|

उदयपुर : सडकमा परेको घर जग्गाको मुआब्जा नपाउँदा २२ घर दलित मुसहर बस्ती विस्थापित हुने भएका छन्। निर्माणाधीन मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा–हेटौँडा सडकको कटारी नगरपालिका-४ मा रहेको मुसहर बस्ती विस्थापित हुने भएको हो। बस्ती पारिपट्टी सडक विस्तारको लागि प्रशस्त स्थान हुँदाहुँदै मुसहर बस्तीबाटै सडक बन्ने भएपछि विस्थापित हुन लागेको हुन्।

तावा खोला किनार र कटारी बजारभन्दा तल खोला छेउमा बस्दै आएकाहरूलाई सरकारले उनीहरुकै नाममा जग्गा दर्ता गराएर लालपूर्जासमेत छ। तर अन्य विकल्प नदिई बस्तीबाटै सडक विस्तार हुने भएपछि समस्यामा परेको स्थानीय हरि सदाले बताइन्। ‘यही खोला किनारमै दुई पुस्ता बिते,’ स्थानीय नन्द माया परियारले भनिन्, ‘मेरो श्रीमानलाई सरकारले जग्गा दर्ता गरिदिएको हो, अब पनि सरकाले नै दिएको जग्गा सडक विस्तार हुने भएपछि सुकुम्बासी हुने भयौँ।’

सडक विस्तार गर्दा सडकमा परेको जग्गाको उिचित मुआब्जा नपाउँदा सुकुम्बासी हुनुपरेको उनीहरुको भनाइ छ। अहिले सडक विस्तार गर्ने क्रममा बस्तीबाटै विस्तार हुँदै गरेको स्थानीय लक्ष्मी परियारले बताइन्। ‘सडक बस्ती विस्थापित हुँदै निर्माण हुँदै छ’ लक्ष्मीले भनिन्, ‘बस्ती बचाएर लैजान बारम्बार अनुरोध ग रिएपनि होलाजस्तो छैन।’

बस्तीमा अधिकांस मुसहर र परियार दलित बसोबास गर्छन्। सोही बस्ती जोगाउन नेताहरुसमेत नबोलिदिएको उनीहरूको गुनासो छ। नेपाल सरकारले सुकुम्बासी मुसहर तथा परियारलाई २०५५ सालमा अहिले बसोबास गरिहेको जग्गामा लालपुर्जा दिएर जग्गाको मालिक बनाएको थियो। ‘हामी यहाँका सबै सुकुम्बासी थियौँ,’ सटेन्द्र सदाले भने, ‘सडकको नाममा मुआब्जा नदिइकन पुन सुकुम्बासी बनाउने भयो नेपाल सरकारले।’

यता सडक एलाइमेन्ट बाहेकको क्षेत्रमा रहेको मानवबस्ती विस्थापित नगरिने सडक योजनाको पूर्वी खण्ड आयोजना कार्यालय गाईघाटका प्रमुख ललितजन खनालले बताए। ‘सडक विस्तार हुने क्षेत्रमा पनि एलाइमेन्ट एरियामै परे मात्रै बस्ती विस्थापित हुन्छ’ प्रमुख खनालले भने, ‘सडक एलाइमेन्टमा नपरेर बस्ती विस्थापित हुँदैन।’

निर्माणाधीन सकडको कटारी मात्र होइन, उदयपुरको धेरै भूभागमा बस्ती परेकाले उचित मुआब्जा दिन माग गर्दै आएका छन्। तर, सडक कार्यालयले मुआब्जा दिने कामभन्दा पनि सडकको एलाइमेन्टनै चेन्ज गर्ने बताउँदै आएको छ।

पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा सडक निर्माण कार्य जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरले करिब अढाई वर्षयता गरिरहेको छ। यो खण्डमा निर्माण हुने ४३ वटा पुलबाहेक सडकको पूर्वाधार निर्माण गर्ने कार्य भइसकेको छ। कतिपय स्थानमा वेस र सववेसको काम भई कालोपत्रे गर्ने अवस्था भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.