|

काठमाडौं : नेपाली शेयर बजार विश्वभर खुला हुँदैछ। विदेशी लगानीकर्ताले पनि शेयर कारोबार गर्न पाउने गरी शेयर बजार खुला हुन लागेको हो। विदेशी लगानीकर्ताले नेपालमा स्थापना भएका उद्योगको जायजेथा वा तोकिएको प्रतिशतसम्म शेयर खरीद गरी विदेशी लगानी गर्न सक्ने व्यवास्था हुन लागेको छ।

प्रतिनिधिसभामा दर्ता भएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’मा यस्तो व्यवस्था गरिएको छ। मुलुकको आर्थिक समृद्धिका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी प्रचलित नेपाल कानुनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो।

आउन लागेको विधेयकमा विदेशी लगानीकर्ताले एकल वा संयुक्त रूपमा वा नेपालमा स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्त रूपमा उद्योग स्थापना गरी विदेशी लगानी गर्न सक्ने छन्। संस्थागत विदेशी लगानीकर्ताले कुनै उद्योगमा स्वपूँजी (इक्विटी) लगानी गर्ने प्रयोजनका लागि प्रचलित कानुनबमोजिम कम्पनी संस्थापना गरी धितोपत्र बोर्डको स्वीकृति लिई पूँजी लगानी कोष (भेन्चर क्पापिटल फण्ड) खडा गर्नुपर्ने छ। विदेशी लगानीकर्ताले पूँजी लगानी कोषको विवरण प्रत्येक ६ महिनामा उद्योग विभागलाई उपलब्ध गराउनु पर्नेछ।

यसका साथै धितोपत्र कारोबार गर्न चाहेमा विदेशी लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता हुनुपर्छ। सो विधेयकमा विदेशी लगानीकर्ताले उद्योगको धितोपत्रको दोस्रो बजारमार्फत धितोपत्र कारोबार गर्न सक्ने व्यवास्था गरिएको छ। धितोपत्र कारोबारको अख्तियारी पाएपछि नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको स्वीकृती लिई विदेशी मुलुकको पूँजी बजारमा ऋणपत्र, डिवेञ्चर वा अन्य धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्नेछन्।

पाँच अर्ब रुपैयाँसम्मको विदेशी लगानीका लागि उद्योग विभाग र पाँच अर्ब रुपैयाँभन्दा बढीको लगानी भए उद्योग तथा लगानी प्रवर्द्धन बोर्डबाट स्वीकृत लिनु पर्ने व्यवस्था गरिएको छ। शेयर बिक्री वा हक हस्तान्तरणका लागि वा अन्य कुनै स्वामित्व हस्तान्तरणका लागि सम्बन्धित कम्पनीले कारोबार भएको तीस दिनभित्र प्रमाण कागजातसहित सोको जानकारी लगानी गर्न अनुमति दिने निकायमा गराउनु पर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.