ब्लग

एउटा यस्तो प्रेम...
SHARES

चैत २८, २०७५

    काठमाडौं :  खाँदाखाँदैको आधा कप चिया छोडेर हिँडेँ, म। उसले सोच्यो होला, 'ऊ रिसाएर गई।' पहिलोपटक ऊसँगै चिया खान जाँदा बीचमा छोडेर हिँड्न मनले मानेको थिएन। वेटरले चियासँगै चुरोट ल्याउँदा उसको अनुहारको रङ उडेको थियो। केटा मान्छे यतिसम्म निरीह भएको आजसम्म मैले देखेको थिइनँ। म उसको अनुहारमा छाएको निरीहपना हेर्ने ल्याकत राख्दिनथेँ।

    वातावरण सहज बनाउन निस्किएकी मात्र हुँ। उसले चुरोट खान्थ्यो। नखानुस् भनेर भनेकी पनि थिएँ। खान्न भनेर कसम खाएको पनि थियो, तर लतलाई कसरी छोड्न सकिन्छ र? उसको चुरोट खाने लतलाई सहर्ष स्वीकार गर्नुभन्दा मसगँ दोस्रो विकल्प थिएन। किनभने ऊ मेरो प्रेमी हो। जीवनको हुनेवाला सारथि।

    चुरोट खाने बानीबाहेक ऊ अन्य कुरामा भने असल थियो।

    चिया गफ वा कलेजका क्लासमा होस्, साथीहरू आफ्ना प्रेमीबारे अनेक कुरा गरिरहन्थे। म सुन्थे मात्र। प्रेमीबारे बोल्ने कुनै विषय थिएन मसँग। गाउँमा हुँदा बुबाको छत्रछाया थियो। कलेज जाँदा आउँदा बुबाले नै मलाई ल्याउने लाने गर्नुहुन्थ्यो। उच्च शिक्षा पढ्न काठमाडौं आएकी थिएँ।

    काठमाडौं आएपछि अलिकति स्वतन्त्र थिएँ, म। आमाले छोरीको विवाह गर्ने भनेर बुबालाई सधैँ किचकिच गर्नुहुन्थ्यो। बुबाले आमाको कुरालाई नकारी दिनुहुन्थ्यो। 'छोरीलाई चिलाउनेको मुडो बनाएर हुँदैन। देश देख्नु परेन?' चुलो र चौकोमा जिन्दगी बिताएकी आमालाई लाग्दो हो, 'छोरीको विहे नगरेर आफ्नो बूढाले छोरीको भविष्य अन्धकार बनाएका छन्।' 

    मेरो बिहेलाई लिएर आमा बुबाको झगडा पर्थ्यो। मलाई रिसभन्दा पनि खुशी लाग्थ्यो। बुबा मेरो पक्षमा हुनुहुन्थ्यो। बुबाकै कारण म सपनाको भारी बोकेर काठमाडौं पढन् आएकी थिएँ।  यही कुराले मलाई मेरो मनले बाधेर राखेको थियो।

    कमलादी मेरो कलेज थियो। खाजा खाने ठाउँ लुम्बिनी तन्दुरी। सधैँ जसो साथीहरूको भीडमा मिस्सिएर म पनि त्यहीँ पुग्थे।

    साथीहरू कलेजमा होस् या क्यान्टिनमा होस् आफ्ना प्रेमीबारे कुरा गर्थे। म भने प्रेमीबारे कुरा निस्किदा टुहुरो बालक जस्तै बन्थेँ। उमेर पुगे पनि मेरो मनले चाहेको जस्तो कोही भेटेको थिइन्। म चाहन्थे मेरो प्रेमीले प्रेम गरोस् तर भावना र जिन्दगीसँग नखेलोस्। त्यो समयमा कम्तिमा पनि साथी सर्कलमा बोल्ने विषयको लागि पनि प्रेमी आवश्यक थियो।

    उसो त, बुबाआमाको मायाको कमी थिएन्। तर, बुबाआमाबाट पाएको माया र प्रेमीबाट पाउने मायामा केही न केही त जरुर फरक छ। नत्र सबै पुगिसरी हुँदा पनि किन मनमा एक्लोपन महसुस भइरहन्छ, मलाई?

