विचार

प्रजातन्त्रको दियो जलाइरहनु नै गिरिजाबाबुप्रति श्रद्धाञ्जली

चैत ७, २०७५

    चैत ७ गते प्रत्येक वर्ष आउँछ। नेपाल सशस्त्र जनयुद्धको विभिषिकाबाट पिल्सिरहेको बेलामा सरकारमा नरहँदा समेत पनि मुलुकमा कसरी शान्ति स्थापना गर्न सकिन्छ भनेर जनयुद्धका युद्धरत पक्षसँग वार्ता गरेर सम्झौता गर्दै शान्ति स्थापना गर्न सक्ने एक शान्तिकामी राजनेता। अहिलेको जटिल राजनीतिक अवस्थामा अत्यन्तै आवश्यक व्यक्तिको रूपमा जनताले सम्झिएका राजनेता जो अब हामी माझ हुनुहुन्न र पनि उहाँको अवसानको मिति भने हामीसँग प्रत्येक वर्ष आउँछ। चैत ७ गते। 

    २०६६ साल चैत ७ गते एउटा प्रजातान्त्रिक सेनापतिको महाप्रयाणको दिन। हाम्रा लागि स्मृति दिवस। प्रजातान्त्रिक गणतन्त्र नेपालको एउटा अविस्मरणीय नाम गिरिजाप्रसाद कोइराला। सामान्यतः गिरिजा बाबु भनेर कार्यकर्ता र शुभेच्छुकले बोलाउने नाउँ।  प्रजातन्त्रको स्थापना, पुनर्स्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला। प्रजातन्त्रका लागि फेरि फेरि कुनै पनि नेपालीले कुनै पनि किसिमको आन्दोलन कहिल्यै गर्नु नपरोस् भनेर ८३ वर्षको उमेरमा पनि प्रजातन्त्र स्थापनार्थ आफैँ सडक संघर्षमा होमिने गिरिजाप्रसाद कोइराला। प्रहरीले लाठी चलाउँदा आफैँ अग्रसर भएर लाठी थाप्न तयार गिरिजाप्रसाद कोइराला। युवाको भन्दा बढी जोसका गिरिजाप्रसाद कोइराला। 

    ३० वर्षको पञ्चायती शासनपछि २०४६ चैत २६ गते राति प्रजातन्त्र पुन: स्थापनापश्चात् २०४८ साल वैशाखमा आम निर्वाचन भयो। त्यो आम निर्वाचनपछि अरू पनि दुईओटा आम निर्वाचन भए २०५१ र २०५६ सालमा। बारम्बार नेपालको जननिर्वाचित प्रधानमन्त्रीका रूपमा भन्दा पनि एउटा क्रान्तिनायकका रूपमा उहाँको परिचय नेपाली जनताले पाएका हुन्। समाज रूपान्तरणको पक्षमा सदैव समर्पित एउटा अनवरत यात्री गिरिजाप्रसाद कोइराला। जीवनको एउटा लक्ष्य र परिणाम नै प्रजातन्त्रप्रति समर्पित व्यक्तित्व गिरिजाप्रसाद कोइराला। गिरिजाबाबु। 

    तत्कालीन एमाओवादीले गिरिजाबाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो। यदि त्यो सत्य थियो भने गिरिजाबाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ। हुनत यो एउटा कल्पना हुन सक्ला तर त्यो राजनीतिक जोडीले ल्याउने संविधानमा सायद त्यस्तो व्यवधान आउन थिएन होला जुन आजसम्म खप्न परेको छ। 

    एउटा राष्ट्र र राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला। राष्ट्रियता र प्रजातन्त्रलाई एउटै सिक्काका दुई पाटाको रूपमा प्रयोग गर्ने एक राजनेता। चाहे पञ्चायतविरुद्धको सशस्त्र सङ्घर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँ गाउँ जनताको राय लिन जाने एउटा सक्रिय राजनेताको रूपमा होस्। नेपालको अनुहार फेर्न र आगामी दिनमा प्रजातन्त्रको लागि कसैले पनि कहिल्यै पनि आन्दोलन गर्नु नपरोस् भनेर आफ्नै जीवनकालमा नै प्रजातन्त्रको प्रत्याभूति दिलाउन आजीवन त्यागको प्रतिमूर्ति गिरिजाप्रसाद कोइराला। 

