|

काठमाडौं : राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले समिति बैठकमा पत्रकारहरूलाई प्रवेश निषेध गरेकी छन्। फास्ट ट्र्याकको प्रस्थान बिन्दु ललितपुरको खोकना र बुङमतिका स्थानीयले दिएको उजुरी समितिको छलफलको विषय भए पनि पत्रकारलाई प्रवेश दिइएको छैन। शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको थियो। सभापतिको निर्देशन भन्दै मर्यादापालकले पत्रकारहरूलाई प्रवेश गर्न दिएनन्।

बिहीबारको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सांसदहरू दिलेन्द्रप्रसाद बडु, डा. अमरेशकुमार सिंह, छक्कबहादुर लामा लगायतले फास्ट ट्र्याकको विषयमा छलफल गर्न नहुने, उक्त विषय राज्यव्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्र भित्र नपरेको बताएका थिए।

सोही विषयमा समाचार आएपछि समिति सभापति श्रेष्ठले पत्रकारहरूलाई प्रवेश नदिएकी हुन्। समिति सदस्य प्रेम सुवालले छलफल सकिएको र समितिले सरकारलाई दिने निर्देशन तयार भइरहेको बताए। उनले पत्रकारहरूलाई समितिमा प्रवेशमा लगाइएको निशेधबारे पनि कुरा भएको तर सभापति श्रेष्ठले जवाफ नदिएको सुवालले बताए। समितिमा राष्ट्रिय सुरक्षाका विषयमा गम्भीर छलफल गर्ने भए पत्रकारहरूलाई प्रवेश निषेध लगाइने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.