|

धनुषा :  दाइजो नदिएको झोकमा श्रीमानले श्रीमतीको जिउमा मट्टीतेल खन्याएर आगो लगाएको घटना बाहिर आएको छ। धनुषाको शहिदनगर नगरपालिका वडा नं. एक वडा चिरैया टोलमा दाइजो (दहेज) नदिएको निहुँमा विवाद हुँदा श्रीमतीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। 

शहिदनगर नरपालिकाका स्थानीय झरी गोईतका २३ बर्षिय छोरा मुकेश कुमार गोईत (यादव) ले आफ्नै श्रीमती २१ वर्षिया निर्मला देवी गोईत (यादव) लाई जीउमा आगो लगाएर जलाइदिएका हुन्। गत बैशाख पाँच गते दिउँसै मुकेशले आफ्नी श्रीमति निर्मलालाई कोठा बन्द गरी जिउमा मट्टीतेल छर्केर आगो लगाई फरार भएका थिए।

निर्मलालाई ढोका थुनी आगो लगाएपछि छिमेकीहरुले चिच्याएको आवाज सुनेपछि ढोका फोडेर तत्कालै आगो निभाएका थिए। तत्कालै निर्मलाको उद्धार गरिए पनि छाती र पेटसम्म करिब ३५ प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी  प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए। निर्मला र मुकेशको विहे भएको १० महिना मात्र भएको थियो ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवका अनुसार दाइजो दिएरै विवाह भएपनि थप मागसहित निर्मलालाई दाइजो ल्याउने दबाब थियो। सोही क्रममा सुरालीबाट मागअनुसार समान ल्याउन समय लगाएको कारण जलाएको हुनुपर्ने प्रहरीको अनुमान छ। फरार भएका मुकेशको खोजी कार्य तीव्र पारिएको छ।

धनुषाकै कमला नगरपालिका वडा नं. पाँच लक्कड टोल बस्ने निर्मलालाई मुकेशसँगचार लाख रुपैयाँ बढी दाईजो दिएर धुमधामका साथ बिहे गरिएको थियो। निर्मलाको पारिवारिक श्रोतका अनुसार मुकेशले निर्मलासँग समान्य झगडाको निहुँ खोज्दै मट्टितेल छर्केर आगो लगाएका थिए। निर्मलाको उपचारको लागि छिमेकीको सहयोगमा तत्कालै जनकपुर अञ्चल अस्पताल ल्याइए पनि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो।

आगोबाट जलेर गम्भीर भएकी निर्मलाको उपचार अहिले शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भईरहेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक यादवले जानकारी दिए। अस्पताललाई उदृत गर्दै प्रहरी निरिक्षक यादवले अस्पतालमा उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्रजंग बस्नेतका अनुसार निर्मलाको ३५ प्रतिशत बढी शरीर जलेको बताए। ३५ प्रतिशत भन्दा बढी जलेको स्वास्थ्य अवस्था गम्भिर रहेको बताइएको छ।

चिकित्सकलाई उदृत गर्दै प्रहरी उपरिक्षक यादवले भने, ‘निर्मलाको जलेका भागको मासु झिकेर छाला प्रत्यारोपण गर्नुपर्छ।  तर यसमा ढिलो गरियो भने मासु कुहिएर संक्रमण फैलने डर हुन्छ । विस्तारै मुटु, मिर्गौला, छातीमा हान्न सक्छ’, तर छाला परिवर्तन गर्न परिवारले अनुमति दिइसकेको भएको छैन।’ निर्मलाको परिवारजनको तर्फबाट सर्जरी (छाला प्रत्यारोपण) को लागि अनुमति भएसँगै उनको सर्जरी गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.