    विक्रम सम्वत २०३६ सालमा राजा वीरेन्द्रले पञ्चायतको विकल्पमा बहुदलीय व्यवस्थाको लागि जनमत सङ्ग्रहको घोषणा गरेपछि मुलुकले लामो अन्तरालपछि अलिकति भए पनि प्रजातान्त्रिक अभ्यास गर्न पायो। २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि प्रत्यक्षतः नेपाली राजनीतिमा देखिएका नेपाली कांग्रेसका तत्कालीन महामन्त्री कोइरालाको अवसान भएको पनि ९ वर्ष पुगेछ। 

    २०१७ सालमा प्रजातन्त्रको हत्या भएपछि लामो समय कारागारमा रहेर छुटेपछि उहाँ लामो समय भारत प्रवासमा रहनुभयो। त्यसपछि जनमत संग्रहमा सबै नेपालीले सहभागिता दिन सकुन् भनेर राजनीतिक रूपमा २०३७ सालको सुरुमा आममाफी पाएर मात्र नेपाल प्रवेश गर्नुभएको थियो। तर नेपाली राजनीतिमा उहाँको नाम पहिलेदेखि नै क्रान्तिकारी नेताको रूपमा चित्रित थियो। त्यसबेला उहाँ प्रतिबन्धित नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्थ्यो। त्यसपछिका दिनहरूमा गिरिजाबाबुका कामहरू नेपालीहरूका लागि खुला किताब जत्तिकै स्पष्ट छ। 

    समसामयिक नेपालका सबैभन्दा ओजस्वी अग्ला नेता गिरिजाप्रसाद कोइरालाको महाप्रस्थान भएको पनि नौ वर्ष हुन लागेछ। समय बितेको पत्तै पाइएनछ। नेपाली राजनीतिमा उहाँको कमी अझै पनि उस्तै देखिन्छ जुन आजभन्दा नौ वर्षअघि महसुस गरिएको थियो। यी बितेका नौ वर्षमा पनि उहाँको रिक्तता पूरा हुन सकेको छैन। मानिसहरू कसैको निधनपश्चात् हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दा भन्ने लेख्ने गर्छन् कि असामयिक निधन भयो, अपूरणीय क्षत हुन पुग्यो। वास्तवमा गिरिजाबाबुको निधनचाहिँ नेपाली राजनीतिमा असामयिक नै भएको रहेछ। अपूरणीय क्षति नै भएको रहेछ। मुलुकमा देखिने र घट्ने विभिन्न घटनाक्रमले त्यही देखाइरहेका छन्। चाहे त्यो संविधान निर्माणको क्रममा होस् या अहिले संविधानको कार्यान्वयनको क्रममा होस् या दुई तिहाइको सरकारको अवस्थामा होस्। 

    कुनै एउटा व्यक्तिको अनुपस्थितिले मुलुकको राजनीतिको गति नै रोकिन्छ या जानु पर्ने दिशातिर नगएर गलत दिशातिर मोडिने सम्भावना सामान्यतः भएको पाइँदैन। कतिपयको निधनले मुलुकको राजनीतिले फेरि नयाँ बाटो पहिल्याएको देखिन्थ्यो तर उहाँको निधनले नेपाली राजनीतिको गतिलाई समेत सीमित बनाएको रहेछ र कुनै पनि अर्को व्यक्ति जेलिन लागेको या कसिन लागेको राजनीतिक गाँठो फुकाउन सक्षम रहेनछ। उहाँलाई नेपाली राजनीतिबाट पन्छाउन तत्कालीन एनेकपा माओवादीले सुरु गरेको अभियानले आज आफ्नो नकारात्मक परिणाम देखाइरहेको छ। त्यसको माखेसाङ्लोमा सबैभन्दा बढी जेलिएको त देखिएको छ। एकप्रकारले एमाओवादीको अवसान नै भयो, एमालेको मूलप्रवाहमा बिलायो। हुनत नेकपा भन्ने दल खोलेर एकता गरेको देखियोस् तर अब एमाले र माओवादी केन्द्र भन्ने दल इतिहासमा बिलायो। कांग्रेससँगको प्रतिस्पर्धाका लागि एकाकार भएको माओवादी र एमाले अहिले झन् गन्तव्यविहीन बाटोमा देखिन्छन्। 

