|

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना स्थलमा स्वास्थ्य संस्था र एम्बुलेन्स नहुँदा कामदारलाई समस्या भएको छ। सयौँ मजदुर रहेको आयोजना स्थलमा सामान्य उपचार गर्ने स्वास्थ्य संस्था समेत नभएको मजदुरको गुनासो छ।

आयोजना स्थल ड्याम साइड र पावर हाउस स्थलमा दुई हजार भन्दा बढी मजदुर र सुरक्षा निकाय छन्। निमार्णका क्रममा मजदुरको सामान्य चोटपटक लाग्यो भने उपचार गर्ने जिल्ला अस्पताल खाँदबारी आउनु पर्न बाध्यता देखिएको छ। २४ सै घण्टा निमार्ण कार्य हुने आयोजनामा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए भने समयमा उपचार नपाउदाँ ज्यान गुमाउनु पर्न अवस्था छ। 

आयोजनाले १५ प्रतिशत भन्दा बढी काम सम्पन्न गरेको जानकारी दिएको छ। तर अहिले सम्म पनि आयोजनाले त्यस क्षेत्रमा स्वास्थ्य संस्था स्थापना गरेको छैन। निर्माणका क्रममा कामदारलाई चोट पटक लागे तत्कालै स्वास्थ्य सस्था पुर्‍याउने  एम्बुलेन्स समेत छैन। केही महिनाअघि पश्चिम नेपालका एक मजदुर निर्माणस्थलमा काम गर्दै थिए। पहाडमाथिबाट ढुङ्गा खसेर टाउकोमा गम्भीर चोट लाग्यो। तत्काल उपचार उद्धार नहुँदा उनको ज्यानै गयो। यो त एक उदाहरण मात्र हो। आयोजना निर्माण स्थलका मजदुर बिरामी परे भने गाडी रिर्जव गरेर ४\५ घण्टा लगाए सदरमुकाम खाँदबारी आउनुपर्छ।

आयोजना क्षेत्रमा उद्धार गर्ने एम्बुलेन्स र सामान्य उपचार गर्ने स्वास्थ्य सस्था भए निर्माण स्थलमा काम गर्ने मजदुरले अकालमा ज्यान गुमाउनु पर्ने थिएन। आयोजना स्थलमा काम गर्ने मजदुरको समय–समयमा  स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.