|

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विपत्ति सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। उपराष्ट्रपति पुनले भौगोलिक जटिलतामा उभिएको नेपालले भू विज्ञानसम्बन्धी ज्ञानको सदुपयोग गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे। सोमबार काठमाडौंमा आयोजित भू-वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले भू–विज्ञानसम्बन्धी ज्ञानको आधारमा सडक लगायतका पूर्वाधार निर्माण गर्न सके विगतमा जस्तो प्राकृतिक विपत्तिको सामना गरिरहन नपर्ने पनि उल्लेख गरे। उपराष्ट्रपति पुनले प्राकृतिक स्रोत, साधनको उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहिरहने विश्वास पनि व्यक्त गरे।

भारत, चीन, अमेरिका, इटालीलगायत ११ देशका १ सय ८० भन्दा बढि भू-वैज्ञानिकहरू सहभागी रहेको सम्मेलनले भूजोखिम न्यूनीकरण, पानीको व्यवस्थापन, खनिज उत्खनन लगायतका विषयमा गहन छलफल गर्नेछ। भू–जोखिमबाट बच्न र मुलुकको समृद्धिका लागि प्राकृतिक स्रोतहरूको उचित व्यवस्थापन गर्न सम्मेलन उपयोगी हुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं सम्मेलन आयोजक समितिका सहसंयोजक सुबोध ढकालले जानकारी दिए।

सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि भू-विज्ञानका उपयोगिताका विषयमा पनि विस्तृत छलफल हुनेछ। २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति भएपछि त्यसको उचित व्यवस्थापनका लागि नेपालमा विपद व्यवस्थापनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.