|

काठमाडौं : लेखक सुविन भट्टराईको चर्चित उपन्यास 'समरलभ'मा आधारित चलचित्र समरलभ हेर्ने दर्शकमध्ये एक जनाले थाइल्याण्ड घुम्न पाउने भएका छन्। यही माघ २५ गते प्रदर्शनमा आउन लागेको फिल्म हेर्ने दर्शकलाई लक्की ड्र मार्फत थाइल्याण्ड घुमाउन लैजान लागेको फिल्म युनिटले बताएको छ।

यसका लागि केही सर्तहरू पनि युनिटले राखेको छ। समर लभ चलचित्रको गीत र ट्रेलरलाई आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ। त्यसमध्येबाट एक जनालाई लक्की ड्रबाट थाइल्याण्ड घुम्ने अवसर दिइनेछ।

चलचित्रको गीत र ट्रेलर शेयर नगर्ने दर्शकले थाइल्याण्ड घुम्ने अवसर गुमाउनेछन्। 'यदि उहाँले चलचित्रको गीत र ट्रेलर शेयर गर्नुभएको छैन भने उहाँले त्यो अवसर गुमाउनु हुन्छ', निर्माता इन्दु भण्डारीले भनिन् 'टिकट साथमा नभए पनि उहाँ अवसरबाट बन्चित हुनुहुन्छ। छनोट भएको दर्शकले आफ्नो साथमा अर्को एक व्यक्तिलाई पनि लैजान पाउनुहुनेछ।'

चलचित्र  प्रचारप्रसारका लागि अहिले चलचित्र युनिट मोफसलमा छ। सोमबार चितवन महोत्सवमा उपस्थिति जनाएको चलचित्रको युनिट मंगलबार नेपालगञ्ज पुगेको छ। बिहिबार दाङ पुगेर चलचित्रको प्रचार गर्ने यस युनिट दाङपश्चात् बुटवल, हेटौडा, धरान, इटहरी, दमक, विर्तामोड हुँदै पोखरा पुग्ने भण्डारीले बताइन्।

मुस्कान ढकालले निर्देशन गरेको चलचित्रमा सामिप्यराज तिमल्सेनाको पटकथा रहेको छ। सामिप्य र सुविनको संवाद रहेको छ। खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा तयार भएको चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्माताको रुपमा छन्। चलचित्रको छायाकंन भने संजय लामाले गरेका हुन्।

चलचित्रमा सरोज खनाल, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी,  शिशिर भण्डारीको मुख्य भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.