परिभाषा बदलिँदा बढे बेरोजगार, कुन प्रदेशमा कति बेरोजगार?

|

काठमाडौं : नेपालको कुल जनसंख्यामध्ये १५ वर्षभन्दा बढी उमेर भएको जनसंख्या दुई करोड सात लाख ४४ हजार छ। यो जनसंख्यामध्ये श्रम शक्ति ७९ लाख ९४ हजार रहेको छ भने श्रम बाहिरको शक्ति एक करोड २७ लाख ५० हजार रहेको छ।

तथ्यांक विभागले गरेको तेस्रो श्रम सर्वेक्षणको आधारमा काम गर्न सक्ने ७९ लाख ९४ हजारमध्ये ११.४४ प्रतिशत बेरोजगार रहेका छन्। ७० लाख ८६ हजार जना रोजगार रहेका छन् भने नौ लाख आठ हजार जना बेरोजगार रहेका छन्। पहिलको तुलनामा कस्ता व्यक्तिलाई रोजगार भन्ने सम्बन्धी परिभाषा बदलिएको कारण र बेरोजगार गणनाको शैली पनि परिवर्तन गरिकए कारण बेरोजगारको संख्या बढी देखिएको तथ्यांक विभागको भनाइ छ।

‘आफ्नै उपभोगका लागि खेतीपाती तथा पशुपालन कार्य तथा पारिवारिक उपभोगका लागि वस्तु उत्पादन कार्यमा संलग्न जनशक्तिलाई यसअघिको सर्वेक्षणमा रोजगार मानिएको भएता पनि यसपटको नयाँ परिभाषाअनुसार त्यस्ता क्रियाकलापहरू रोजगारअन्तर्गत परेका छैनन्’, तथ्यांक विभागको सर्वेक्षणमा उल्लेख गरिएको  छ, ‘रोजगार रहेको व्यक्ति हुन सन्दर्भ अवधिमा कम्तीमा एक घण्टा तलब ज्याला पाउने काम गरेको वा नाफा नोक्‍सान आफैँ बेहोर्ने गरी सञ्चालित कुनै व्यवसायमा संलग्न भएको हुनुपर्दछ।’

महिलाको ३० प्रतिशत कम ज्याला

समान कामको लागि पुरुषको तुलनामा महिलाको ज्याला ३० प्रतिशत कम भएको देखिएको छ। श्रम विश्‍लेषणअनुसार एक रोजगार व्यक्तिको मासिक औषत १७ हजार ८०९ रुपैयाँ तलब रहेको छ। तर महिलाको तलब भने औषतमा पर्दैन।

प्रतिवेदनअनुसार करिब १८ हजारको औषत तलबमा पुरुष र महिला बीचको तलब अन्तर पाँच हजार आठ सय ३४ रुपैयाँ रहेको छ। एक पुरुषको औषत तलव १९ हजार ४६४ रुपैयाँ हुँदा महिलाको तलब भने १३ हजार ६३० रुपैयाँ रहेको छ। यो तथ्यांकले पुरुषको तुलनामा महिलाले ३० प्रतिशत कम तलब लिने देखिन्छ।

मुख्य काममा महिलाको तुलनामा पुरुष बढी खटिएको देखिएको छ। सातामा औषत ४४ घण्टा काम गर्ने अवधि रहेको छ। एक पुरुषले औषत ४८ घण्टा अर्थात औषत समयको तुलनामा चार घण्टा बढी काम गर्ने देखिएको छ। महिलाले ३९ घण्टा अर्थात औषत समयको तुलानमा पाँच घण्टा कम काम गर्ने देखिएको छ। समग्रमा सातामा पुरुषको तुलनामा महिलाले नौ घण्टा कम काममा खटिने देखिएको छ।

कृषि क्षेत्रमा महिलाअगाडि

रोजगारीमा रहेको जनसंख्यामध्ये ६२.७ प्रतिशत पुरूष र ३७.३ प्रतिशत महिला हरेको छ। १० क्षेत्रमा रोजगारी विभाजन गरिएकोमा कृषि तथा वन ज्यालामा मात्रै महिलाअघि रहेका छन्। अन्य क्षेत्रमा भने पुरुषको तुलनामा महिलापछि छन्। कृषि तथा वन क्षेत्रको ज्यालादारी काममा महिला ५७.५ प्रतिशत रहेका छन् भने पुरुष ४२.५ प्रतिशत रहेका छन्।

व्यवस्थापकीय जिम्मेवारीमा पुरुष ८६.८ प्रतिशत र महिला १३.२ प्रतिशत रहेका छन् भने प्राविधिक काममा पुरुष ९४.७ प्रतिशत र महिला ५.३ प्रतिशत रहेको देखिएको छ।

कहाँ छन् बढी बेरोजगार?

सबैभन्द बढी बेरोजगार प्रदेश २ र सबैभन्दा बढी रोजगार प्रदेश ३ मा देखिएको छ। बेरोजगारको दर क्रमशः प्रदेश २ मा २०.१, सुदूरपश्‍चिम प्रदेशमा ११.५ प्रदेश १ मा ११.४ र प्रदेश ५ मा ११.२ प्रतिशत बेरोजगारी रहेको छ।

त्यस्तै प्रदेश १ मा १०.२, गण्डकी प्रदेश ९ र प्रदेश ३ मा सात प्रतिशत बेरोजगार देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.