन्छ। कम खर्चमा तथा थोरै जनशक्तिमा खेती गर्न सकिने भएकाले जिल्लाका किसानहरु आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन्।

जिल्लाका सहरीक्षेत्रका किसान देखि ग्रामिणक्षेत्रमा प्रविधिको प्रयोग गरेर खेतीपाती गर्ने किसानहरु दैनिक बढ्दैछन्। कमलामाई नगरपालिका –५ का प्रेम श्रेष्ठले करिब १० कट्ठा खेतको धान झार्न थे्रसरको प्रयोग गरेका छन्।

थ्रेसरको प्रयोगले गर्दा धान भित्र्याउन सहज भएको श्रेष्ठले बताए। उनले भने, ‘पहिला पहिला खेतभरी खेताला लगाएर बिटा लगाउने धान झार्ने गरिन्थ्यो, अहिले थ्रेसर आएको छ पैसा नै तिरेपनि सजिलो भएको छ, किसानलाई धेरै सहज छ, थेसरले धान झार्दा प्रति घण्टा १ हजार ५ सय देखि १ हजार ६ सय सम्म पैसा तिर्नुपर्छ’। 

प्रेम श्रेष्ठकै खेतमा थ्रेसरबाट धान झार्दै गरेका ट्याक्टर व्यवसायी कमलामाई नगरपालिका –४ च्याउँकोटका भरत कुमार थापामगर धान झार्ने सिजनमा काम भ्याईनभ्याई हुने बताउछन्। ‘घण्टाको १५,१६ सय रुपैया लिन्छु, यो धान झार्ने सिजनभरी काम मारामार नै हुन्छ’उनले भने।

कृषि ज्ञान केन्द्र कार्यालय सिन्धुलीका अनुसार जिल्लामा १६ हजार ४ सय ८० हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिदै आएको छ। जिल्लामा प्रति हेक्टर जमिनमा ३.४ मेट्रिकटन धान उत्पादनहुदै आएको र सोही अनुपातमा यस वर्ष पनि धान उत्पादन हुने आकलन रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्राविधिक सहायक नथुनी यादवले बताए। उनले भने, ‘जिल्लामा प्लटिङ गरेर घडेरी बनाउने प्रवृत्ति बढ्दै गएको छ, लगभग १६ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुन्छ।’

यस वर्ष समयमा पानी परेकाले धान उत्पादनमा गत वर्षभन्दा केही ५,७ प्रतिशत बृद्धि हुने प्राविधिक सहायक यादवको अनुमान छ। ‘यसवर्ष सिन्धुलीका प्राय, ठाउँमा समयमा पानी परेको छ, रोग किरा पनि कम लागेकाले धान उत्पादन पनि राम्रो छ, यस वर्ष गतवर्षको तुलनामा धान उत्पादन बृद्धि हुन्छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.