नवलपरासी : चाउरी परेको अनुहार हल्का कुप्रि परेको शरिर उमेरले ६८ वर्ष पुगेकी पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ की झुमिसरा रानालाले बुढ्यौली महसुस गर्न पाएकै छैनन्।
घरमै बसेर परिवारका सदस्यले दिएको मीठो मसिनो खाने उमेर भइसक्यो तर काम नगरी चित्तै बुझ्दैन झुमिसरालाई। बिहानै उठ्यो जंगल गयो अनी सालका पात टिपेर ल्यायो अनी घर घरमै पुगेर बेच्नु उनको दैनिकी नै हो। झुमिसराले सालको पात बेचेर नै आफ्नो जीवन गुजरा गर्ने गरेकी छन्। घरमा आफू र आफ्ना बृद्ध श्रीमान मात्र रहेका छन्। दुईछोरा मध्ये जेठा छोरा मलेसियामा रहेका छन् भने कान्छा छोरा गाडीमा हिड्ने काम गर्दै आएका छन्। झुमिसरा भने आफ्ना लागि चाहिने खर्च जुटाउन आफै लागी पर्दै आएकी हुन्छिन्।
गाउँघरमा हुने पूजाआजा र अन्य प्रयोजनका लागि पनि सालको पातका टपरी बनाउने र प्रयोगमा ल्याउने पुरानै प्रचलन हो। झुमिसराले जंगलमा गएर साना साना सालका रुखबाट पात टिपेर ल्याउछिन् अनि घरमा ल्याएर मुठा बनाउने गर्दछिन्। गाउलेको माग अनुसार घर घरमै पातको मुठा पुराइदिन्छिन्।
वर्षौदेखि झुमिसरा यही काम गर्दै आइरहेकी छन्। आफुले यो काम सुरु गर्दा पहिले ३० रुपैयाँ प्रतिमुठा बेच्ने गरे पनि अहिले प्रतिमुठा ६० रुपैंयामा बेच्दै आएकी छन्। गाउलेहरू पनि खुसी भएर पात किन्ने गर्दछन्। उमेरले नेटो काटिसक्दा यो काम गर्न झमिसरालाई सहज भने छैन। चिउडो कुमाउदै कापेको स्वरमा झुमिसरा भन्छिन के गर्ने पेट पाल्नका लागि गर्नै पर्ने रहेछ, बुढी भएँ। रुख चढ्न सक्दीन भूइबाट टिप्न मिल्ने मात्र टिपेर ल्याउँछु जंगल जान आउन समेत धौ हुन्छ।
झुमिसराले सकी नसकी मिहिनेत गरेर सालको पात बेचेर मासिक रुपमा ५ देखि ६ हजार सम्म आम्दानी गर्ने गरेको बताउँछिन्। पछिल्लो समय बजारमा आएका पलाष्टिक र कागजका का थाल कचौराहरूले पटरी प्रयोग गर्नेहरूको संख्यामा कमी हुँदा झुमीसरालाई पनि असर गरेको छ। पहिलेको तुलनामा माग कम भएको झुमिसराको भनाइछ।
उमेरले नेटो काट्दै गर्दा पनि झुमिसराको मिहिनतलाई सम्मान गर्नै पर्छ। काइदा जाने फाइदा हुन्छ भनेझै इच्छा सक्ति भए जुनसुकै काम गरेर पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण हुन झुमिसरा।
तपाईंको ईमेल गोप्य राखिनेछ ।