गुल्मी : प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन वरालले निर्वाचनमा गरेको प्रतिवद्धता र जनताले गरेको अपेक्षा पुरा गरेरै छाड्ने दाबी गरेका छन्। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ५ बम्घा काउलेमा रहेको जनज्योति प्राथामिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई समवोधन गर्दै मन्त्री वरालले यस्तो बताएका हुन्।
विपक्षीले अहिलेको सरकारले केही गर्न नसकेको भ्रम छरेको भन्दै मन्त्री वरालले त्यस्ता भ्रमहरू अब यो सरकारको कामले नै चिर्ने दावी गरे। स्थानीयदेखि प्रदेश र संघीय सरकारले हाल सम्मको कार्याकाल संघीयता कार्यान्वयन, नीति निर्माणमा ब्यस्त रहेको उल्लेख गर्दै उनले अबको कार्यकाल विकास र समृद्धिमा केन्द्रीत हुने बताए। ‘स्थानीयदेखि प्रदेश र संघीय सरकारले अब विकासको गति लिँदैछ। तपाइँ कोही पनि निरास हुनु पर्दैन मन्त्री वरालले भने, ‘हामीले निर्वाचनमा गरेका प्रतिवद्धता बिर्सेका छैनौं। जसलाई कार्यान्वयन गर्न र तपाइँले हामीसँग जुन अपेक्षा राखेर भोट दिनुभएको थियो। त्यो अपेक्षा पूरा गर्न अहिलेको सबै तहको सरकार दत्तचित्त भएर लागि परेको छ। ढुक्क हुनुहोस्।’
बरालले त्यस विद्यालयको कम्पाउण्ड निर्माणका लागि प्रदेश सरकारले यस आर्थिक वर्षमा ६ लाख विनियोजन गरेको, रुद्रवेणीदेखि वम्घा, रानीवास बलेटक्सार सडक स्तर बृद्धिको काम यसैवर्ष सम्पन्न हुने जानकारी दिए। प्रदेस सरकारले रोजगारीको मुख्य माध्यम कृषि र पशुपालन क्षेत्रलाई बनाएकोले व्यवसायिक कृषिमा लाग्न युवालाई आग्रह गरे। युवालाई स्वदेशमा नै टिकाई राख्नका लागि कृषि र पशुपालन राम्रो भएकाले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले पनि कृषि र पशुपालनका क्षेत्रमा ब्यवसायिक बनाउनका लागि अनुदानदेखि तालिमको ब्यवस्था गरेको भन्दै व्यवसायिक बन्न आग्रह गरे।
महोत्सवमा विभिन्न चन्दा दाताले २१ लाख भन्दा बढी रकम दान गरेको प्रधानध्यापक धनाञ्जय गौतमले जानकारी दिए। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका प्रमुख निलकण्ठ गौतम, छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्थ, रुरु क्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण गिरी, बम्घाका वडाध्यक्ष हरि ज्ञवाली, नेकपा रुरु क्षेत्र गाउँ कमिटी सचिव नारायण पौड्याल, सोही पार्टी छत्रकोट गाउँ कमिटी अध्यक्ष रामप्रसाद पाण्डे लगायतको आतिथ्यता रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।