विष्णु पौडेलले किनेको जग्गाबारे हतार नगरौँ

|
नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओली। तस्बिर : दिपक केसी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो वर्षमा सुरुवातको आधार निर्माण गरेकाले समृद्धिले गति लिन नसकेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अब समृद्धिमा अघि बढ्ने दाबी गरे। 

‘पहिलो वर्षमा सुरुवातको आधार निर्माण गरेका छौँ अब हामी समृद्धिमा जान्छौँ’, उनले भने, ‘अब समृद्धिमा अघि बढ्छौँ, अब विकासले गति लिन्छ।’

ललिता निवासबारे मुख खोले 

नेकपा अध्यक्षसमेत रहेका ओलीले बेचिएको भनिएको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गाबारे सरकारको धारणा राखेका छन्। 

‘ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य हाम्रो सरकारले बाहिर ल्याएको हो’, उनले भने, ‘अहिले सरकारविरुद्ध उल्टै अफ्ठ्यारो नमानी प्रतिपक्षीहरू बोलिरहेका छन्।’

प्रधानमन्त्री ओलीले सरकारले दृढतापूर्वका सरकारी जमिन फिर्ता लिने गरी अघि बढिरहेको बताए। ‘सरकारी जमिन फिर्ता ल्याउने कुरामा सरका दृढतापूर्वक लागिरहेको छ’, ओलीले भने, ‘जोसुकैले हडपेको होस, सरकारी जग्गा फिर्ता ल्याउँदा जसलाई पनि अफ्ठेरो परोस, हामी फिर्ता ल्याएरै छाड्छौँ।’

विष्णु पौडेलबारे यसो भने 

प्रधानमन्त्री ओलीले ललिता निवासको सरकारी जग्गा किनेर विवादमा तानिएका महासचिव विष्णु पौडेललाई बचाउको शैलीमा आफ्नो धारणा राखे। महासचिव पौडेलमाथि पार्टी भित्रैबाट कारबाहीको माग उठिरहेका बेला प्रधानमन्त्री ओली नरम रूपमा प्रस्तुत भएका हुन्। 

‘हाम्रा महासचिव विष्णु पौडेलले राजा ज्ञानेन्द्र शाहको शासनका बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा आठ आना जमिन किन्नुभएको रहेछ’, ओलीले भने, ‘त्यो जमिन सरकारीे पर्छ कि पर्दैन? समयक्रममा प्रष्ट हुनेछ, हतार गर्नुपर्दैन।’ 

सरकारी जमिन फिर्ता ल्याउने कुरामा सरकार वाद प्रतिवादमा अल्झिने भन्दा पनि गहिराइ गएर गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने ओलीको भनाइ थियो। ‘भृकुटीमण्डप हामीले बेचेको हो? रत्नपार्कमा हामीले टहरा ठड्याएको हो?’, ओलीको प्रश्न थियो, ‘हामीले त्यहाँका टहरा भत्काएका छौँ, सरकारी जमिन फिर्ता पनि ल्याएका छौँ।’ 

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध कडारूपमा प्रस्तुत हुने बताए। ‘भ्रष्टाचारविरुद्ध अझै कडारूपमा प्रस्तुत हुन्छौँ,’ ओलीले अगाडि भने, ‘काम नगर्ने ठेकेदारलाई पनि कारबाही हुन्छ। माफियासँग मिलेमतो गर्ने विगतको कुरा वर्तमान सरकारले गर्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.