|

पाँचथर : फलैँचा भन्नेबित्तिकै बर पीपल भएको चौतारो जोडिएर आउँछ। बीच बाटोमै दायाँतिर बर र बायाँतिर पीपल रोपेर मानिसलाई अडेसा लागेर बस्न र सुस्ताउन मिल्ने गरी फलैँचा बनाइएको हुन्छ। स्वर्गवासी पितृ वा परिवारका दिवंगत कुनै सदस्यको सम्झनामा बनाइने फलैँचालाई पुण्य काम पनि भन्छन्। तर, सडक सञ्जालको तीव्र विकासले फलैँचा बनाउने क्रम त घट्यो नै बनाएको ठाउँमा पनि बर पीपल रोप्ने कार्य शून्य हुँदै गएको देखिन्छ।

सडकको पहुँज नहुँदा हिँडेर यात्रा गर्नुपर्ने बाध्यता रहँदा थकित ज्यानलाई आरामसँगै शीतलता प्रदान गर्न फलैंचासहितको चौतारो भएको बर पीपलको भर थियो। 
बर पीपलको शीतलतामा आराम लिँदै सुस्ताएर मानिस गन्तव्यतिर हिँड्दथे। यतिमात्रै नभएर दाह संस्कारका लागि लगिएको शवलाई विवाहित बर पीपलमा तीन फन्को समेत घुमाउने त कतै एकैछिन राख्ने चलन अझै पनि छ। हिन्दू र बौद्ध धर्मको केही संस्कारगत शुभ कार्यमा बर पीपलको पातको अपरिहार्यता छँदैछ। 

पाँचथरको कुम्मायक गाउँपालिका ३ (हाङ्मावरक) रानीगाउँका वडा सदस्य विष्णुप्रसाद निरौला हिन्दू धर्म संस्कार अनुसार शव लैजाने बाटोमा बर पीपल भए दिवंगत आत्मालाई शितलता प्रदान गर्न भन्दै एकैछिन भए पनि राख्नु पर्ने वैदिक मान्यता रहेको बताउँछन्। यसले गर्दा बर पीपल धार्मिक र सांस्कृतिक महत्वको वृक्ष भएको उनको बुझाई छ।

‘अचेल फलैंचाचाहिँ यताकता बनाउँछन्। बर पीपल खासै रोप्दैनन्। हुर्काउनै गाह्रो।’ उनले भने, ‘बर पीपलको धार्मिक र सांस्कृतिक जीवनमा भने मूल्य छ।’ विकासको पूर्वाधार मध्येको सडक सञ्जालको पहुँच दूरदराजसम्म पुग्नु समृद्धिको एउटा पाटो भए पनि धार्मिक र सांस्कृतिक महत्वको वृक्ष बर पीपल भने मासिँदै गएको छ। सडकको नयाँ ट्रयाक खोल्ने क्षेत्रमा बर पीपल भए जरै उखेलेर फाल्ने गरिन्छ। अक्सिजनको स्राेतको रूपमा लिइएको बर पीपलले गाउँघरको पहिचान पनि बोक्ने गरेको छ। केही गाउँमा अझैसम्म टोलको नाम ‘बरडाँडा’ त ‘पीपलचोक वा पीपलडाँडा’ छ। यससँगै मान्यजनले आशीर्वाद दिँदा पनि ‘बर पीपल झैं सयौं वर्षसम्म सँगै बाँच्नु’ भन्ने समाजमा चलन छ। साहित्यमा पनि बर पीपल विम्वको रूपमा प्रयुक्त शब्द हुन्। 

केही गीतमा पनि बर पीपलको छायाँलाई प्रेमी र प्रेमिकाको मायाँको प्रसंगसँग जोडेका छन्। फिदिम नगरपालिका १२ का युवक हेमन्त अधिकारी शिक्षित भनिएका युवा पुस्तामा सांस्कृतिक चेत कम हुँदै गएको बताउँछन्। उनी पनि बर पीपल धार्मिक र सांस्कृतिक महत्वको वृक्ष ठान्छन्। ‘सांस्कृतिक पक्षमा त्यति सचेत देखिन्न अहिलेका युवा पुस्ता।’ उनले भने, ‘पहिले दिवंगत परिवारका सदस्यको सम्झनामा फलैंचा बनाएर बर पीपल रोप्थेँ। अहिले खासै रोप्दैनन्।’ 

