सिमकोट : उत्तरी हुम्लाका किसानहरुले व्यवसायिक रुपमा चौरीपालन गर्दै आएका छन्। खेतीयोग्य जमिन नभएकाले यहाँका किसानहरुले मुख्य व्यवसायका रुपमा चौरी, भेंडा–बाख्रा, घोडा–खच्चड पाल्दै आएका हुन्।
चौरी गाईको दूधबाट घिउ, छुप्री, थुत र मिठाइ बनाउँछन्। चौरीको रौंबाट लिउ, फेरुवा, रसी, झोला, लत्ताकपडा र खर्कका लागि पाल समेत बनाइने चौरीपालक किसान सुनामहिंसे तामाङले बताए। उनका अनुसार चौरीको मासु खाने र छालाबाट बख्खु पनि बताइन्छ।
यस क्षेत्रम वर्षमा महिनामा एक पटक मात्र उत्पादन हुने नाफल (उवा)बाहेक अन्य बाली उत्पादन नहुने भएकाले यस क्षेत्रका वासिन्दा पशुपालन व्यावसाय गर्दै आएको नाम्खा गाउँपालिका–१ का सुनाम लामाले बताए।
एउटा चौरी ६० देखि ८५ हजार रुपैयाँ र याक ५० हजार रुपैयाँसम्म बिक्री हुने टिसी तामाङले बताए। उनले चौरीजन्य बस्तुको बिक्रीबाट वार्षिक छ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए। यस्तै, उत्तरी नाम्खा गाउँपालिकाका–६ लिमी गाउँका पाल्जोर तामाङले ७० वटा चौरी पालेका छन्। लिमीगाउँमा प्रति परिवारले चौरी पालनबाट वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको उनको भनाइ छ । चौरी पालनबाट राम्रो आम्दानी हुने भएकोले उच्च हिमाली भेगामा बसोबास गर्ने किसानहरूमा चौंरीपालनप्रति आकर्षिण हुँदै गएको पाल्जोरले बताए।
यहाँका चौरी हुम्लामा मात्र नभई चीनको स्वशासित क्षेत्र तिब्बतमा समेत राम्रो मूल्यमा बिक्री हुने भएकाले पनि यस क्षोत्रका किसान चौरी पालनमा आकर्षित भएका छन्।
चरन अभाव
उच्च हिमाली क्षेत्रमा चौरीपालन गरिने भएकाले समस्या पनि हुने गरेको छ। चार हजार फिटको उचाइमा चौरी पालन गरिने भएकाले यस क्षेत्रमा पाँच महिनासम्म हिउँले ढाँक्ने गरेको छ। हिउँले ढाकेपछि चरनको अभाव हुने गरेको आङमु लामाले बताइन्।
उच्च हिमाली भेगका पाटनमा रहेको चौरी हिउँदयाममा बेंसीमा झार्दा बिरामी पर्ने गरेको लामाले बताइन्। बिरामी भएका बेला उपचार नपाउँदा चौरी गाई मर्ने समस्या भएको उनको भनाइ छ। हुम्लाको लिमी गाउँको टाँक्ची, लाप्चा, ठेहेको चुवाँखोला, मुचुको हयाँक्सी लगायतका वनमा चौरीका चरन क्षेत्र हुन्। यस्तै, तिब्बतको पठारमा क्षेत्रमा पनि यहाँका चौरी हिउँदयाममा चरनका लागि लगिने भए पनि पछिल्लो समय चीन सरकारले प्रतिबन्ध लगाएपछि समस्या भएको किसानहरुको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।