|

जनकपुरधाम : राष्ट्रिय प्रजाततन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान दुई तिहाइको सरकारले देशमा शान्ति, स्थायित्व र विकास समृद्धिभन्दा देशलाई द्वन्द्वको खतरातर्फ उन्मुख गरेको आरोप लगाएका छन्।

जनकपुरधाममा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले २०६३÷०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरा नउठ्दै जनतालाई अल्मल्याएर विदेशीको इसारामा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको बताए। उनले जनआन्दोलनपछि १२ वर्षको बीचमा लाखौँ व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराइएको दाबी गर्दै यसरी दिनानुदिन धर्म परिवर्तन भए धार्मिक तथा सांस्कृतिक द्वन्द्वको खतरामा फस्ने बताए।

थापाले आगामी फागुन ७ गतेदेखि हिन्दुराष्ट्र निर्माणका लागि जनसंघर्षको कार्यक्रम अघिसारेको बताउँदै अबको एक वर्षभित्र संगठन सुदृढीकरण अभियान, पार्टी एकाइको पुनर्गठन, ५० हजार सदस्यता वितरण र हिन्दुराष्ट्र पुनर्जागरणको अभियान चलाइने जानकारी दिए। यसैगरी, यही माघ महिनाबाट मेची महाकाली राष्ट्रिय स्वभिमान यात्रा गर्न लागेको समेत जानकारी दिए। पूर्वउपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका थापाले आफूहरूले संविधानलाई आलोचनात्मक समर्थन गर्दै अघि बढ्ने र आफ्नो पार्टीको माग पूरा गर्न सडक र सदनबाट संघर्ष गर्ने कुरालाई जनताले स्वीकार नगर्दा चुनावमा अपराजित हार स्वीकार गर्दै अब विगतमा भएको गल्तीलाई सच्चयाएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।

अध्यक्ष थापाले तीन राप्रपाको एकताको ढोका सदैव खुला रहने बताउँदै राज्यसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र नेपाल र चुनाव चिह्‍न गाई आफरूहरूको पहिलो सहमति विन्दु रहेको समेत जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.