|

दाङ : सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमध्ये एक हो, दाङको रिहार क्षेत्र। दाङको लमहीदेखि करिब २० किलोमिटर पश्चिम पर्ने बगार बाबा धार्मिक क्षेत्र रिहार नामले चर्चित छ। प्राकृतिक हिसाबले निकै मनमोहक रिहार धाम २५ विघा क्षेत्रफलमा फैलिएको छ।

घना जंगलमा पाइने जैविक विविधता, गोही संरक्षण, सिमसार क्षेत्रमा लागि तलाउ निर्माण, धार्मिक ऐतिहासिकताले रिहार देशकै महत्त्वपूर्ण धार्मिक क्षेत्र हो। वरपर जंगल भएकाले पनि मनोरम हावापानी र सुन्दर दृश्यहरूमा पर्यटकको मन सहजै लोभिन्छ। दक्षिणतर्फ शान्त भएर बग्ने राप्तीले रिहारलाई अझ मनमोहक बनाएको छ। डुंगामा सयर गर्न चाहनेदेखि राप्तीपारिको राजपुरका डुंगा चढ्न बाध्य स्थानीयको चहलपहल सधैँजसो हुन्छ।

रिहार क्षेत्रसँगै जोडिएर विकास हुन थालेको रिहार बजारले समेत पर्यटकहरुलाई खान र बस्न सहज बनाइ दिएको छ। ६० प्रतिशत भारतीय दर्शनार्थी आउने गरेको रिहारमा थारु र पहाडी समुदाय भन्दा मधेशी समुदायको बढी सहभागिता हुन्छ। ऐतिहासिक धार्मिक सम्पदाको साथै पर्यटनका लागि उपयुक्त गन्तव्यको रूपमा विकास हुँदै गरेको रिहारमा माघीमा एक हप्ता दर्शनार्थीको घुइँचो हुन्छ। विशेष गरी पुस मसान्तको रातभर र माघे संक्रान्तिको दिनभर ठूलो मेला लाग्ने रिहारमा दाङका सम्पूर्णक्षेत्रको साथै छिमेकी जिल्ला र भारतबाट भक्तजन आउँछन्।  

बगार बाबा धार्मिक स्थल उत्पत्तिको सन्दर्भ भने द्वापरयुगसँग जोडिएको पाइन्छ। पाँच हजार वर्ष पहिले देखि विकासको सुरुवात भएको मानिने ‘रिहार’ को नामाकरण ऋषिहरूले विहार गर्ने क्षेत्रको नामबाट रिहार रहन गएको भनाइ छ। अवधीभाषी यादव समुदायको आस्थाको केन्द्र मानिने त्यो क्षेत्रको वरपर पाइने नुनिलो पदार्थलाई ‘रेरा’ भनिन्छ। त्यहि रेरा शब्दबाट रिहार रहेको मान्यता छ।  यो क्षेत्रको पानी नै नुनिलो छ। जाडो दिन भन्दा गर्मी दिनमा धेरै नुनिलो हुने भएकाले पहिले पहिले दाङबाट समेत गाईवस्तुलाई नुनिलो पानी खुवाउन लैजाने प्रचलन थियो।

पौराणिक नाम बाँगड बेलहरीबाट बगार बन्न पुगेको भनिन्छ। नजिकै खोला रहेको धार्मिक स्थल सिमसार क्षेत्रमा छ। त्यहाको भुइँभरि नुनिलो पदार्थ सेतै भएर जमेको देखिन्छ। यहाँको अर्को आकर्षण हो, तप्तकुण्ड। सत्ययुगमा भगवान शिवले बद्रिनारायणबाट पठाएको तप्तकुण्डको पानी सँधै तातो हुन्छ। तप्तकुण्डमा स्नान गरे छालाको रोगबाट मुक्ति पाइने विश्वास अझै भक्तजनमा छ। त्यो कुण्डमा ५० वर्षअघि दाल, चामल र नुन राखी एउटा टालोमा बाँधेर राखिदिए खिचडी पाक्थ्यो भन्ने विश्वास गरिन्छ।

बगार बाबाको मन्दिर अगाडि करिब ७० किलो ग्रामको शीला छ। त्यसलाई भौरी भनिन्छ। भौरी भनेको पिठोको डल्ले रोटी हो। भगवान् कृष्णको परिवारले खाँदै गरेको एउटा रोटीमा झिङ्गा बसेपछि अब कलियुग सुरुवातको संकेत मानी कृष्ण मथुरा गएको र त्यो रोटी ढुंगा बनेको कथन छ।

यहाँको अर्को महत्त्वपूर्ण र अचम्म लाग्ने गरी बाटोको ढिस्कोमा घ्युको बास्ना आउँछ। नौलाख गाईको घ्यु राख्ने भाँडो फुटेर पोखिएको विश्वास गर्दै मेला भर्न आउनेहरूले त्यो ढिस्कोको माटो लैजाने र खाने समेत गरेको स्थानीयवासी बताउँछन्। अहिले रिहारमा बगारबाबा लगाएत भैने परशु, मामी सौँरी, गणेश र कालिका मन्दिरको साथै तप्तकुण्ड र झाँक्रीथान पनि छ। भैने परशु रामको एउटा मन्दिर छ।

यहाँ गाई चराउने मामा–भाञ्जी राति सुतेकै समयमा लोप भएको विश्वास गरिन्छ। मन्दिरभित्र मामा भाञ्जी सुतेको मूर्ति निर्माण गरिएको छ भने त्यहि मन्दिरको छेउमा मामी सौँरी अर्थात माइजुको मन्दिर बनाइएको छ। रिहार धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिए पनि यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्धन गर्नुपर्ने देखिएको छ। पूर्वपश्चिम राजमार्गले छोएकाले यातायातको हिसाबले सुगम मानिएको पनि रिहार क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि स्थानीय सरकारलगायतले ध्यान  दिन आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.