    सधैँ झैँ लुम्बिनी तन्दुरी जाने आउने क्रम जारी रह्यो। तर, मलाई लुम्बिनी तन्दुरी पहिलेभन्दा फरक लाग्न थालेको थियो। कोही थियो त्यहाँ जो सधैँ खाजा खान आउँछ। नजानीदोँ तरिकाले मलाई हेर्छ। यस्तो केही महसुस मलाई भएको छ।

    ऊ को थियो। थाहा थिएन्। तर, सधैँ एक समूहको अंश बनेर आउथ्यो। ऊ अरूका कुरा सुन्थ्यो मात्र। सायद समूहमा सबैभन्दा सानो उही हुँदो हो।

    दिनदिनै म उसलाई त्यहाँ पाउथेँ। होइन्, म उसको एक झलक हेर्न भए पनि खाजाको बहानामा त्यहाँ पुग्थेँ। पछिल्लो क्रममा मलाई तीव्र प्रतीक्षा त्यही खाजा खाने समयको हुन्थ्यो।

    ऊ बोल्दैनथ्यो। लाग्थ्यो लाटो पो होकी। तर, नरहेछ। अरूका कुरा सुन्ने उसको बानी रहेछ। एकदिन उसले कति भयो बिल भनेर साहुलाई सोधेको थियो।

    दारी पालेको, गाजले आँखा। गाजल लगाउने रहेछ। गाजले मोरो। कति न नक्कल पार्नुपर्ने। एकदिन खाजा खाने क्रममा यही सम्झेर अकस्मात मलाई हासोँ उठ्यो। सबैले म तिर हेरे। म जिल्ल परेँ। अनुहार रातोपिरो भयो।

    दिन बिते। हप्ता बिते। मनमा बेचैनी बढ्यो। के होला उसको नाम?

    सधैँ झैँ उसलाई हेर्दा उसले मलाई कहिल्यै हेर्‍यो वा हेरेन, मलाई थाहा थिएन्। तर, कही न कही ऊ पनि मलाई हेर्छ भन्ने महसुस भएको थियो। तर, प्रमाण मसँग थिएन्। उसले कि खाजामा हेरेर कपाकप खान्थ्यो कि साथीहरू तिर फर्कन्थ्यो।

    एकदिन उसको ठीक अपोजिट गएर बसेँ। ऊसँग पहिलो चोटी आँखा जुधेको थियो। ऊ लाजले निहुरियो। केटा मान्छे पनि कस्तो लजालु। आँखा बोले पनि मन बोल्न बाँकी थियो। तर, भोलिपल्ट ऊ आएन्। सोचे, 'एक नजरमै घाइते पो भयो कि केटो?'

    हप्ता दिनसम्म ऊ आएन्। मलाई लुम्बिनी खाजा बिरानो लाग्न थाल्यो। कलेज सकेर बसपार्क पुगे। रुम थियो कीर्तिपुर। धेरै दिन उसलाई नदेख्दा ममा ऊर्जा थिएन्। तर ऊसँग बसपार्कमा भेट भयो। ऊ पनि गाडी कुरिरहेको रहेछ। बोलाउ कि भन्ने पनि नलागेको होइन्।

    अर्को मनले सोच्यो, ऊ आएर बोल्दा पनि हुन्थ्यो त। लुम्बिनीमा भेट भाकै थियो।

    ऊ कसो-कसो नजिक आयो। तर, उसले मलाई बाल दिएन। बोल्ने बहाना खोज्दै थिएँ म। गाडी नै आउँदैन त? मैले बिस्तारै बोलेँ।

    उसले हठात् बोलिहाल्यो, 'पिक हावर हो जाम होला।'

    तर, सात दिनसम्म लुम्बिनी नआएको झोक पनि थियो, मलाई। उसले सोध्यो, 'कहाँ पुग्नुपर्ने?'

