युवा नेतामा देखिएन एक मत

|

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामा सुझाव दिने क्रममा पार्टीमा नेतृत्व गर्ने नेताको उमेर हद तोकिनुपर्ने बहस पनि उठेको छ। मंगलबारको बैठकमा युवा नेता गगन थापाले ७० कटेका नेताले पार्टीबाट विश्राम लिनुपर्ने धारणा राखे। तर अर्का युवा नेता गुरुराज घिमिरेले भने यो कुरालाई स्वीकार गरेनन्।

यसअघि युवा नेता गोप्य छलफलमा जुट्दा केन्द्रीय समिति र महासमितिमा एक भएर जाने निर्णय गरेका थिए। उमेर हदको विषयमा पनि युवा नेता थापा र घिमिरेबीचमा एक मत देखिएन। थापाले ७० नाघेका नेताले विश्राम लिनुपर्छ भनिरहँदा घिमिरेले भने उमेर प्राथमिकताको विषय नभएको बैठकमा धारणा राखेका छन्। घिमिरेले बुधबारको बैठकमा बोल्ने क्रममा उमेर महत्त्वपूर्ण नभई पद्धति महत्त्वपूर्ण भएको बताएका हुन्। 

‘पार्टी चलाउन उमेर महत्त्वपूर्ण होइन, पद्धति मत्तवपूर्ण हो। पद्धतिले बाहिरनुपर्छ’, उनले भने, ‘उमेर महत्त्वपूर्ण भएको भए अमेरिकामा अहिले पनि बाराक ओबामा नै राष्ट्रपति हुन्थे तर पद्धतिले दुई पटकभन्दा बढी हुन नपाएका कारण उनले ह्वाइटहाउस छाडे।’ नेता घिमिरेले विधान मस्यौदाको प्रस्तावनामै प्रश्न उठाएका थिए। प्रस्तावनामा लामो समय नै खर्चिएर बोल्दै सिलसिलेबार ढंगबाट प्रस्तावना नआएको भन्दै आपत्ति जनाए। 

‘बिपी र सुर्वण समशेर पार्टीको संस्थापक हुनुहुन्छ। तर सुर्वण समशेरलाई दोस्रो परिच्छेदमा मात्र राखिएको छ। उहाँको भूमिका २०१५ सालमा निर्वाचन गरेको मात्र भनिएको छ। तर उहाँ पार्टीको फाउन्डर हो। गणेशमानजी र किशुनजीको भूमिका पनि २०४६ को आन्दोलनमा गरिनुपर्छ’, उनले भने, ‘किशुनजी र गिरिजाबाबुलाई जोडेर भूमिका बनाइएकनो छ। गिरिजाबाबुको भूमिकालाई २०५९ देखि २०६६ सम्म राखिनुपर्छ। अनि संविधान बनाउने र कार्यन्वयन गर्ने सुशील’दा र शेरबहादुरजीको योगदानलाई सँगै राख्नुपर्छ। प्रस्तावना सिलसिलेबार ढंगबाट आएन।’

नेता घिमिरेले सदस्यतालाई अहिलेको जस्तै दुई प्रकारको राख्नुपर्ने धारणा राखे। उनले साधरण सदस्य र क्रियाशील सदस्य दुवै राख्नुपर्ने धारणा राखे। तर क्रियाशील सदस्य वितरणमा विगतमा मनोमानी भएको भन्दै अब भने अभिलेख राखेर वितरण गर्नुपर्ने धारणा राखे। उनले पनि पदाधिकारी संख्या बढाउन सुझाव दिएका छन्। केन्द्रीय समितिको संख्या बढाउने भए पदाधिकारी पनि बढाउनुपर्ने घिमिरेको सुझाव थियो। 

यस्तै, सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापतिलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखे।पार्टीभित्र विकृति मौलाएको भन्दै उनले सभापतिलाई शक्तिशाली बनाउन विधान मस्यौदामा सुझाव दिए। उनले सदस्यतालाई पहिलाको विधानमा जस्तै दुई प्रकारकै राख्नुपर्ने बताए। 

सभापति निकट अर्का केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले भने पार्टीलाई समावेशी नबनाइएको भन्दै दुखेसो गरे। उनले पार्टीको केन्द्रीय समितिमा पनि अहिलेको विधान मस्यौदाले समावेशी बनाउन नसकेको भन्दै दुखेसो गरेका हुन्। उनले पदाधिकारीको संख्या बढाएर समावेशी बनाउन पनि सुझाव दिए।

यस्तै, उनले एक व्यक्ति दुई पटकभन्दा बढी सभानुपातिक पद्धतिबाट केन्द्रीय सदस्य वा सांसद हुन नपाउने नीति आउन लागेकोमा पनि आपत्ति जनाए। ‘निर्वाचनमा प्रतिस्पर्धा गरेर आएपछि उसलाई रोक लगाउन हुँदैन’, उनले भने, ‘फेरि एक व्यक्तिले दुई पटकभन्दा बढी अवसर नपाउने हो भने नयाँ मान्छे कहाँबाट खडा गर्नु?’

छ दिनदेखि जारी केन्द्रीय समिति बैठकमा ५० भन्दा बढी केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। विधान मस्यौदामा आफ्ना धारणा राख्ने क्रममा संस्थापनइतर समूहले भने पदाधिकारी बढाउन प्रस्ताव गरिरहेका छन् भने संस्थापन समूहले बढाउनै पर्ने भए समावेशी बनाउनुपर्ने धारणा राखिरहेका छन्। बैठक अझै केही दिन चल्नेछ। मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकमा पेस हुने कांग्रेसको समग्र आर्थिक नीति प्रतिवेदन मस्यौदा पनि केन्द्रीय समिति बैठकमा पेस भएको छ। 

देउवाको निर्देशन मानेन् 

सभापति देउवाले महासमिति बैठक जसरी पनि गर्नुपर्ने बताउँदै विधान मस्यौदाको छलफल छोट्याउनुपर्ने भन्दै कम बोल्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए। मंगलबारको बैठक सकिँदै गर्दा उनले बुधबारदेखि १० मिनेट मात्र बोल्न निर्देशन दिएका थिए। तर केन्द्रीय सदस्यले उनको निर्देशन मानेका छैनन्। 

‘सभापतिले १० मिनेट मात्र बोल्नुभन्नुभएको थियो। तर सबै केन्द्रीय सदस्यहरुले आधा घण्टा बोलिरहेका छन्’, एक केन्द्रीय सदस्यले भने, ‘अहिलेचाहिँ सभापतिले कम्तिमा छोट्याउनुस् भन्न थाल्नुभएको छ। तर उहाँले आफैँ आफ्नो निर्देशन उल्लंघन गरेकाले पनि केन्द्रीय सदस्यले निर्देशन नमानेका होलान्। ११ बजेदेखि बैठक सुरु गर्ने भनेर उहाँनै १ बजे आउनुभयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.