|

काठमाडौं : देशको कूल गार्हस्थ उत्पादनमा बढी रेमिट्यान्सको योगदान हुने विश्‍वका चार देशभित्र नेपाल परेको छ। विश्‍व बैंकले हालै सार्वजनिक गरेको ‘माइग्रेसन एण्ड डेभलेपमेन्ट व्रिफ ३०’ प्रतिवेदनअनुसार देशको कूल उत्पादनमा रेमिट्यासनको योगदान नेपालको विश्‍वमै चौथो स्थानमा रहेको देखाएको हो। प्रतिवेदनले नेपालको कूल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३०.१ प्रतिशत रहेको देखाएको छ।

नेपालभन्दा अगाडि ताजिकिस्तान, टोंगा र किर्गिज गणतन्त्र रहेको देखाएको छ। यी देशमा कूल गार्हस्थ उत्पादन क्रमश: ३२.२, ३५.१ र ३५.९ प्रतिशत रहेको छ। कूल गार्हस्थ उत्पादनको बढी रेमिट्यान्सको योगदान रहने पाँचौँ स्थानमा भने हाइटी रहेको छ। हाइटीमा रेमिट्यान्सको योगदान २६.५ प्रतिशत रहेको छ। नेपाल दक्षिण एसियामा भने विप्रेषणमा जिडिपी बढी हुने देशमा पहिलो हो।

त्यस्तै, दक्षिण एसियामा बढी रेमिट्यान्स पठाउने देशमा भने नेपाल चौथो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत, पाकिस्तान र बंगलादेश रहेका छन्। भारतले सन् २०१८ मा ७९ अर्ब पाँच करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ। पाकिस्तानले २० अर्ब नौ करोड, बंगलादेशले १५ अर्ब नौ करोड अमेरिकी डलर भित्र्याएको छ।

नेपालले सन् २०१८ मा आठ अर्ब दुई करोड अमेरिकी डलर अर्थात् आठ खर्ब दुई अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको छ। नेपालको २०१८ मा ३० खर्ब रुपैयाँ जिडिपी रहेकामा रेमिट्यान्सको योगदान मात्रै ३०.१ प्रतिशत रहेको छ। सन् २०१७ मा नेपाल दक्षिण एसियामा सबैभन्दा बढी रेमिट्यान्स पठाउने देशमा पाँचौँ स्थानमा रहेकामा एक वर्षमा पाँच प्रतिशतले वृद्धि गरी चौथो स्थानमा उक्लिएको हो।

नेपालबाट कामका लागि विदेश जानेको संख्या भने निरन्तर घट्दो छ। प्रतिवेदनअनुसार नेपालबाट २०१५/०१६ मा चार लाख नेपालीले अन्तिम तथा पुन: श्रम स्वीकृति लिएकामा २०१६/०१७ मा २० हजारले घटेर तीन लाख ८० हजारले श्रम स्वीकृति लिएका छन्। संख्या घटेर पनि बढी रेमिट्यान्स आउनुको कारणमा बैंकिङ च्यानलको प्रयोग बढ्नु र डरलको मूल्य महँगो हुनु नेपाल राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.