|

पर्सा :  दाइजो कम ल्याएको भनी निर्मम यातना दिएको समयमा मृत्यु भएकी सुनिता यादवका श्रीमान् नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सचितानन्द (एसएन) यादव पूर्वक्षका लागि कारागार चलान भएका छन्। 

डा.यादवलगायत परिवारका सदस्यले समेत निर्मम यातना दिएकै समयमा सुनिताको मृत्यु भएपछि सोही अभियोगमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. यादव सोमबार कारागार चलान भएका हुन्। 

पर्सा प्रहरीले नियन्त्रणमा लिएर आइतबार पर्सा जिल्ला अदालतमा पेश गरे पनि दुई दिनदेखि चलिरहेको थुनछेक बहस सोमबार मात्र सकिएपछि अदालतका जिल्ला न्यायधिश चन्द्रकान्त पौडेलको थुनछेक आदेशबाट डा. यादव कारागार चलान भए। उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ नम्बर बमोजिम पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी भोलानाथ धमलाले बताए।

मृतक सुनिताको मुद्दा सरकारवादी भएपछि, वादीको तर्फबाट सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायधिवक्ता रुद्रप्रसाद पन्थी, सहायक न्यायधिवक्ता भिमसेन काफ्ले, वरिष्ठ न्यायधिवक्ता दिपकराज भण्डारी, अधिवक्ताहरु रामनारायण कुर्मी, रामशिषप्रसाद यादव, रामश्रे साह र प्रतिवादी डा. यादवको तर्फबाट अधिवक्ताहरु रामेश्वर सेढाईं, विजयलाल ठाकुर र सुघिर कुमार कर्णले बहस गरेका थिए । बहस सकिएपछि जिल्ला न्यायधिश पौडेलको एकल इजलासले आदेश गरेको उनको भनाइ छ।

मृतक सुनिताका माइती पक्षले डाक्टर यादव माथि जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगको जाहेरी दर्ता गराएकै अवस्थामा गएको चैत १५ गते सुनिताको उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको थियो। मृतक सुनिता यादव डाक्टर यादवकी जेठी श्रीमती हुन्।

वीरगन्ज महानगरपालिका वडा नं २० हरपतगंजमा रहेकी सुनितालाई दाइजो कम ल्याएको निहुँमा गएको चैत ६ गते राती डाक्टर यादव र उनका परिवारका सदस्यले निर्घात कुटपिट गरेको  माइती पक्षले दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए। टाउको, हातखुट्टा र शरीर भरी ५० भन्दा बढि निलडाम रहेको अवस्थामा गण्डक अस्पतालमा उनीहरुले नै भर्ना गराए पनि स्थानीय गण्डक अस्पतालमा उपचार सम्भव नभएपछि सुनितालाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो। उनको काठमाडौंमा नै चैत १५ गते साँझ निधन भएको थियो। 

पर्सा जिल्ला अदालतमा फेला परेका डा एसएन यादवले भने आफूले कुटपिट नगरेको सुनिता आफै लडेर घाउचोट लागेको त्यहि समयमा उनको निधन भएको दाबी गरेका छन्। आफू निर्दोष रहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.