|

दमक : भारतीय रुपैयाँ ५ सय र एक हजारका नोट प्रतिबन्ध लगाइएपछि झापाका सीमावर्ती शहरहरुमा खुलेका आँखा अस्पताल सुनसान भएका छन्। विशेषगरी भारतीय बिरामीलाई लक्षित गरी खोलिएका आधा दर्जन आँखा अस्पतालहरुमा बिरामीको चाप एकदम न्युन छ। भारतीय ५ सय र एक हजारका नोट चल्न छाडेपछि आँखाको उपचारका लागि अस्पताल आउने भारतीय बिरामी नगन्य भएपछि अस्पताल समेत सुनसान भएको छ।

मंगलबार मध्यरातदेखी अचानक पाँच सय र एक हजारका नोट नचल्ने भएपछि उपचारका लागि रकम बोकेर आएका भारतीय नागरिक पनि समस्यामा परेका छन्। उपचार गर्न रकम बोकेर आएका कतिपय भारतीय नागरिकहरु पैसा नचल्ने भएपछि उपचार नगरी फर्किएका छन्। 

भारु नोट नचल्दा उपचारमा समस्या हुनुका साथै विचल्ली भएको भारतबाट आएका बिरामी र बिरामीका आफन्तले गुनासो गरेका छन्। भारु प्रतिबन्ध गर्नुअघि भारतबाट झापाको विर्तामोडस्थित मेची आँखा अस्पतालमा आएका भारतको आसामका एक बिरामी रामेश्व सिंहले बोकेर ल्याएको रकम सबै ५ सय र एक हजारका नोट भएका कारण आफू समस्यामा परेको बताए।

उनले भने, ‘आँखाको उपचारका लागी म नेपाल आएको हुँ, भारत सरकारले पाँच सय र एक हजार रुपयाँ प्रतिबन्ध नलाग्दै म यहाँ आएकाले मसँग सबै पाँच सय र एक हजारका मात्र छन्, धेरै समस्यामा परे अब अस्पतालको बिल पनि कसरी तिर्ने?’ उनले अगाडि भने, ‘धेरै टाढाबाट आएको हुँ, त्यसैले पाँच सय र एक हजारका नोट मात्र ल्याएको छु यहाँ साट्न पनि नमिल्ने रहेछ।’ उनले घरसम्म जाने पैसा समेत नभएको बताए। 

भारतको उत्तर पूर्वी क्षेत्रका आठ वटाभन्दा बढी राज्यहरुबाट आँखा उपचारका लागि सिमावर्ती झापाका विभिन्न स्थानमा खुलेका अस्पतालमा भारतीय नागरिकको चाप हुने गरेको अस्पतालहरुले बताएका छन्। आँखा अस्पतालहरुले उपचारका लागि आएका बिरामीहरुलाई सिधै भारतीय रुपैयाँ लिएर सेवा दिन्थे।

कानुनीरुपमा भारतीय रुपैयाँ अस्पतालले कारोबार गर्न नमिल्ने भएपनि केही वर्षयता सरकारको लगानी रहेको मेची आँखा अस्पतालमा भारतीय बिरामी आउने क्रम बढेपछि दोहोरो फाइदा लिन कारोबार हुने गरेको थियो। 

भारतीय बिरामी समेत उपचारका लागि आउने भएपछि आँखा अस्पताल खुल्ने क्रम बढेको हो। काँकडभिट्टा आँखा अस्पतालका व्यवस्थापक चेतराज शर्माका अनुसार अस्पतालमा बिरामीको संख्या ह्वातै घटेको छ। उनले भने, ‘हाम्रो अस्पतालमा सबैजसो बिरामीहरु भारतका हुन्छन्, पछिल्लो समय बिरामी घटेका छन्, अस्पताल सुनसान बनेको छ।’ 

मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीका अनुसार अस्पतालको ओपिडीमा ६० प्रतिशत र सर्जरीमा ८० प्रतिशत बिरामी भारतीय हुने भएकाले पछिल्लो समयमा अस्पतालमा बिरामीको संख्या घटेको छ। 

आँखा अस्पतालहरु आसपासमा खुलेका पसल र बजारमा पनि भारतीय रुपैयाँ प्रतिबन्धको प्रभाव देखिएको छ। दैनिक लाखौं भारतीय रुपैयाँको कारोबार हुने आँखा अस्पताल जस्तै आसपासका व्यापारी र व्यवसायी समेत मारमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.