|

काठमाडौं : सभापति शेरबहादुर देउवाको विरोध गर्दा एकै ठाउँमा देखिए पनि नेपाली कांग्रेसको असन्तुष्ट समूह हालसम्म आफैंमा एकजुट हुन सकेको छैन। 
कांग्रेसमा मुख्य रूपमा सभापति देउवा र नेता रामचन्द्र पौडेलले गुटको नेतृत्व गरिरहेका छन्। तर पौडेल निकटका अरु नेताले पनि साना गुट चलाउँदा असन्तुष्ट समूह एकै ठाउँमा उभिन नसकेको हो।

नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी र कोइराला परिवारले छुट्टा–छुट्टै उपगुट चलाएपछि पौडेलले अभिभावकत्व प्रदान गरेको तत्कालीन संस्थापन समूह लाखापाखा भएको हो।

१३ औँ महाधिवेशन अघिसम्म यो समूह एक थियो। तर तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पदको लोभले टुटफुटको श्रृंखला सुरु भएको यो समूह अहिलेसम्म पनि टुटफुटकै अवस्थामा छ। कोइरालाको निधन नहुँदा यो समूह कोइरालासँगै थियो।

पहिले पदका लागि यता लागेका नेताहरू अहिले अस्तित्वकै संकटमा छन्। १३ औँ महाधिवेशनमा देउवालाई सहयोग गरेपछि सिटौला यो समूहबाट ‘आउट’ भए। कोइराला परिवारको साथ छाड्दै केसी पनि देउवा समूहबाट महामन्त्रीमा उम्मेदवारी दिए। वरिष्ठ नेता पौडेल र कोइराला परिवारको पनि तब साथ छुट्यो जब महामन्त्री शशांक कोइरालाले संसदीय दलको नेतामा देउवालाई सहयोग गरे। 

कोइराला समूहले अब आउने महाधिवेशनमा एक नेताले नेतृत्वका लागि कोशिश गर्ने घोषणा गरिसकेको छ। डा.शेखर कोइराला अहिले यसका लागि ‘लविङ’मा छन्। उनी कार्यकर्तालाई रिझाउनका लागि देश दौडाहामा समेत निक्लिएका छन्। 

तर पछिल्लो समय देउवाविरुद्ध यो शक्ति पुनः एक भएको छ। तर पहिलाको जस्तो मजवुद हैन। अहिले पनि एकअर्काको शक्ति आर्जनमै व्यस्त छन् यी समूह। अहिले पनि एकअर्काको आलोचना भने गरिनै रहेका छन्। 

अब हुने महाधिवेशनमा नेतृत्वका विषयलाई लिएर भने यिनीहरूबीचको विवाद भइरहन्छ। तर मनले एक नभए पनि अहिले भने यी समूहका नेताहरू सधैँ जसो आन्तरिक छलफलमा व्यस्त छन्। हरेक जसो केन्द्रीय समिति बैठक हुनुभन्दा अघि उनीहरू साझा धारणाका लागि बैठक बस्छन्। तर कहिल्यै साझा धारणा निक्लँदैन। बैठकमा उनीहरूबीच एक मत नहुँदा सभापति देउवा बहुमतको आधारमा निर्णय गर्छन्। 

बैठकमा सभापतिले राखेका प्रस्तावमा वरिष्ठ नेता पौडेल विरोध त गर्छन तर त्यही बैठकमा मात्रै सीमित हुने गरेको असन्तुष्ट समूहका एक केन्द्रीय सदस्य बताउँछन्। ‘वरिष्ठ नेता बैठकमा कुरा त राख्नुहुन्छ तर अडान क्षमता नै छैन। त्यसलाई बैठक सकिएपछि बिर्सनुहुन्छ’, उनले भने, ‘महामन्त्री पनि बैठकमा केही बोल्नुहुन्न। सभापतिलाई मौन समर्थन गर्नुहुन्छ। बाहिर आएपछिचाहिँ सुभापतिको विरोध गरेको सुनिन्छ।’

अहिले पार्टीको विधान मस्यौदामाथि केन्द्रीय समिति बैठकमा छलफल हुँदैछ। यसमा पनि समान धारणा बनाउन देउवाविरुद्धको समूह पटपटक छलफलमा बसे। अब पनि एक मत नहुने हो भने देउवा समूहले पेलेर जाने रणनीति बनाएको यो समूहका एक नेताले थाहाखबरसँग भने। 

‘अब पनि एक भइएन भने हामीलाई धेरै गाह्रो छ’,  उनले भने, ‘महासमिति बैठकमा विधान परित गर्न बहुमत मात्र होइन, दुई तिहाई बहुमत चाहिन्छ। यसका लागि मात्र सभापतिले महासमिति बैठक अघि मात्र सहमतिका लागि प्रयास गरे जस्तो गर्ने हुन। त्यसपछि हामीलाई पेलेर जाने उनीहरूको रणनीति छ।’
असन्तुष्ट समूहबीच एकता नभएको युवा नेता गगन थापा पनि स्वीकार गर्छन्। यो समूहबीचमा पनि धेरै विभाजन भएको उनको बुझाई छ। गत वर्ष भएको निर्वाचनपछि मात्र देउवाविरुद्ध एक भएका कारण एक मत नरहेको उनी बताउँछन्। 

‘पार्टीको १३ औँ महाधिवेशनमा र महाधिवेशनपछि आआफ्नै पोजिसन भए। निर्वाचनपछि केही साथीहरू हार स्भाविक हो भन्न लागे भने एक थरीले नेतृत्वको कारण भने’, उनी भन्छन्, ‘अस्वभाविक र नेतृत्वको कारण भन्ने एकातिर भए र स्वभाविक भन्ने अर्कोतिर भए। अहिले समूह बन्ने कारण यति एउटा मात्र हो, अरू छैन। यो परिस्थितिले बनेको समूहभित्र टकराव र संघर्ष छ।’ 

यसबाट कसले जितेर आउँछ भन्ने विषय पनि मुख्य रहेको थापाको भनाइ छ। ‘अहिले सभापतिविरुद्ध एक भए पनि खासमा निकै फितालो छ। महाधिवेशनदेखि नै एक भएको भए एक मत हुन्थे होला’, उनले, ‘एक मत हुनलाई समय लाग्छ।’

अब पनि एक मत नभए देउवाविरुद्धको समूहलाई निकै गाह्रो हुने युवा नेताहरूको चिन्ता छ। महासमिति बैठकपछि सभापति पेलेर जाने रणनीतिमा भएकाले अब एक मत हुनुको विकल्प नरहेको असन्तुष्ट समूहका युवा नेताहरू बताउँछन्। ‘महासमिति बैठकपछि विधान लागू गर्ने पक्षमा सभापति समूह छ। यो विधानले सभापतिलाई निकै शक्तिशाली बनाउँछ’, एक युवा नेताले भने, ‘हामीले महाधिवेशनपछि मात्र विधान लागू हुनेगरी धारणा राख्नुपर्छ। नभए धेरै गाह्रो हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.