|

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसन केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत्र १६ गते हुँदैछ। उक्त निर्वाचनका निम्ति अहिले दुई समूहले छुट्टाछुट्टै प्यानल घोषणा गरेर निर्वाचनमा होमिएका छन्।

एसोसिएशनको नयाँ नेतृत्वका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट कानून व्यवसायीहरूले प्यानल बनाएर उम्मेदवारी दिइसकेका छन्।

नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेपाल बार एसोसिएशनको अध्यक्ष पदमा उम्मेदवार दिएका छन् भने कांग्रेसनिकट कानून व्यवसायीको संगठन डेमोक्र्या्टिक लयर्स एसोसिएशन (डिलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

यसैबीच प्रगतिशिल, पेशागत तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरिरहेको चण्डेश्वर श्रेष्ठ समूहमा मधेशवादी कानुन व्यवसायी संगठन पनि एक भएर जाने भएको छ। बारको निर्वाचनमा मधेशवादीसँगै अन्य सम्पूर्ण प्रगतिशिल कानुन व्यवसायीहरूले पनि श्रेष्ठ नेतृत्वको समूहसँग सहकार्य गरेको अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

दुई समूहले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दिएपछि अहिले दुवै समूह मतदातासँग मत माग्ने कार्य गरिरहेका छन्। २०१३ सालमा स्थापना भएको बारको आगामी नेतृत्वका निम्ती चैत्र १६ गते बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.