|
सभापति भट्ट, फाइल फोटो

काठमाडौं : संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य प्रमिला कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी कार्ययोजना बनाउने गरेको उल्लेख गर्दै आपत्ति जनाएकी हुन। समितिको बैठकमा आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो। तर समितिकी सदस्य कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी आफूहरूलाई बोल्नसमेत नदिने गरेको भन्दै समितिको सदस्यबाट राजीनामा दिने चेतावनी समेत दिइन।

समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धि गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बुटवलमा आयोजना गरिएको जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रममा सभापति भट्टले आफूलाई जानकारी नदिएको समितिकी सदस्य कुमारीको आरोप छ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गराउने कार्यक्रममा सहभागी किन नगराइएको भन्दै सभापति भट्टलाई प्रश्न पनि गरेकी थिइन।

समितिका अर्का सदस्य खिमकुमार विश्वकर्माले राजनीतिक प्रभावमा परेर सभापति भट्टले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै आपत्ति जनाए। सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका सांसद समेत रहेका उनले राजनीतिक आस्थाको आधारमा अघि बढने हो भने सभापति भट्टको कुनै पनि कार्ययोजना आफूलाई स्वीकार्य नहुने चेतावनी दिए।

भट्ट कांग्रेसको तर्फबाट समितिको सभापतिमा चयन भएकी थिइन। उनीमाथि राजनीतिक प्रभावमा परी काम गरेको समितिका सदस्यहरूको आरोप छ। यता, सभापति भट्टले भने आफूले राजनीतिक प्रभावमा परेर कार्य योजना तय नगरेको दाबी गरे। उनले पक्ष, प्रतिपक्षमा नलागी आफूले सबैलाई सहभागी गराएर समितिको आगामी कार्ययोजना तय गरिरहेको पनि बताए।

समितिकी सभापति भट्टले समितिका सबै सदस्यहरूको उपस्थितिमा कार्य योजना तय गर्न आफू लागि परेको पनि बताइन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.