|

धनगढी : गएको पौष १९ बिहीबार रेशम चौधरीले प्रतिनिधिसभा सांसदको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। उनले मातृभाषामा शपथ ग्रहण गरे। शपथ ग्रहण गरेको २ महिना पनि जिल्ला अदालत कैलालीले उनलाई टीकापुर घटनामा दोषी ठहर गरेको छ।

२०७२ भदौ ७ गते थरूहट आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो। प्रहरीको फरार सूचीमा रहेकै बेला चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। वाम र लोकतान्त्रिकका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो अन्तरले हराउँदै चौधरी विजयी भएका हुन्।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट तत्कालीन एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र पाइन्। चौधरी र साह बीचको मत अन्तर २० हजार ९३५ रहेको थियो।

चौधरीले वारेसनामा मार्फत उम्मेदवारी दिएका थिए। चौधरी निर्वाचित भइसकेपछि प्रमाण-पत्र बुझ्न र शपथ ग्रहणमा पनि सहभागी हुन आएनन्। उनीले फागुन गते १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे। चौधरीले आत्मसमर्पण गरेको एक वर्षपछि जिल्ला अदालत कैलालीले उनी दोषी रहेको ठहर गरिएको छ।

कसलाई कस्तो सजाय ?

टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेसमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित हरि नारायण चौधरी, राजकुमार कठरीया, सुन्दर लाल कठरीया, बृज मोहन डगौँरा, राजेश चौधरी, वीर बहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलमा १३ (३) बमोजिम जन्म कैदको फैसला सुनाएको हो। 

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारूसहित १५ जनालाई बुधबार नै रिहा गर्न अदालतले आदेश दिएको छ। लक्ष्मण चौधरी, लाहुराम चौधरी, राम कुमार कठरीया, सन्तराम चौधरी, बिसराम भनिने जितराम डगौँरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दिल बहादुर चौधरी, संगम भनिने सन्तोष थारू चौधरी, बिसराम चौधरी र रामप्रसाद चौधरीलाई रिहा गर्न अदालतले आदेश दिएको हो। यी प्रतिवादीमध्ये चुन्नीराम चौधरी २०७५ फागुन ३० गते थुनामुक्त हुने र अन्य ११ जनाको कैद अवधि भुक्तान भइसकेकाले बुधबार नै थुनामुक्त गर्ने फैसला अदालतले सुनाएको हो।

प्रतिवादी करन चौधरीलाई बालबालिका ऐन, २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने ठहरेकोमा निजको पनि कैद भुक्तान भइसकेकोले आजै थुनामुक्त हुनेछन्। अदालतले पक्राउ परेका तीनजनालाई निर्दोश रहेको ठहर गरेको छ। नुरुल अलि जागा भन्ने तहाँवर अलि जागा, बिसराम चौधरी (कुसमी) र रमा नरेश चौधरीलाई निर्दाश रहेको ठहर गरेको हो।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहटरथारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबिचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो।  प्रहरी नायव उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरू केशव बोहरा, बलराम विष्ट, प्रहरी वरिष्ठ हवलदार ललित साउद, प्रहरी हवलदार रामबिहारी चौधरी, श्याम खड्का, जनक नेगी, प्रहरी जवान लोकेन्द्र चन्द र नाबालक टेक बहादुर साउदको मृत्यु भएको थियो।

सपथ ग्रहणपछि सांसदको लोगो देखाउँदै रेशम चौधरी


जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा फैसला सुनाइएको हो। सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानुन व्यवसायीबिच बहस मङ्गलवार सकिएको थियो। वादीतर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुयाँल, गङ्गाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरूले बहस गरेका थिए।

यस्तो थियो टीकापुर घटना

भदौ ६ गते कैलालीका प्रमुख दलहरू, आन्दोलनकारी र स्थानीय प्रशासनबिच आन्दोलन शान्तिपूर्ण गराउने सहमति गरिएको थियो।

सुरुमा ‘अखण्ड सुदूरपश्चिम’ र पछि ‘थरूहट प्रदेश’को माग गर्दै भइरहेका प्रदर्शन क्रमशः सामाजिक सद्भाव खल्बल्याउने दिशामा अग्रसर भएपछि यो सहमतिले परिस्थिति केही सहज हुने आकलन गरिएको थियो।

तर, सहमतिपछि पनि परिस्थिति सहज हुने संकेत भने देखिएन र आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने चुनौतीलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले टीकापुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। भदौ ७ मा निषेधाज्ञा तोड्ने र नगरपालिका क्षेत्रमा ‘थारू स्वायत्त प्रदेश’ लेख्ने भन्दै आन्दोलनकारीले गाउँ गाउँबाट मान्छे जम्मा गरेर टीकापुरतर्फ ल्याए।

टीकापुर नगरका चारैतिरबाट आन्दोलनकारी निषेधाज्ञा तोडेर नगरक्षेत्रमा पस्ने तयारी गरेको थाहा पाएपछि चारैतिर प्रहरी तैनाथ गरियो। त्यसमध्ये सबैभन्दा ठूलो समूह आइरहेको पश्चिमतर्फको नाकामा ३५–४० जना प्रहरी तैनाथ थिए, जसको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेले गरेका थिए।

आन्दोलनका क्रममा अप्रिय घटना नहोस् भनेरै सेती अञ्चल प्रहरी प्रमुख एसएसपी न्यौपाने तीन दिनअघि धनगढीबाट टिकापुर पुगेका थिए। भएर पश्चिमतर्फको मनुवातिरबाट आइरहेका हजारौँको भीडलाई रोक्न खटिएका एसएसपी न्यौपाने भीडलाई संयमित रहन र निषेधाज्ञा नतोड्न माइकिङ गर्दै थिए।

मुनुवा र टीकापुर नगरपालिकाको सीमामा पर्ने पशु हाटबजार नजिक आन्दोलनकारी र प्रहरीको जम्काभेट भयो। आन्दोलनकारीलाई संयमित हुन आग्रह गर्दै भीडको नजिक पुगेका उनलाई नियन्त्रणमा लिई एक्कासि भालाले आक्रमण गरिएको प्रहरीले जनाएको छ।

त्यसपछि अनियन्त्रित बनेको भीडले प्रहरीमाथि हँसिया, भाला, बन्चरो लगायतका घरेलु हतियारबाट आक्रमण गरेका थिए। घटनामा एसएसपी न्यौपानेसहित ८ प्रहरी, एक नाबालकको मृत्यु भयो। दिउँसोको घटनापछि त्यस दिन रातिसम्म पनि टीकापुर तनावग्रस्त थियो। केन्द्रीय सुरक्षा समितिले दिएको निर्देशन अनुसार जिल्ला सुरक्षा समितिबाट भदौ ७  गते साँझ टीकापुरमा सेना परिचालन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.