|

 काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एसिया प्यासिफिकमा सरकारलाई नखाएको विष लागेको बताएका छन्। प्रतिनिधिसभाको सांसद निर्वाचित भएको एक वर्ष पूरा भएको सन्दर्भमा नेकपा गुल्मी-काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले सोमबार आयोजना गरेको कार्यक्रममा निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ता, मतदाता तथा शुभचिन्तकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्याशिफिक सम्मेलनलाई बढी विवादित बनाइएको बताए।

'विषयलाई अनावश्यक रुपमा विवादित बनाइयो। सरकारलाई नै दोष दिने काम भयो', उनले भने, 'अन्तर्राष्ट्रिय सम्बन्ध सुधार हुँदा देशलाई नै फाइदा हुने होला नि! अहिले हामीलाई नखाएको विष लाग्यो। विषयलाई होली वाइनसँग जोडियो।'

विभिन्न गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न देशका राष्ट्रप्रमुख, कार्यकारी आएको सन्दर्भमा नेपाल सरकारले सुरक्षा दिएको बताए।

सम्मेलनलाई अनावश्यक रुपमा विवादित बनाइएको भन्दै हरेक कुरालाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिले समस्या उत्पन्न गरेको उनको भनाइ छ। 'सम्मेलनमा धेरै राम्रा कुरा भएका छन्। आफ्नो संविधान, शान्ति प्रक्रियाबारे जानकारी गरायो,' मन्त्री ज्ञवालीले भने, 'जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौ, जबकि कार्बन उत्सर्जनमा हाम्रो कुनै भूमिका छैन। त्यसबारे पनि छलफल थियो।'

अर्को प्रसङ्गमा मन्त्री ज्ञवालीले बालिका बलात्कार गरेर हत्या गर्नेलाई अहिलेभन्दा कडा कारबाही हुनेगरी कानुन बन्नुपर्ने भन्दै अपराध गर्ने कोहीले पनि उन्मुक्ति नपाउने बताए। निर्मला पन्तका हत्यारा पनि एक दिन पत्ता लाग्ने भन्ने उनले उनीहरूलाई पत्ता लगाउन सरकार गम्भीर भएको बताए। 

केही समूह, व्यक्तिलाई स्थायी सरकार गठन भएपछि छट्पटी भएको भन्दैमा मन्त्री ज्ञवालीले सरकारले काम गरेन भनेर आलोचना गर्नतिर लागेको बताए। कामको गति केही धिमा भए पनि काम भने सरकारले गरिरहेको उनले जिकिर गरे। 'हरेक नौ महिनामा सरकार फेर्न बानी परेकालाई स्थायी सरकारले केके न गर्ने भयो भनेर एकखालको छटपटाहट छ। विभिन्न ढंगले सरकारको आलोचना गरिरहेका छन्', मन्त्री ज्ञवालीले भने, 'गति अलिकति धिमा भएको होला तर कमजोर भएको छैन। हामी जनताका अपेक्षा पूरा गर्छौ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.