पौषशुक्ल पूर्णिमादेखि घर घरमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने क्रम चलिरहेको छ। त्यही स्वस्थानी व्रतकथाका विभिन्न प्रसंगलाई लिएर आलोचना गर्नेहरूले ‘अहिलेको समयअनुसार अव्यावहारिक व्रत’, ‘महिला हिंसा गर्न उक्साउने ग्रन्थ’ जस्ता टिप्पणी गर्ने गरेका छन्। अझ कतिपयले त स्वस्थानीलाई आधार बनाएर समग्र सनातन धर्ममाथि नै आक्षेप लगाउने गरेका छन्। कतिपयले कथाको वास्तविक अर्थ नबुझी आक्षेप लगाउने गरेका छन् भने कतिपयचाहिँ हिन्दु धर्ममा भएका आध्यात्मिक तथा दार्शनिक पक्षहरूको गलत अपव्याखा गर्न तल्लीन भएरै लागेका देखिन्छन्।
सनातन धर्ममा वेद र स्मृतिका गहन पक्ष नबुझ्नेहरूका लागि पौराणिक ग्रन्थ बनाइएका हुन्। सबै वर्ग, तह र तप्काका मानिसहरूले धर्मशास्त्रका नियमहरू सजिलैसँग बुझ्न नसक्ने हुनाले पौराणिक ग्रन्थहरूले कथाको माध्यमबाट शिक्षा र सन्देश दिने प्रयास गरेका हुन्छन्। पौराणिक प्रसंग भावप्रधान हुन्छन्। पुराणका कथाहरूले देवीदेवता वा अन्य पक्षका रमाइला प्रसंगहरू दिएर मानिसलाई सन्देश दिइरहेका हुन्छन् तर हामी कथामा बढी जोड दिन्छौँ। कथाको निष्कर्ष के हो वा सार के हो भन्नेतिर ख्याल गर्दैनौं। पुराणमा बताइएका पात्रहरूको क्रियाकलापलाई अनुकरण गर्ने भन्दा पनि त्यसबाट फाइदा वा बेफाइदा के हुन्छ भन्ने विचार गर्ने हो।
स्वस्थानी व्रतकथामा आउने ७० वर्षीय शिवशर्मा र ७ वर्षीया गोमाको विवाहको प्रसंगको बढी आलोचना हुँदै आएको छ। हिन्दु धर्मशास्त्रमा वर र वधुको विवाह उमेरबारे विभिन्न ठाउँमा प्रष्ट पारिएको छ। वर वा वधू दुवै शिक्षा, शारीरिक–मानसिक स्वास्थ्य लगायतमा परिपक्व भइसकेपछि विवाह गर्ने निर्देश छ। हिन्दुशास्त्रमा कतैपति ७० वर्षे बूढालाई सातवर्षे कन्या दिनु भन्ने विधान छैन।
स्वस्थानी व्रतकथामा आउने शिवभट्ट र गोमाको जोडीलाई आदर्श जोडी संज्ञा दिई यसकै अनुसरण गर्नू भन्ने निर्देश पनि छैन। बरु ७० वर्षको बूढोसँग ७ वर्षकी गोमाले विवाह गरी पाएको दुःखकष्ट देखाएर अनमेल विवाहले ल्याउनसक्ने परिणामबारे सचेत गराइएको छ। गोमा कलिलै उमेरमा गर्भवती र बालविधवा भएको प्रसंगले पनि बालविवाह वा अनमेल विवाह राम्रो नभएको सन्देश दिएको छ। पाँच वर्षकी बालिका गोमालाई श्राप दिएको प्रसंगमा पनि समयको महत्त्वबोध गराइएको बुझ्न सकिन्छ। समयमै गर्नुपर्ने कामलाई विलम्ब गर्नाले कतिको दुःख पाइन्छ भन्ने सन्देश यस प्रसंगले दिएको छ। आजै वा अहिल्यै हुने काम भोलिको भाखा राख्नेहरूलाई समयमै काम गरे दुःख पाइँदैन भन्ने सन्देश हो, यो।
यसैगरी जालन्धर मार्न उसकी पत्नी वृन्दाको सतीत्व नष्ट गरेको (आलोचकहरूको शब्दमा बलात्कार) प्रसंग पनि उठ्ने गरेको छ। आलोचकहरूले यसलाई देवता भएपछि जे गरेपनि हुने वा महिलामाथि गरिएको हिंसाको पराकाष्ठा भएको तर्क गर्छन्। यसैगरी हिन्दू धर्मले नै परस्त्री गमन गर्न वा बलात्कार गर्न छुट दिएको अर्थ लगाउनेको कमी छैन। जालन्धर घरमा रूपवती पत्नी हुँदाहुँदै कसकी स्वास्नी राम्री छ भनेर खोज्दै हिँड्थ्यो र तिनलाई छल (चलनचल्तीको शब्दमा बलात्कार) गर्दै हिँड्थ्यो भन्ने कथा प्रसंगले बताउँछ।