    खोलो तर्‍यो, लौरो बिर्सियो भन्ने अस्वस्थकर राजनीतिक खेलले पनि आजको राजनीतिक मञ्चमा गलत परिणामहरू देखिन थालेका हुन् भन्ने कुरा ढुक्कसँग भने हुन्छ। भनिन्छ, तत्कालीन एमाओवादीले गिरिजाबाबुलाई राष्ट्रपतिको आशा देखाएको थियो। यदि त्यो सत्य थियो भने गिरिजाबाबु राष्ट्रपति अनि प्रचण्ड प्रधानमन्त्री भएको समयमा नै संविधान आउँथ्यो र सफल कार्यान्वयन त्यही बेलामा नै हुन्थ्यो भन्ने अनुमान सहजै गर्न मिल्छ। हुनत यो एउटा कल्पना हुन सक्ला तर त्यो राजनीतिक जोडीले ल्याउने संविधानमा सायद त्यस्तो व्यवधान आउन थिएन होला जुन आजसम्म खप्न परेको छ। 

    अहिले राजनीतिक फाँटमा एउटा कुरा बडो जोडतोडका साथ भन्ने गरिन्छ कि राजनीतिक स्वार्थभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्यागी हुनसक्नुपर्दछ र निस्वार्थका साथ मुलुकका लागि काम गर्नुपर्दछ। वास्तवमा यो उत्तरआधुनिक नेपालमा त्यसोचाहिँ गिरिजाबाबुले मात्र गर्नुभयो। मुलुकलाई शान्ति आवश्यक छ भन्ने महसुस गरेर नै उहाँले आफ्नो दलभन्दा माथि उठेर र हिंसात्मक सशस्त्र युद्धमा रहेको त्यस्तो दल नेकपा माओवादी जसले सबैभन्दा ठूलो शत्रु भनेर कांग्रेसलाई मात्र घोषणा गरेको थियो, त्यसैलाई सम्झाएर र सत्ताको भागीदार बनाएर राजनीतिक मूलधारमा ल्याउनु भयो। यसो गरेकोमा कांग्रेसभित्र अझै त्यसविरुद्धमा ध्वनि प्रतिध्वनि आइरहेको छ र कांग्रेसलाई चीनको कोमिन्ताङ बनाएको भनी देश तथा विदेशमा पनि उहाँको विरोधमा नारा अझै लगाइँदै छ। झन् नयाँ संविधानअनुसारको तीन तहको सरकार गठन गर्न भएको निर्वाचनले त्यस्तै देखायो। कांग्रेस अहिले आफ्नो इतिहासको सबैभन्दा जटिल मोडमा उभिएको छ, नेपाल आफैँ पनि जटिल राजनीतिक मोडमा छ। त्यसैले पनि गिरिजाबाबुको स्मरण पहिलेभन्दा अझ बढी भइरहेको छ। 

    गिरिजाबाबुको सम्झनामा हामीले कुनै दीप प्रज्ज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन। प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ।

    सधैँभरि पड्कने बम, मारिने नेपालीका परिवारको चित्कार र मुलुकमा अब कहिले यो द्वन्द्व थामिएला भन्ने अन्योलबीच आफूलाई र आफ्नो दललाई महान् शत्रु घोषणा गर्ने भूमिगत गुरिल्ला योद्धालाई शान्तिमार्गमा ल्याउनु भयो। लोकतन्त्रलाई आस्थावान् बनाउनु भयो। र, लोकतान्त्रिक प्रक्रियाद्वारा लोकतन्त्रको संरक्षण गर्नका लागि बाध्य बनाउनु भयो। हामीले के कुरामा गर्व गर्नुपर्दछ कि भूमिगत गुरिल्ला युद्ध गर्नेहरू नै अहिले लोकतान्त्रिक प्रक्रियाद्वारा संसदीय मान्यता र सिद्धान्तका आधारमा सरकारमा रहेका हुन्, त्यो पनि कांग्रेससँगै एउटै संसदमा जहाँ कांग्रेस अल्पमतको प्रतिपक्षमा छ आफैँले गराएको संसदीय निर्वाचनमा। कांग्रेसको सिद्धान्त जितेको छ तर जनमतमा कांग्रेस हारेको छ। 

    अहिलेको विश्वमा लोकतन्त्रविरुद्ध जानेहरूको के हाल हुन्छ भन्ने कुराका लागि नेपालको माटोमा जरो गाडेर बसेको राजतन्त्रको अवस्था नै अनुपम उदाहरण बनेको छ। प्रजातन्त्रविरुद्ध कम्मर कसेर लागेको राजतन्त्रलाई समाप्त गर्ने वैधानिक नायकत्व गिरिजाबाबुले गर्नुभएको थियो। सम्भवतः तत्कालीन एनेकपा माओवादीमा अहिले पनि त्यसैको तानातान बढिरहेको देखिन्छ नेकपामा समाहित हुँदा पनि। निकट अतीतको कम्पुचियाको इतिहासले पनि माओवादीमा लोकतन्त्रप्रतिको चेत सचेत बनेको हुनुपर्दछ। हुन त गिरिजाबाबुलाई तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको पूर्ण सहयोग थियो र एमालेसहित अन्य पाँचदलको सहयोगले काम फत्ते गर्ने तारतम्ये मिलेको थियो होला तर रणनीतिकारको अदम्य साहसविना त्यो सम्भव थिएन जस्तो कि सेनापतिले आफ्ना सेनाको कमान्ड समालेको हुन्छ। 

