महानगरमा अनियमितता भएको पुष्टि गर्न चुनौती

|

चितवन : भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उपप्रमुख पार्वती शाहले लगाएका सबै आरोप झुठो भएको जिकिर गरेकी छिन्। प्रमुख दाहालले बुधवार महानगरमा पत्रकार सम्मेलन गरी शाहको आरोप कपोकल्पित र निराधार भएको जिकिर गरेकी हुन्। शाहले पत्रकार सम्मेलन गरी लगाएको आरोपको दाहालले पनि पत्रकार सम्मेलन मार्फत नै काउण्टर दिएकी हुन्। 

यसअघि उपप्रमुख शाहले भरतपुर र काण्ठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरमा आर्थिक अनियमितता भएको, प्रमुख एकलौटी अघि बढेको लगायत विभिन्न १२ बुँदे आरोप लगाएकी थिइन्। सबै आरोपको बुँदागत खण्डन गर्दै प्रमुख दाहालले एउटा मात्रै आरोप प्रमाणित गरेर देखाउन शाहलाई चुनौती दिएकी छिन्।

'उपप्रमुखको स्वार्थ पूरा नहुँदा बबण्डर'

उपप्रमुख शाहले आफन्तलाई जागिर लगाउन नपाएको झोकमा यत्रो बबण्डर मच्चाएको प्रमुख दाहालको भनाइ छ। ‘शाहले आफन्तलाई जागिर लगाउन प्रस्ताव गरेपछि प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेर तल्काल राख्नसक्ने अवस्था नभएकाले अलि समयपछि व्यवस्थापन गरौँला भन्यौँ’, दाहालले भनिन्, ‘त्यसपछि असन्तुष्ट बनेकी उहाँ आरोप प्रत्यारोपमा लाग्नुभएको हो।’ महानगरमा निर्वाचित भएर आएको लामो समयसम्म मिलेर अघि बढिरहेको अवस्थामा भ्रम छरेर महानगरलाई बदनाम गराउन खोजेको दाहालले बताइन्। उपप्रमुख शाह घरभाडाबापतको रकम महानगरले नदिएपछि थप चिढिएको आरोप पनि दाहालले लगाइन्। भनिन्, ‘भरतपुरमै घर भएकाले उहाँलाई घरभाडा नदिएको हो।’ 

महानगरमा विभिन्न समिति, उपसमिति बनाई पारदर्शी ढंगबाट कामकारबाही गरिरहेकाले कहिँ कतै अनियमितता नभएको दाहालको दाबी छ। ‘वडा १ का अध्यक्ष जयराम श्रेष्ठ संयोजक रहेको आर्थिक समिति छ, सबै काम विधि प्रक्रियाअनुरूप नै अघि बढेका छन्’, प्रमुख दाहालले भनिन्, ‘महानगरमा एउटा मात्रै आर्थिक अनियमितताको प्रमाण पेश गरे म कारबाही भोग्न तयार छु।’ 

महानगरको गाडी दुरुपयोग भएको शाहको आरोपबारे दाहालले दुर्घटनामा परेको गाडी मर्मतका लागि अहिले ग्यारेजमा रहेको र सम्बन्धित चालकलाई कारबाही गरेको जानकारी दिइन्। यस्तै अनुगमन समितिको संयोजक, न्यायिक समिति संयोजक लगायतका महत्त्वपूर्ण जिम्मेवारी समेत भुलेर व्यक्तिगत स्वार्थका लागि सिंगो महानगरलाई बदनाम गर्न खोजेको प्रमुख दाहालको गुनासो छ।

शाहले आफ्नो जिम्मेवारीअनुसार काम नगर्दा आफूलाई ‘लोड’ थपिएको उनले बताइन्। महानगरमा अहिलेसम्म मिलेरै विकास निर्माणदेखि हरेक निर्णय, काम कारबाही गरिरहेको अवस्थामा आरोप लगाएर भएका राम्रा कुरालाई माटोमा मिलाउने प्रयास गरेको भन्दै दाहालले दुःख व्यक्त गरिन्। पछिल्ला गतिविधिलाई महानगको विकासको गतिलाई रोक्ने षड्यन्त्रका रुपमा लिएको भन्दै उनले कुनै पनि हालतमा सफल हुन नदिने बताइन्। 

आफूले महानगरका हरेक निर्णय छलफलबाटै अघि बढाएकाले कसैलाई पेलेर नगएको उनले  प्रष्ट पारिन्। दाहालले समस्याको छलफलबाट समाधान गर्न छाडी अनावश्यक मिडियावाजी गर्दै झुटको खेती गरेको दाबी गरिन्। ‘कसैले एकलौटी गरेको, राजनीतिक प्रतिशोध साँधेको भन्छ भने काग्रेसबाट निर्वाचित वडामा गएर हेर्नुस्’, दाहालले भनिन्,‘ अन्य वडाको तुलनामा बढी नै योजना र बजेट परेको छ।’ कुनै पनि वडाध्यक्षहरुको कुनै गुनासो नरहेको उनको भनाए छ। उपप्रमुखका कारण केही वडाध्यक्षहरू नैतिक संकटमा परेकाले कांग्रेसले चाँडै सुझबुझपूर्ण निर्णय लिनुपर्ने दाहालले बताइन्।

दाहालले जनप्रतिनिधि र कर्मचारीबीच कुनै मतभेद नभएको पनि दाबी गरिन्। छलफलको माध्यमबाट समस्या समाधानका लागि आफू सँधै तयार रहेकाले अनावश्यक मिडीयावाजी गर्दै भौतारीनु भन्दा वार्ताको टेबुलमा आउन शाहलाई प्रमुख दाहालले आग्रह गरिन्। 

पत्रकार सम्मेलनमा प्रमुख दाहालले भरतपुर महानगरले गरिरहेको विभिन्न विकास निर्माणका कामहरूलाई बुँदागत रूपमा प्रस्तुत गरिन्। उनले विभिन्न १६ बुँदामा महानगरीय रिङरोड, १३ वटा लिङरोड, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटीहल, नारायणी नदीमा हुने कटान रोकथामका दीर्घकालीन प्रयास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा भइरहेको दाबी गर्न भ्याएकी थिइन्। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आफूमाथि उपप्रमुख शाहले लगाएका आरोप निराधार भएको बताएका छन्। ‘गल्ती गरेको प्रमाण दिए प्रायश्चित गर्न तयार छु’, उनले भने, 'तर अनावश्यक रूपमा चरित्र हत्या गर्न पाइँदैन।’ आफूसँग झर्किएर बोल्ने, नटेर्ने गरेर जनप्रतिनिधिको मानमर्दन गरेको भन्दै उपप्रमुख शाहले आफूसँग माफी माग्नुपर्ने सुवेदीले बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.