|

विराटनगर : विराटनगर महानगरपालिकाभित्र दिउँसो लुटपाट गर्दै हिँड्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। प्रहरीले लामो समयसम्म अनुसन्धानपछि लुटपाट गर्दै हिड्ने गिरोहलाई विराटनगरबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका घर भइ विराटनगरस्थित शान्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय शिवराम चौधरी र विराटनगर ८  का २५ वर्षीय  समिर कामतलाई पक्राउ गरेको हो। उनीहरूले विराटनगरको विभिन्न क्षेत्रमा लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले जानकारी दिए। उनीहरूले विराटनगरमा केही दिन अगाडि छुट्टा–छुट्टै स्थानबाट विभिन्न व्यक्तिको सामान लुटेका थिए।

पक्राउ परेका शिवराम यसअघि साउदी अरबको इमिरेटसमा अपराध गरी नेपाल फिर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘वैदेशिक रोजगारका लागि विदेश गएका शिवराम त्यहाँ समेत अपराध गरेको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी केसीले भने, ‘नेपाल आएपछि लुटपाटको धन्दामा संलग्न भएको देखियो।’

अनुसन्धानकै क्रममा रहेकोले शिवरामले विदेशमा के अपराध गरे भन्ने अहिले खुलिनसेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार कार्तिक २५ गते विराटनगरको हाटखोलाबाट टेलिकम मोडतर्फ जाँदा विराटनगर ७ की चन्द्रकला बस्नेतको ब्याग उनीहरूले लुटेका थिए। बस्नेतको नगद ६० हजार रुपैयाँ र मोवाइलसहितका समान र कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले लुटेर लगेका थिए। 

उनीहरूले चन्द्र कलालाई घाइतेसमेत बनाएका थिए। लुटेरासँग प्रतिकार गर्न खोज्दा उनको खुट्टाको घोडा र हातमा चोट लागेको थियो। त्यस्तै कार्तिक १४ गते हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गर्दा कटहरी २ का निरज श्रेष्ठको मोवाइल लुटिएको थियो भने कार्तिक १६ गते विराटनगरकी हिना राजवंशीको आरके चिल्ड्रेन अस्पताल अगाडिबाट १८ हजार ४०० रुपैयाँ नगद, घडी, व्याग र मोवाइल लुटिएको थियो।

पीडितहरूले वडा प्रहरी कार्यालय हाटखोलामा उजुरी दिएपछि  मोरङ प्रहरीले विशेष प्रहरी परिचालन गरी लुटपाटमा संलग्नलाई पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तले यी तीन वटै घटनामा संलग्न भएको देखिएको एसपी केसीले बताए। प्रहरीले लुटेराको साथबाट विभिन्न कम्पनीका तीन थान मोवाइल, विभिन्न कम्पनीका ७ थान सिम कार्ड, लेडिज घडी एक थान, लेडिज चस्मा १ थान र लुटन प्रयोग भएको लु ३९ प ४३९७ नम्बरको कालो मोटरसाइकलसमेत बरामद गरेको छ। 

पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा  मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप भई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.