|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले भारत सरकारले प्रतिबन्ध लगाएका ५०० र १००० दरका भारु नोट सटहीका लागि कुटनीतिक कदम चाल्न सरकारलाई आग्रह गरेको छ। 

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै नेपालमा अर्बौ रुपैयाँ बराबरको ५०० र १००० दरका भारु रहेकाले त्यसलाई सटही गर्न सरकारलाई आग्रह गरेको हो। 'ठूलो परिमाणको भारतीय नोट सटहीका लागि कुटनीतिक माध्यमबाट भारतीय सरकारसँग तत्काल आवश्यक पहल गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र नेपाल राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ' विज्ञप्तिमा भनिएको छ। 

भारतीय सीमावर्ती क्षेत्रका नेपालीहरु रोजगारी, व्यापार तथा औषधोपचारका लागि दिनानुदिन भारत आवत/जावत गर्नु पर्ने हुदा उनीहरुले त्यस्ता नोटहरु सटही गरी आफूसँग राख्ने गरेको भन्दै महासंघले भारत सरकारको निर्णयले ती नोट कसरी सटही गर्ने भन्ने चिन्ता परेको बताएको छ।

'यतिखेर उनीहरु आफ्नो सम्पूर्ण व्यापार व्यवसाय काम छोडेर भारतीय नोट सटहीका लागि भौतारिरहेका छन्,उनीहरुसंग रहेको पैसा नसाटिएमा कतिपयको त सम्पूर्ण जायजेथा नै जाने समेत परिस्थिति रहेको छ' महासंघले भनेको छ। 

भारत सरकारले नक्कली नोटको धन्दा चलेको भन्दै कात्तिक २३ गतेदेखि ५०० र १००० दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो। भारतमा प्रतिबन्ध लागेपछि नेपालमा चलनचल्तीमा रहेका भारतीय नोट भने साटिने वा नसाटिने अन्यौल नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.