समाजमा रहेका त्यस्ता तत्त्वको नाश गर्नु आवश्यक हुन्छ नै। त्यसको बाधक थियो वृन्दाको सतीत्व। एक जनाको सतीत्व नष्ट हुँदा सयौँको सतीत्व जोगिने तथ्य एकातिर थियो। अर्कोतिर वृन्दाको सतीत्वले जालन्धर बलवान् भएको वा देवताको शक्तिले पनि नमारिने देखिएको प्रसंगले पत्नी इमानदार रहँदा पुरुष हरेक किसिमले सामथ्र्यवान् हुने मनोवैज्ञानिक व्यावहारिक पक्ष पनि देखाइएको छ। पतिको सन्दर्भमा पनि त्यही हो तर जालन्धर आफ्नी पत्नीप्रति इमानदार थिएन। यस प्रसंगमार्फत पति पत्नी एक अर्काप्रति इमान्दार बन्दा हुने फाइदा र खुला यौनव्यवहारले ल्याउनसक्ने परिणामबारे पनि सचेत गराएको छ।
के वृन्दालाई छल गर्नु सबै पक्षबाट ठीक थियो त ? स्वस्थानी व्रतकथाको आशय त्यो होइन। यसको प्रमाण हो, विष्णुजस्ता देवतासमेत ढुंगाजस्तो निर्जीव वस्तु र झार, घाँस र रुखजस्ता वनस्पतिमा परिणत हुनपुग्नु। उनी के गर्न सक्दैनथे र! तर उनले गरेको कुकृत्यका कारण वृन्दाको सरापलाई झुठो बनाउन सकेनन्। यो प्रसंगबाट खराब कर्म गर्ने जोसुकै भए पनि दण्डको भागीदार हुनुपर्छ भन्ने सन्देश दिइएको हो।
यस्तै प्रसाद थुकेकै भरमा दुःख दिने स्वस्थानीलाई के देवी मानेर पूजा गर्नु भन्ने तर्क गरिन्छ। अधिकार वा सत्तामा पुगेपछि अरुलाई भुसुनासमेत नगन्ने र मनोमानी गर्ने प्रवृत्तिविरुद्ध यो प्रसंग आएको हो। दुःख परेको बेला घरको सासुलाई बेवास्ता गरेर हिँड्ने चन्द्रावती आफ्नो पति नवराज राजा भएको थाहा पाउनेबित्तिकै अभिमानी बनिन्। डोलेहरू चर्को घाममा डोली (चन्द्रावती बसेकी) बोकेर लावण्य देशतिर लागे। भोक–प्यासले आकुल ब्याकुल भएका उनीहरू बीच बाटोमा पुगेपछि डोली बिसाएर खानेकुराको खोजमा भौँतारिए।
अप्सराहरूले स्वस्थानी परमेश्वरीको व्रत गरेको ठाउँमा पुगी भोक मात्र शान्त पारेनन्, आध्यात्मिक शान्ति पनि लिएर चन्द्रावतीछेउ पुगे। रानी बनेको खबरले अहंकार उत्पन्न भएकी चन्द्रावतीले उनीहरूको हातबाट प्रसाद खोसेर थुःथुः गरेर गोडाले कुल्चेर मिल्काइनन् मात्र श्रीस्वस्थानीको निन्दासमेत गरिन्। त्यही अहंकार गर्नाले उनलाई दुःख कष्ट परेको हो। यस प्रसंगबाट कसैले आस्था गरेको वस्तुलाई अनास्था गर्दा कस्तो परिणाम निस्कन्छ भन्ने सन्देश ग्रहण गर्न सकिन्छ। पछि आफूले गरेको गल्तीको प्रायाश्चित र निरन्तरको लगावपछि उनले पुनर्जीवन पाइन्।
यसैगरी स्वस्थानी व्रतकथामा आउने एक प्रसंगलाई लिएर ‘शिवपार्वतीलाई परिक्रमा गरेकै भरमा गणेश पूजामा पहिलो बने। चाकडी गरेर पद दिने चलन सुरु गरे’ भन्ने आलोचना गरिन्छ। तर यस प्रसंगमार्फत ‘बलभन्दा बुद्धि ठूलो’ भन्ने सन्देश प्रवाह गरिएको हो। पृथ्वीभ्रमण गरेर पहिले आउने मध्येलाई पहिले पुजिने आशिर्वाद दिने शिवको वचन भुइँमा झर्न नपाउँदै कुमार गन्तव्यतिर लागे। गणेश भने आफ्नो भद्दा शरीर र बाहन मुसाका कारण कुमारसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा थिएनन्। यसैकारण उनले बुद्धिको प्रयोगबाट उनले उपलब्धि प्राप्त गरे। अर्कातिर जन्मदाता आमाबाबुभन्दा ठूलो वस्तु ब्रह्माण्डमै हुनसक्दैन भन्ने सन्देश लिनु बुद्धिमानी हुन्छ।