बर पीपललाई गाउँघरको शोभाको रूपमा पनि लिने गरिन्छ। त्यसैले भनिएको होला, बर पीपलले गाउँघरको सौन्दर्यता बढाउँदछ। यसले गर्दा बाटोमा मानिसलाई आराम गर्दै हिड्न भनेर फलैंचा बनाइन्छ। जहाँ बनाइन्छ फलैंचा, त्यहाँ बर पीपल अनिवार्य जस्तै मानिन्छ। यससँगै बर पीपल भएको ठाउँमा चौतारो हुन्छ नै। तर आजभोलि यी संरचनाहरू निक्कै कम बनाइन्छ। यसै कारण बर पीपल रोपण लगभग शून्य जस्तै छ। 

२ वर्षअघि जिल्लाको उत्तर पूर्वी क्षेत्रको स्थानीय तह याङ्वरकको बर्मेमा सडक पुगेसँगै जिल्लाको गाउँ गाउँमै सडकको पहुँच पुगेको छ। जसले गर्दा खेतमा धानदेखि परालसम्म र जंगलदेखि दाउरासम्म ट्याक्टरमा लगाएर ल्याउन थालिएको छ। तुलनात्मक रूपमा एक दशकको सेरोफेरोमै सडक सञ्जाल दूरदराजसम्म पुग्दा भारी बोक्नेदेखि टा-टाढासम्म हिडेर जाने क्रम पनि कम हुँदै गएको छ। यसले गर्दा फलैंचा बनाएर बर पीपल रोपण गरेर चौतारो बनाउने कार्यमा कमी आएको दावी पत्रकार नरेन्द्र रिमालको छ। उनका अनुसार वनस्पतिमध्ये निक्कै कम उम्रिने र कमै संख्यामा रहेको बर पीपल जस्ता धार्मिक र सांस्कृतिक मात्रै नभएर बैज्ञानिक दृष्टिले पनि महत्वको वृक्षको संरक्षण स्थानीय सरकारले गर्नु पर्दछ। भएका बर पीपल पनि स्काभेटर लगाएर मास्दै आएका जिल्लाका स्थानीय तहहरूले विकासको नाममा लोपोन्मुख वृक्षको संरक्षणमा गम्भीर हुनुपर्ने बताए। 

पाँचथरको सदरमुकाम फिदिमस्थित शनिवारेमा रहेको वर्षौं पुरानो बर फिदिम नगरपालिकाले गत वर्ष ढाल्न लगायो। फिदिमकै गढीमा रहेको सुम्हालुङ मन्दिर परिसरमा रहेको बर पनि गत वर्षै नगरपालिकाले नै ढाल्न लगायो। जिल्लाको ठाउँ ठाउँमा बर पीपल ढाल्ने क्रम निरन्तर जारी छ। संरक्षणभन्दा पनि मास्नेतिर स्थानीय सरकार अग्रसर देखिन्छ। यसले गर्दा बर पीपल नै जिल्लामा लोपोन्मुख हुँदै गएको छ। डिभिजन बन कार्यालय पाँचथरका सूचना अधिकारी राजकुमार खत्री बर पीपल संरक्षणका लागि कुनै कार्यक्रम नभएको बताए। यसअघि पनि संरक्षण गर्ने कार्यक्रम नभएको भन्दै उनले बर पीपल भने मासिंदै जाने खतरा रहेको उल्लेख गरे।

हालै गण्डकी प्रदेश सरकारले भने बर, पीपल, समि र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न कानुन नै बनाएको छ। कानुन अनुसार अब गण्डकी प्रदेशका सबै स्थानीय तहले आफ्नो तहमा रहेका बर पीपल तथा चौतारो अनिवार्य संरक्षण गर्नु पर्ने भएको छ। यससँगै बर, पीपल र चौतारको दर्ता किताब पनि बनाउनु पर्ने छ। यसरी नीतिगत रूपमै बर पीपलको संरक्षण र व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकार स्पष्ट देखिन्छ। यता एक नम्बर प्रदेश सरकारले भने यससम्बन्ध कुनै कानुन बनाएकै छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.