|

बझाङ : घरायसी तथा छोराछोरीको पढाइ खर्च जोहो गर्न बर्सनि रोजगारीका लागि भारत बस्दै आएका बझाङको केदास्यु गाउँपालिका १ पथौडा गाउँका किसानहरु आजकाल गाउँमै फर्केर तरकारी खेती गर्न थालेका छन्। गाउँमै बसेर केही रोजगारी गर्नुपर्छ भन्ने सोच पलाएपछि पथौडा गाउँका अधिकांश किसानहरु आजकाल टमाटरखेतीतर्फ आकर्षित भएका हुन्।

टमाटर खेतीबाट मनग्‍य आम्दानी हुन थालेपछि जिबिकोपार्जनमा सहजता आउँदा पथौडा गाउँका बासिन्दाले आजकाल रोजगारीका लागि भारत जान छोडेका छन्। गत वर्षदेखि सुरु गरिएको तरकारी खेतीबाट पथौडा गाउँका प्रत्येक परिवारको वार्षिक एकलाखसम्म आम्दानी हुने गरेको छ। बझाङस्थित केही सरकारी तथा गैरसरकारी संस्थाहरूबाट प्रेरणा पाएपछि आफूहरू तरकारी खेतीतर्फ उन्मुख भएको पथौडा गाउँका अगुवा कृषक कुम्भराज भण्डारीले बताए। उनले भने, 'भारतमा नोकरी गर्दा मासिक १० हजार मात्र कमाइ हुन्थ्यो तर गाउँमा तरकारी व्‍यवसायबाट आजकाल २० हजार कमाइ हुन्छ।'

तरकारी खेती गर्दै आएका पथौडा गाउँका २५ परिवार किसानहरूले आजकाल ५० रोपनी जमिनमा मौसमी तथा बेमौसमी टमाटर खेती गर्दै आएका छन्। बर्सेनि टमाटर उत्पादनमा वृद्धि भए तापनि बजार भाव भने पाउन नसकेको पथौडा गाउँका किसानहरूले गुनासो गरेका छन्।

पथौडावासीलाई तरकारी खेतीमा उन्मुख गराउन जिल्लास्थित साइपाल विकास समाजद्धारा सञ्‍चालित विकास परियोजनाले प्राविधिक सहयोग गर्दै आएको स्थानीय कृषकहरू बताउँछन्। विकास परियोजनाले स्थानीय कृषकहरूलाई विभिन्न तरकारीका बिउ तथा औजारहरू उपलब्ध गराउनुका साथै तरकारी खेतीसम्बन्धी तालिमसमेत दिएको विकास परियोजना संयोजक जनक खड्काले बताए। उनले भने,  'पथौडावासी विगतमा गहुँ र धान खेतीमा मात्र सीमित थिए तरकारी खेतीबारे जानकार थिएनन् परियोजनाको प्राविधिक सहयोगपछि आजकाल तरकारी खेतीमा उन्मुख भई मनग्‍य आम्दानी गरिरहेका छन्।'

टमाटरको उत्पादनमा वृद्धि भएपछि गत असोज महिनायता पथौडा गाउँका प्रत्येक परिवारले टमाटर बिक्री गरी ५० हजारसम्म कमाएका छन्। पथौडावासीले उत्पादन गरेको टमाटर प्रतिकेजी ३० देखि ४० रुपयाँका दरले बिक्री हुने गरेको छ। गहुँ खेतीभन्दा दोब्बर आम्दानी हुने भएकाले पथौडा गाउँका अधिकांश किसानहरू आजकाल तरकारी खेतीतर्फ उन्मुख भएको पथौडा गाउँकी महिला कृषक सीता भण्डारीले बताइन्।

पथौडा गाउँका कृषक जित भण्डारी, कुम्भ भण्डारी लगायतका केही कृषकहरू विगत ३ वर्ष यता निरन्तर तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीबाट भएको आम्दानीले घर खर्च तथा छोराछोरीको पढाइ खर्चमा सहज भएको पथौडा गाउँका कृषक कुम्भ भण्डारीले जानकरी दिए। तरकारी उत्पादनमा वृद्धि भए पनि बजारको समस्याले गर्दा कम मात्रामा बिक्री हुने गरेको कृषक जित भण्डारीले बताए। टमाटरबाहेक पथौडा गाउँका कृषकहरू बन्दा, काउली, र प्याज लगायतका अन्य तरकारी पनि बर्सेनि उत्पादन गर्ने गर्दछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.