    'कीर्तिपुर' अलि ठूलो स्वरमा मैले यति बोले।

    'ओहो! सँगै जाउँला, म पनि उहीँ पुग्ने हो।' उसले सँगै जाऊला भन्दा सँगै जिन्दगी बिताउँला भने जस्तो लाग्यो। रक्तसञ्चार उर्लेर आयो।

    गाडी आयो। सँगै सिटमा बसेँ। उसले परिचय सोधेन्। सायद सोध्ने कारण पनि थिएन् नी। मलाई पो ऊ मन परेको हो?

    मलाई पनि उसको परिचय सोध्ने आँट आएन।

    गाडी हुइँकियो। जतिजति गाडी हुइँकिन्थ्यो, सँगै यात्रा गर्ने समय घड्किदै जान्थ्यो। मैले मोबाइल निकालेँ। फेसबुक खोलेँ। उसले मेरो वाल देखोस् र फ्रेण्ड रिक्वेसट पठायोस्। लोभ थियो। उसले हेर्ने चेस्टा गरेन्। तर, फेसबुक र टुईटरबारे प्रवचन दिन थाल्यो।

    मन यस्सै मर्‍यो। यो मान्छेबाट केही नहुने, मनले निष्कर्ष निकाल्योँ। मैले आफैँ सोधे, 'फेसबुक छैन?

    उसले छ मात्र भन्यो। नाम एक सासमा बोल्यो। उसको नाम थर सुनेर पुनः मेरो रक्त सञ्चार बढेर गयो। हप्तौँ लगाएर उसको नाम पत्ता लगाएँ। उसको वालमा भएको फोटो र स्ट्याटसतिर नजर डुलाए। फेसबुक लगआउट गरेँ। मन मानेन एकछिनमा पुनः फेसबुक खोलेँ। अनि फ्रेण्ड रिक्वेस्ट पठाउँदै भनेँ, 'मिल्छ भने एक्सेप्ट गर्नुस है।'

    नयाँ बजार आयो। भाडा तिरेँ।

    'अर्को पाली तपाईंले तिर्ने है।' उसले मुण्टो हल्लायो।

    हामी आफ्नो आफ्नो बाटो लाग्यौँ।

    उसले कतिखेर मेरो फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गर्ला कुरेर बसेकी थिएँ। बेलुका ढिलो मात्र फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्‍यो। तर, केही बोलेन्। हरेक दिन बोल्छ कि भन्दै फेसबुकको म्यासेज चिह्याउँथेँ। सबैको आउथ्यो, उसको आउँदैन थियो। उसको म्यासेज नआउँदा शहरको भीडमा एक्लो हुनु जतिकै पीडा भयो, मलाई।

    हप्ता दिनपश्चात् 'भाडा तिरिदिने होइन्।' म आफैँ छुची बनेँ।

    उसले भ्याली बाहिर गएर आज मात्र फर्केको बतायो। 'भोलि तिर्छु।' उसले भन्यो।

    भोलिपल्ट छिट्टो बसपार्कमा गएर उसलाई कुरेँ। ऊ साविकको समयमा आफ्नै गतिमा आयो। यसपाली उसको ओठमा मुस्कान थियो। मैले पनि एकमेलो मुस्कान फालेर उसलाई स्वागत गरेँ। हामी आ-आफ्नो डेरातिर लाग्यौँ।

    अब भने ऊ खुल्दै गएको थियो। म आफैँ उसलाई म्यासेज गरिरहन्थेँ। राति अबेरसम्म ऊ अनलाइन देखिन्थ्यो। म भने दश बजे नै गुड नाइट भनिदिन्थेँ। ताकी उसले एकछिन बोलन भन्छ कि भन्ने आश रहन्थ्यो।

    उसले कुनैदिन पनि एकछिन् बोलन भनेन। धेरै दिनको वार्तालापपछि सोधेँ, 'कति बजे सुत्ने?'