स्वस्थानी व्रतकथाबाट लिनसकिने ज्ञान अरु पनि थुप्रै छन्। दक्षप्रजापति जस्ता ज्ञानी वा विद्वान् पुरुष अहंकारी भएरै नाशिन पुगे। उनको अहंकारकै कारण छोरी सतीदेवीले आत्महत्या मात्र गरिनन्, आफूसमेत टाउको काटिएर बोकाको टाउको जोडिने अवस्थामा पुगे। त्रिपुरजस्तो वास्तुकलाको उत्कृष्ट नमुना बनाउने मयजस्ता दानव अरुलाई अत्याचार गर्ने काममा लागेकै कारण नाशिन पुगे।
हिजोआज प्रेमको रट लगाए पनि निस्वार्थ प्रेम गर्नेहरू भेटिन मुस्किल छ। केहीलाई छोडेर प्रेमी प्रेमिका र श्रीमान् श्रीमतीको प्रेम स्वार्थविहीन देखिँदैन। यस्तो महादेव–सतीदेवी र महादेव पार्वतीबीच प्रेमलाई उदाहरणीय मान्न सकिन्छ। देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु, सतीदेवीको सम्पूर्ण अंगपतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम कतिको प्रबल थियो भन्ने बुझिन्छ।
कर्तव्य पालना गराउने सन्दर्भमा पनि स्वस्थानीले महत्त्वपूर्ण सन्देश दिएको छ। आफ्नो बाल्यअवस्थामै आमा बनेकी गोमाले पतिको साथ नभए पनि छोरालाई लालनपालन र शिक्षा दिक्षा दिने कर्तव्यबाट विमुख भइनन्। हिजोआज आफू सक्षम भएपछि आमाबाबुलाई हेलाँ गर्ने, वृद्धाश्रममा लगेर थन्क्याउने चलन बढिरहेको छ तर नवराजले आफू गर्भमै हुँदा परदेशिएका बाबुको पत्तो लगाई उनीप्रति गर्नुपर्ने कर्तव्य पूरा गरे। गोमाले आफ्नो कर्तव्य नछोडेकै कारण राजमाता हुन पाइन् भने बुहारीको कर्तव्य पूरा नगर्ने चन्द्रावतीले विभिन्न कष्ट पाइन्।
स्वस्थानीको व्रतको प्रसाद दिने पहिलो प्राथमिकता पतिलाई नभए छोरा, छोरा नभए नदीमा बगाउनु पर्ने बताइएको छ। यसैलाई लिएर व्रत पुरुषमुखी भएको बताइन्छ। तर शास्त्रमा पुरुषका लागि बताइएका नीति नियम वा निर्देशहरू महिलाका लागि पनि हुन्छन्। पुरुषको सन्दर्भमा नारी आएजस्तै सन्तानको अर्थमा छोराको सन्दर्भमा छोरी पनि भन्ने बुझिन्छ। यस अर्थले स्वस्थानीको प्रसाद छोरा वा छोरी दुवैलाई दिन सकियो नि!
यसैकारण छोरीलाई प्रसाद दिन निषेध गरिएको भन्ने तर्क नै गलत छ। अर्को अर्थमा छोरीलाई विवाह गरेर टाढा टाढा दिइने र छोरा आफ्नै नजिकमा रहने भएकाले प्रसाद छोरालाई दिने चलन चलाइएको हुनुपर्छ।
हिजोआज घरघरमा पढिने स्वस्थानी व्रतकथाको आधार विभिन्न पुराणहरू हुन्। तर स्वस्थानी व्रतकथाको अन्त्यमा पढिनेजस्तो पूरै स्कन्द पुराणबाट मात्र लिइएको होइन। अन्य पुराणका कथाहरू समेत जोरजाम गरी स्वस्थानी व्रतकथा बनाइएको हो। स्वस्थानी व्रतकथा पहिले नेवारीमा लेखिएको थियो। संस्कृत भाषाका विद्वान् स्व.शिवराज आचार्य कौण्डिन्न्यायनका अनुसार करिब ५०० वर्षअगाडि मात्र नेपालीमा अनुवाद भएको हो। यससँगै पहिले नेवार समुदायले मात्र लिने व्रत र सुन्ने कथालाई अन्य जातिले पनि आत्मसात गरे।
यद्यपि पद्मपुराणमा शिवपार्वती संंवादको रूपमा १५३ श्लोक स्वस्थानी व्रत माहात्म्य बताइएको छ। जसमा स्वस्थानी देवीको स्वरूप व्रतविधि लगायत शिवशर्मा गोमा, नवराज आदि स्वस्थानी व्रतकथामा आउने प्रसंगहरूको सामान्य कथा बताइएको छ। स्वस्थानी व्रतकथाका सम्पादकले पुराणहरूमा नभएका कतिपय प्रसंगहरू जोडेर कथालाई रसिलो बनाएका छन्। विभिन्न समयमा पुस्तक निकाल्नेहरूले आफूअनुकुलका प्रसंग र वाक्यहरू थपेका कारण कतिपय सन्दर्भ अमिल्दा पनि देखिएको हुनसक्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।