बारा : आइतबार साँझको हुरीले पर्साको एक र बाराको २७ जनासहित २८ जनाको ज्यान लिएको छ। सयौं घाइते अझै अस्पतालमा छन्, केही उपचारपछि घर फर्किँदैछन्।
घटनामा बालबालिका र बृद्धबृद्धासँगै सुत्केरीहरु सबैभन्दा बढी प्रभावित भएका छन्। सुत्केरीहरुलाई आफन्त र घर गुमाउनुको पीडा मात्र होइन, नवजात शिशु कसरी सुरक्षित राख्ने चिन्ता छ।
फेटा गाउँपालिका-६, की अमिरु नेशा सुत्केरी भएको तेस्रो साँझ विनाशकारी हावाहुरी गयो। त्यसपछिका प्रत्येक साँझ उनका लागि चुनौतीपूर्ण बनेको छ। एक साताकी सुत्केकी उनले पौष्टिक खानेकुरा त के पेटभरी खाना खान समेत पाएकी छैनन्। पुग्नेगरी खाना खान नपाएपछि उनले छोरीलाई पुग्ने गरी दूध चुसाउन सकेकी छैन। ‘आइतबार रातिदेखि राम्रोसँग खान पाएको छैन। मेरो दूध छोरीलाई पुग्ने गरी आउँदैन,’ नेशाले भनिन्, ‘घरमा खुवाउने कुरै छैन।’
श्रीमान विदेश भएकाले माइतीमा बसेकी छिन्। सुत्केरी छोरी र नातिनातिनालाई जोगाउन नेशाका पिता ६५ वर्षीय जाकिर मियाँ लागिपरेका छन्। ‘भैसीको दुध ल्याएर खुवाउन पनि गाँउमा समस्या छ,’ जाकिरले भने, ‘बट्टाको दूध किनेर शिशुलाई खुवाउने अवस्था छैन।’ जाकिरले सुत्केरी छोरी र शिशुलाई छिमेकीकोमा सुत्ने व्यवस्था मिलाएका छन्।
पछिल्लो समय शिशुको स्वास्थ्यमा समस्या देखिएको छ। शिशुको नाइटोमा फुलेको छ। घमौराजस्ता घाउ निस्केको छ। नेशाले घमौरा नियन्यण गर्ने पाउडर बहिनीलाई ल्याउन भनेकी छिन्।
यसरी जोगाइन्
आइतबार साँझ शक्तिशाली हावाहुरी आउँदा नेशा छोरीलाई दूध खुवाउने जोहो गर्दै थिइन्। खपडाको छानो र सिमेन्टको जोडाइ भएको इँटाका पर्खाल भएको घरभित्र रहेकी उनका ढाडमा घरकै छानो बज्रिन थाल्यो।
घोप्टो परेर अँगालोभित्र नवजात शिशुसहित घरमा उनीसँगै रहेका दिदीका दुई वर्षे छोरा इर्साद र चार वर्षे इर्खानलाई अँगालोले ढोकिन्। नेशाको शरीरका विभिन्न भागमा चोट छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।