|

दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्काएको दक्षिण कोरियाली अधिकारीहरूले जानकारी दिएका छन्।

केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौताबिना नै टुङ्गिएपछि समग्र शान्ति प्रक्रिया धरापमा परेको छ।

गत सेप्टेम्बरमा उत्तर कोरियाली शहर केएसोङमा कोरियाली प्रायःद्वीप मेलमिलाप र सम्पर्कका लागि सो कार्यालय खोलिएको थियो । तर प्योङयाङले सो कार्यालयबाट आफ्ना कुटनीतिज्ञलाई फिर्ता लगेको दक्षिण कोरियाका उप–एकीकरण मन्त्री चुन हाए सुङ्ले बताएका छन्। माथिल्लो तहबाट नै यस्तो आदेश आएको आफ्ना कर्मचारीको भनाइ उद्धृत गर्दै मन्त्री चुनले भने, 'उत्तर कोरियाका कर्मचारीहरु तपाइँहरु जेसुके गर्नुस् भन्दै एकाएक बाहिरिए।'

अमेरिकाले प्रतिबन्ध लगाउने अडान लिइरहेको खण्डमा देशको सार्वभौमिकता र सर्वोच्च हित प्रतिरक्षा गर्नका लागि नयाँ बाटो अपानाइने उत्तरी कोरियाली नेता किमले नयाँ वर्षको उपलक्ष्यमा दिनु भएको सम्बोधनमा बताएका थिए।

मन्त्री चुनले उत्तर कोरियाले सम्पर्क कार्यालयबाट आफ्ना कर्मचारी हटाउने निर्णय निकै दुःखद रहेको पनि बताए। तैपनि हामी सम्पर्क कार्यालयका कर्मचारीलाई तत्कालै फिर्ता बोलाउने छैनौं, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.