    इतिहासमा त्यस्तो बेला एकपल्ट एकजनाको हातमा आउँछ भन्ने गिरिजाबाबुको त्यो साहसका लागि लागू हुन्छ जसले जङ्गल कब्जा गरेको कुरा गर्थे, उनैलाई सत्तामा भागिदार बनाउने आँट गर्नुभयो र मुलुक आजको अवस्थासम्म आएको छ। हिजोका दिनमा अनवरत जनयुद्ध भइरहेको अवस्था र आजको शान्ति प्रक्रियाको अवस्थालाई तुलना गरेर हेरौँ र अनिमात्र मुलुकको आजको अवस्थाको विकासक्रमलाई नियाल्न सजिलो हुनेछ। नेपालमा नै गिरिजाबाबुजस्ता साहसी रणनीतिकार नेता थिए भन्ने कुरा भावी दिनमा हाम्रा सन्ततिलाई सुनाउन पाउने इतिहास आजको विश्वमा हामीसँग छ। उहाँको देहावसानपश्चातका दिनमा शान्तिप्रक्रियाले गति लिन सकेन, यसका लागि सबै उत्तिकै दोषी छन् र सबैभन्दा बढी अनुत्तरदायी चाहिँ नेकपा माओवादी केन्द्रलाई मान्न सकिन्छ किनभने उसमा कुनै अवधारणा र रणनीति रहेनछ जनताका पक्षमा गरिने कामको। हिजो सरकारमा रहँदा पनि र आज सरकारमा रहँदा पनि त्यो देखिन्छ। 

    सांसद र लोकतन्त्रप्रतिको घृणात्मक आक्रोशलाई विद्रोहको स्वरूपमा बदलेर जनयुद्धको नायकत्व गरेर आएको दल र त्यसका अराजक नेताहरूलाई लोकतान्त्रिक संस्कारको राजनीतिमा अभ्यस्त बनाउन समय लाग्छ र त्यही समयको खपत भएको अहिले स्पष्टै देखिन्छ। एकातिर तत्कालीन माओवादीका कार्यकर्ता र लडाकुहरूमा दलको जन्मकालदेखि नै सम्पूर्ण खराबीको जड संसदीय व्यवस्था र लोकतन्त्र हुन् भनी संसदीय प्रणालीप्रति घृणा उत्पन्न गराइएको थियो भने अर्कोतिर लोकतन्त्रप्रतिको समर्थन गर्नुपर्ने बाध्यकारी अन्तर्राष्ट्रिय स्थिति सृजनाले उत्पन्न गरेको द्विविधाजनक अवस्थाले गर्दा पनि माओवादीमा अन्योलपूर्ण राजनीतिले आजको अवस्था सृजना गरेको हो। त्यही अन्योलको अवस्थामा एमालेसँग पार्टी एकीकरण भयो र अर्को परिणामको रूपमा अहिले फुटेका माओवादीहरूमा देख्न सकिन्छ। यतिखेर माओवादीको मूलधारबाट अलग भएको नेत्रविक्रम चन्द समूह जो आफूलाई असली माओवादी ठान्दछ, नेकपाको सरकारले त्यसलाई प्रतिबन्ध लगाएको अवस्था छ। जुहारी चलिरहेको छ को बढी कम्युनिस्ट हो भनेर। जनता अलमलमा छन् कहीँ फेरि पुरानै रडाको सुरु हुने त होइन भनेर। 

    गिरिजाबाबुले आत्मसात् गरेर नै जस्तोसुकै कठिन अवस्था भए पनि हतियारसहितका सेना भएका माओवादीलाई निहत्था जनतासँग निर्वाचनमा ल्याउनु भयो र निर्वाचनको सुन्दरतासँग आमनेसामने गराउनु भयो। वास्तवमा पहिलो संविधानसभा निर्वाचनले सबैभन्दा क्षति कांग्रेसलाई भएको थियो र त्यो साख निर्माण गर्ने बेलामा गिरिजाबाबुको निधन भयो। कांग्रेसले त्यो रिक्तता पूरा गर्न अझै सकेको छैन तर नेपालमा सुरु भएको शान्तिप्रक्रियाले एउटा परिणाम लिने पक्का छ। कांग्रेसले निर्वाचन हारेको छ र पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि त झन् कांग्रेसमा नेतृत्वको रिक्तता छ, कांग्रेस कुहिरोको काग भएको छ तर मुलुकले शान्तिप्रक्रियामा अग्रगति लिइरहेको छ धरमर अवस्थामा भए पनि। 

