|

काठमाडौं : साझा प्रकाशनमा देखिएको बेथिति रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक्शन लिएकी छिन्। मन्त्री अर्यालले साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई मन्त्रालयमा तानेर मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई साझाको महाप्रबन्धक तोकेकी छिन्।

साझा प्रकाशनमा धरासायी भएको, भ्रष्टाचार भइरहेको लगायतका थुप्रै बेथितीका कुराहरू बारम्बार बाहिरिएका थिए। यस सम्बन्धमा मन्त्री अर्यालले आन्तरिक टिम बनाएर अध्ययन शुरू गरेकी हुन्। अध्यननका क्रममा तत्कालीन प्रबन्धकका थुप्रै समस्या देखिएपछि मन्त्री अर्यालले शर्मालाई मन्त्रालय तानेर छानबिन शुरू गरेकी हुन्।

आफ्नै छापाखाना, देशभर जग्गाजमीन भएको सम्पन्न संस्थाको रूपमा परिचित साझा प्रकाशन धरासायही भएको, साझाका कर्मचारीहरू एक वर्षदेखि आन्दोलनरत रहेको, कर्मचारीले तलबसमेत खान नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीबीचमा सम्बन्ध बिग्रिएको लगायतका थुप्रै समस्या थियो।

कर्मचारीहरूले सेवासुविधा नपाएपछि मन्त्री अर्यालको विशेष पहलमा अर्थ मन्त्रालयबाट ८ करोड ऋण ल्याएर साझा प्रकाशनका कर्मचारीहरूलाई तलब दिइएको थियो। गएको फागुन १९ गते शर्मालाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई साझाको महाप्रबन्धक तोकिएको छ।

यसैबीच शर्मालई ३ दिने स्पष्टिकरण सोधिएको छ। साझा प्रकाशन सहकारी संस्थाले बुधबार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समितिसमक्ष स्पष्टीकरण पेश गर्न भनिएको छ।

संस्थाका अध्यक्ष रघुराम विष्टद्वारा जारी गरिएको पत्रमा तत्कालीन प्रबन्धक शर्मालाई साझा प्रकाशन नियमावली, २०७३ (संशोधन सहित) को नियम ३०.१ को खण्ड (ख) बमोजिम आचरण तथा अनुसरणसम्बन्धी नियम उल्लंघन गरेको र सोही नियमावलीको खण्ड 'च' बमोजिम आफ्नो पदको जिम्मेवारी वेवास्ता गरेको देखिएको भन्दै पत्र प्राप्त भएको मितिले ३ दिनभित्र सञ्चालक समितिसमक्ष स्पष्टीकरण पेश गर्न भनिएकोछ। सञ्चालक समितिको फागुन २८ गतेको निर्णयअनुसार स्पष्टीकरण सोधिएको हो।

राष्ट्रिय इतिहास बोकेको सरकारी संस्था साझा प्रकाशनलाई उचित रूपमा सञ्चालन नगरेको, प्रकाशन धरासायी बनाएको लगायतका थुप्रै विषयहरू तत्कालीन महाप्रबन्धक शर्मामाथि लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.