|

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित क्लब न्यूरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो। 

चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निकै सशक्त टोली रहेको थियो। सो टीम २०१७, २०१९, २०३५ र २०५१ सालको लिग च्याम्पियन हो। आर्थिक सङ्कटले गर्विलो इतिहास बनाएको एनआरटी झनै सङ्कटमा परेको थियो। 

२०६९ सालमा एनआरटीले आर्थिक सङ्कटको कारण देखाउँदै लिग नखेल्ने निर्णय गर्‍यो। फलस्वरुप एन्फाले एनआटरीलाई कारवाहीस्वरुप ‘बी’ डिभिजनमा घटुवा गराएको थियो भने २०७३ मा ‘बी’ डिभिजन लिगको उपविजेता भएर पुनः ‘ए’ डिभिजनमा फर्कन सफल भएको थियो। एनआरटीले २४ वर्षयता लिग जित्न सकेको छैन। यसपटक पनि उसको लिग जित्ने ध्यानभन्दा पनि प्रतिस्पर्धामा खरो उत्रने सोंचमा छ। क्लबका प्रशिक्षक महेश्वर मुल्मी जारी लिगमा हुने खेलमा प्रतिस्पर्धी टोलीलाई बलियो चुनौती पेश गर्ने रणनीतिमा रहेको बताउँछन्।

नयाँ र युवा प्रतिभा टोलीमा रहेपछि जारी लिगका सातौं चरणका खेल सकिँदासम्म एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरीमा रोकिएसँगै एनआरटी लगातार छ खेलमा हार बेहोरिसकेको छ। 

दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लबसँग २–०, तेस्रो खेलमा नवप्रवेशी च्यासल युथ क्लबसँग ५–१, चौंथो खेलमा थ्रीस्टार क्लबसँग १–० र पाँचौं खेलमा नेपाल पुलिस क्लबसँग ३–० गोल, छैटौँ खेलमा एपिएफसँग २–१ र सातौँ खेलमा सङ्कटा क्लबसँग १–० ले एनआरटी पराजित भएको छ। 

सो टीमले अहिलेसम्म १७ गोल खाँदा चार गोल मात्र फर्काउन सकेको छ। प्रशिक्षक मुल्मीले यो सिजनका लागि क्लबले खासै तयारी नगरेको बताउँछन्। यसवर्ष रेलिगेशन नहुने भएरपछि पुछारका क्लब त्यति निराश छैनन्। अङ्क तालिकाको पुछारमा रहँँदा पनि ‘ए’ डिभिजनमै रहने सुविधा भएकाले क्लबहरुले तयारी र खर्चमा लोभ गरेको आरोप समेत लागेको छ। 

गोलको खोजीमा मछिन्द्र   

यता मछिन्द्र क्लबले जित त परको कुरा भयो। जारी लिगमा एक गोल समेत फर्काउन सकेको छैन। सात खेल खेल्दा तीन खेल बराबरी गरेको छ। तीनवटैमा मछिन्द्रले गोलरहित बराबरी खेल्यो। बाँकी चार खेलमा खेलमा मछिन्द्र पराजित भयो। उसले आठ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन। 

सातौं चरणको खेल सकिँदासम्म सात पटकको विजेता मनाङ शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन्। मनाङको २१ अङ्क रहेको छ। थ्रीस्टार र सङ्कटाको समान १८ अङ्क छ। उनीहरु क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। 

त्यसैगरी लिगमा अपराजित टोली त्रिभुवन आर्मीको १७ अङ्क बनाउँदै चौंथो स्थानमा छ। सातौँ चरणको खेल सकिँदा नेपाल पुलिस र हिमालयन शेर्पाले समान ११ अङ्क जोड्दै क्रमशः पाँचौं र छैटौं स्थानमा रहेको छ। च्यासल १० अङ्क जोड्दै सातौँ स्थानमा रहँदा समान अङ्कसहित एपिएफ आठौँ स्थानमा रहेको छ। ६ अङ्क जोडेको सरस्वती नवौँ र पाँच अङ्क जोडेको फ्रेण्ड्स दशौँ स्थानमा छन्। चार अङ्क जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औँ स्थानमा रहँदा ३ अङ्क जोडेको मछिन्द्र १३ औँ र एक अङ्क जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.