    गिरिजाबाबुले दलभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई एउटा अन्योलपूर्ण महाभेलमा फसेको डुङ्गालाई माझभेलबाट वा बैतालाग्ने अवस्थाबाट किनारामा ल्याउनु भएको थियो। आज त्यही कुरा नै स्मरणीय हुन जान्छ। भोलिका लागि अनुपम उदाहरण बन्न जान्छ। ती महामानवको सम्झनामा हामीले कुनै दीप प्रज्ज्वलन गर्नु जरुरी छैन, कुनै स्मारक बनाउनु जरुरी छैन। तर प्रजातन्त्रको दियो जलाइरहनु नै पर्याप्त हुनेछ।

    उहाँको सम्झनामा मात्र लोकतन्त्रलाई संस्थागत गर्नु जरुरी छ। नेपाली जनताका लागि लोकतान्त्रिक संविधान घोषणा भएको छ र त्यसको व्यवहारिक प्रयोगले मुलुकलाई विश्वको प्रजातान्त्रिक मुलुकको श्रेणीमा लैजानु छ। शान्ति र स्थिरता कायम गरेर मुलुकमा सधैँ लागि शान्ति स्थापना गरी राजनीतिक स्थायित्व दिनु पर्दछ। यसो गरेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। 

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सफलताको आधारशीला राख्ने भनेको नै लोकतन्त्रको संस्थागत विकास हुनु हो। यदि कोही पनि वा कुनै दलले पनि लोकतन्त्रविरुद्ध गएर नेपालको राजनीतिमा स्थायित्व ल्याउने सपना देखेको छ भने वा त्यस्तो धृष्टता गर्दछ भने एक्काइसौँ शताब्दीमा जनभेलले त्यस्ता व्यक्ति वा समूहलाई सधैँका लागि समाप्त पार्नेछ भन्ने उदाहरण अहिले प्रजातन्त्र र सामाजिक न्यायप्रतिको जागरणले विश्वलाई दिएको छ। 

    अहिले गिरिजाबाबुलाई बिर्सिने खेल कांग्रेसभित्रै भइरहेको आभास हुन्छ। अहिलेको सबै राजनीतिक विकृतिको दोष उहाँमा खन्याएर सबै पानीमाथिको ओभानो हुन चाहेका छन् तर के बिर्सिए भने अन्तरिम संविधान आएपछि नै मधेस आन्दोलनले उग्ररूप लिएको थियो। कोइरालाको क्रान्तिकारी अतीत, अदम्य साहस र स्वार्थरहित समन्वयकारी क्षमताले गर्दा नै पहिलो संविधानसभा निर्वाचन सम्भव भएको थियो। त्यसपछिका दिनहरू पनि अझै उहाँका देनहरूले डोहाेरिँदै गएका छन्। तर लाग्दै छ, मुलुक अबचाहिँ अकल्पनीय परिणामका लागि कतै डोहोरिँदै छ र फेरि उहाँको आवश्यकताबोध हुनेगरी तुफान आउन थालेको छ। यथार्थ के हो भने अहिले उहाँ हुनुहुन्न। 

    आशा गरौँ, स्वार्थभन्दा माथि उठेर समन्वय गर्ने अर्को गिरिजाप्रसाद यहाँ जन्मियोस् र मुलुकलाई एउटा द्वन्द्वरहित अनि सामाजिक न्यायतर्फको बाटोमा मुलुकलाई लिएर जाने कामको थालनी गर्न सकोस्। नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रको स्थायित्व नै गिरिजाबाबुप्रतिको श्रद्धाञ्जली हुनेछ। कांग्रेसजनले बिर्सियून् तर नेपालीजनले कोइरालाको त्यो गुण बिर्सिने छैनन् जसले जनहत्याको रापले धपधपी बलेको नेपालको राजनीतिमा मलम लगाउँदै शान्तिको सन्देश फैलाएका थिए र ती जनहत्याका नायकहरूलाई जनताको महत्त्व सम्झाउँदै शान्तिको मूलधारमा ल्याएर कर्तव्यको पाठ पढाएका थिए। 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]