|

बैतडी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि सरकार लागि परेको बताए। शुक्रबार बैतडी जिल्लालाई साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

मन्त्री पोखरेलले व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको औंल्याए। साथै उनले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक महत्वपूर्ण भूमिका रहने पनि उनले बताए। 'शिक्षकले राजनीतिभन्दा टाढा रहेर अध्यापन गराउनुपर्छ। शिक्षामा रुपान्तरण हुनुपर्छ।  सरकारले शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न ऐन पास गरेको छ' उनले थपे, 'राजनीति नझल्किनका लागि गरी परीक्षाको नतिजा राम्रो आउनु पर्छ।'

यसैबीच बैतडीलाई शुक्रबार ४९ औँ साक्षर जिल्ला घोषणा गरिएको छ। घोषणा गर्ने तयारी भएको झण्डै १० महिनापछि साक्षर जिल्ला घोषणा गरिएको  हो। आज एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले जिल्लालाई साक्षरता जिल्ला घोषणा गरेका हुन्। जिल्लामा १५ देखि ६० वर्ष सम्मका नागरिक मध्ये ९६.९२ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए।  

अनौपचारिक शिक्षाअन्तर्गत विभिन्न कक्षाहरू सञ्चालन गरेर साक्षरता अभियान सञ्चालन गरेको र सोही अभियानको फलस्वरुप बैतडी साक्षर जिल्ला घोषणा भएको उनले बताए। आर्थिक वर्ष ०७१⁄०७२ मा गरिएको साक्षरता सर्वेक्षण अनुसार  १५ वर्ष भन्दा माथिको निरक्षर संख्या ६४ हजार ३५७ मध्ये ५९ हजार ९९७ जना साक्षर रहेका छन्। 

बैतडी देशको ४९ औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। जिल्लालाई साक्षर घोषणा गर्नु अघि दशओटै स्थानीय तहहरूलाई साक्षर घोषणा गरिएको थियो। जिल्लाका १० वटै स्थानीय तह गत असारमा साक्षर घोषणा गरिएका थिए। प्रत्येक स्थानीय तहबाट तथ्यांक संकलन गरेर साक्षर घोषणाका मापदण्ड पूरा भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। 

जिल्ला सदरमुकामस्थित बीरेन्द्र माविमा बैतडी जिल्ला साक्षर घोषणा कार्यक्रममा बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, क्षेत्र नं ख का प्रदेशसभा सदस्य लीलाधर भट्ट लगायतको सहभागिता रहेको थियो। साक्षर घोषणा कार्यक्रमको सुरुमा जिल्लामा कार्यरत शिक्षक, विद्यार्थी, शैक्षिक संघ संस्थामा आवद्ध व्यक्ति, शिक्षाप्रेमी, बुद्धिजीवी लगायतको सहभागितामा सदरमुकाम क्षेत्रमा र्‍याली समेत निकालिएको थियाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.