|

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको महत्त्वपूर्ण खेलमा शुक्रबार चितवन टाइगर्सले विराटनगर वारियर्सविरुद्ध प्रतिस्पर्धा गर्दा अर्को खेलमा पोखरा राइनोज काठमाडौं किंग्स ११ विरुद्ध भिड्दै छ। प्रतियोगिताको तीन खेलमा जितविहीन रहेको चितवन र पोखराले प्लेअफ सम्भावनालाई जीवित राख्न शुक्रबार जित्नैपर्ने दबाब छ।

पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवन लगातारको हारले दबामा रहँदा पारस खड्काको कप्तानीमा रहेको विराटनगर ब्याटिङ लाइनअप चल्न नसक्दा दबाबमा छ। चितवन मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी तथा दुई इंग्लिस खेलाडीको साथ पाएर बलियो मानिएको थियो। तर मैदानमा स्वदेशी तथा विदेशी खेलाडीको कुनै जादु नचल्दा एकपछि अर्को खेलमा निरन्तर पराजय भोगिरहेको छ।

चितवन यसअघि ललितपुर, काठमाडौं र भैरहवासँग पराजित भएको छ। त्यसैले चितवन पारस खड्का कप्तान रहेको विराटनगर विरुद्ध पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। चितवनले ब्याटिङमा मध्यम प्रदर्शन गर्दै आएको छ।

तर विराटनगर भने जारी प्रतियोगितामा भाग्यकै कारण मात्र जित निकाल्न सफल भएको छ। कमजोर स्कोरका कारण विराटनगर ब्याटिङ लाइनअपमा चिन्तित छ। पहिलो खेलमा १०४ रनको लक्ष्य अन्तिम बल अगाडि पूरा गरेको विराटनगर त्यसपछिका दुई खेलमा १०० रन कटाउन असफल भएको छ।

प्रतियोगितामा दुई खेल खेलेको काठमाडौं एक खेलमा जित र एक खेलमा हार ब्योहोरेको छ। पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा ललितपुरसँग फराकिलो हार ब्योहोर्न बाध्य भयो। १०९ रनको लक्ष्य ललितपुरले विकेटनै नगुमाइ पुरा गरेको थियो। बिहीबार पोखरा पहिलो जितका लागि मैदानमा उत्रिँदा काठमाडौं तेस्रो खेलमा दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउन मैदान उत्रिँदै छ। पोखरा पहिलो खेलमा नै २१५ रनको विशाल स्कोर जोगाउन असफल भएको थियो।

दोस्रो खेलमा पनि पोखरा ललितपुरसँग फराकिलो हार ब्योहोर्न बाध्य भयो भने तेस्रो खेलमा विराटनगरले दिएको ८४ रन नै भेट्टाउन असफल भयो। अस्थिर ब्याटिङ लाइन अप पोखराका लागि मुख्य चुनौती रहेको छ। त्यसो त बलिङमा पनि स्थीरता नहुँदा पोखरालाई बिहीबार काठमाडौंविरुद्ध सहज हुनेछैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.