    'निन्द्रा आएपछि,' उसले बोल्यो।

    'निन्द्रा कहाँ आइपुग्यो?' मेरो प्रश्न।

    'खै थानकोटको जाममा होला', उसको जवाफ।

    'कि विदेशमा गर्लफेण्ड छ र कुरिबसेको?' मैले प्रेमिकाबारे उत्सुकता जनाएँ।

    'यस्तो बाँदरमुखे अनुहार परेकालाई कसले आफ्नो सम्झने?' उसको यही कुराले ममा खुशी थपियो।

    बाहिर गीत गुञ्जिरहेको थियो।

    'आफ्नै सम्झि सक्दा पनि गाह्रो रै'छ बोल्न

    माया पिरतीका कुरा पहिलोचोटि खोल्न।'

    यो गीतले ममाथि नै व्यग्यं गरेजस्तो लाग्यो।

    'ए हो र! नजिक हुन खोज्नेलाई पराई सम्झेसी कसरी पर्छ त लभ?' गीतले जगाएको आँट थियो यो।

    उसले बुझ्यो की कुन्नी

    'कुरो यति अगाडि बढी पो सक्यो' उसले आँखा झिम्काएको स्टिकरसहित म्यासेज फर्कायो।

    'अनि मन पर्छ त। तपाईंले कहिल्यै भन्ने आँट नगरेसी के गर्नु त', मैले रिप्लाइ गरेँ।

    उसले हाँसेकै स्टिकर पठायो। यो उसको मौन स्वीकृती थियो। मलाई बुझ्न समय लागेन्।

    त्यसपछि त हो मलाई यो शहर आफ्नो जस्तो लागेको। दुनियाँ नै सुन्दर लाग्न थाल्यो मलाई। मन परेको कुरा प्राप्त हुँदा संसार नै सुन्दर लाग्ने रहेछ।

    उसले कहिल्यै ममाथि अधिकार जमाएन्। भन्थ्यो म त तिम्रो जिन्दगी सारथी हो। सारथीले यात्रा सुखद् बनाउँछ। आफ्नो जीवनमा आइपर्ने अनेक बाधा अड्चनसँग आफैँ लड्ने कोशिष गर्नुपर्छ। लडेपछि मात्र उपलब्धिको महत्त्व बुझिन्छ। आफैँलाई कमजोर ठान्नेलाई म माया होइन् घृणा गर्छु। उसको  यस्तो तर्कले ममाथि ऊर्जा थपिन्थ्यो।

    ऊ प्रेम गर्थ्यो। प्रेम देखाउन जान्दैनथ्यो। महसुस गराउँथ्यो। लय नमिलेको गीत जस्तो थियो उसको प्रेम। तर, मलाई यही लय नमिलेको गीतमा नै स्वर्गीय आनन्द लाग्थ्यो। फकाउँछ भन्ने आशमा बिनाकाममा कहिलेकाही निहुँ खोज्थे त कहिलेकाहीँ झर्किन्थेँ। ऊ मौन बस्थ्यो। मेरो रिस मरेपछि म आफैँ ऊसँग बोल्थेँ। ऊ रिस मर्‍यो भन्दै जिस्काउथ्यो।

    फकाउन नजान्ने कस्तो खाले केटोसँग लप परेछ छ्याऽऽ म पिन्चे स्वरमा बोल्थेँ। 'के गर्नु पहिलो प्रेम हो। अनुभव भएन। अनुभविसँग सम्बन्ध गास्ने हो सहयोग गरूम?' ऊ बोल्थ्यो।

    यस्तै साना साना कुरा हुन्थे हाम्रा। सानो थोपाहरू नै मिलेर समुन्द्र बन्ने हो। हाम्रो प्रेम सम्बन्ध समुन्द्रभन्दा कमको लाग्दैन थियो मलाई।

    उसले एकदिन भन्यो, 'बजारमा हल्ला छ, प्रेम गर्ने विहे नगर्ने सर्कल हो रे हाम्रो।' उसले यो कुरा गरिरहँदा मलाई हाँस्यो उठ्यो। तर, रोकेँ र सोधेँ, 'कसले भन्यो?

    'बजारमा यस्तै हल्ला छ बचेर हिड्नु है' उसले मलाई सुझायो।

    प्रेमलाई विवाहमा परिणत हुनुपर्छ भन्ने मान्यता म राख्दिनथेँ। वर्तमानमा रमाउने हो। जिन्दगी दुई दिनको हो भन्छन् भविष्य कसले देखेको छ र? वर्तमानमा ऊ असल प्रेमीका रूपमा अडिग छ। यती कुरामा भने म विश्वस्त थिएँ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]