|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले मजदुरका धेरै काम गरेको बताएका छन्। ज्वाइन्ट ट्रेड युनियन काेअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मजदुरका लागि यसअघिका सरकारले कल्पना नगरेका काम गरेको दाबी गरेका हुन्।

सरकारले बेरोजगार युवाहरूका लागि १०० दिनकाे कामकाे व्यवस्था गरेको बताउँदै उनले त्यो हुन नसके ५० दिनकाे भत्ता दिने ऐतिहासिक कामको पनि सुरुवात गरेको स्मरण गराए। मजदुरप्रति अहिलेजति माया यसअघिका सरकारले नदेखाएको उनकाे भनाइ थियाे।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महताेले वर्तमान सरकारले उद्योग खाेल्न, विदेशी लगानी ल्याउन र भएको लगानी राेक्न नसकेको तथा युवा विदेशीनुलाई उपलब्धि मानेकाे भनेर दिएकाे अभिव्यक्तिकाे प्रधानमन्त्री ओलीले व्यंग्यात्मक जवाफ दिए। उनले भने, 'राजेन्द्र महताेजीलाई सिमामानामा नाकाबन्दी गरेर, पेट्रोल आउन नदिएर विकास हुन्छ? भनेर म साेध्दिनँ।' 

ओलीले महतोलाई फेरि भने,'सरकारले राम्रा काम गर्न थाल्यो समर्थन फिर्ता लिएर बस्नुभएको छ, अचम्म लाग्छ। समर्थन फिर्ता लिने होइन, फिर्ता गरौँ। एकठाउँमा बस्‍न मजदुरबाट सिकौँ।' 

राजपाले केही पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संविधान संशोधन लगायतका माग पूरा नगरेको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यता, जेटियुसिसीको ब्यानरमा विभिन्न राजनीतिक दल निकट मजदुर संगठनले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका छन्। यसैलाई लिएर प्रधानमन्त्रीले शिक्षा लिनुपर्ने बताएका हुन।

प्रधानमन्त्रीले उद्योग बन्द वर्तमान सरकार आएपछि नभएको भन्दै विगतमा बन्द उद्योग खोलिन लागेको बताए। त्यस्तै देश र विदेशमा लगानी सम्मेलन आयोजना गरेर मुलुकमा लगानी ल्याएर विकास अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए। 

सरकारले मजदुरले प्रसन्‍न मनले काम गर्ने वातावरण बनाउन काम गरिरहेको तथा उद्योग तथा लगानी कर्ताको लगानी सुरक्षित गर्न पनि सरकारले काम गरिरहेको जानकारी दिए। 

मजदुरले बैंक खाताबाट तलब पाउने व्यवस्था लागू गरिएको बताउँदै ओलीले भने,'बैंकबाट तलब पाउने व्यवस्था गरिएको छ। अब मजदुरलाई ठगठाग गर्ने दिन गए। यी सबै भवितव्यले नभइ सरकारका कामले भएका हुन्।' 

फेरि राजेन्द्र महतोलाई नै जवाफ दिएका ओलीले भने,'सबै नेपाली सुखी हुने, नेपाल समृद्ध हुनेछ भन्दा छाती किन पोलेको? किन छाती भतभत हुन्छ ?नेपाली जनताले दुस्ख पाउनु हुँदैन, दु:खको अन्त्य गरिन्छ।' प्रधानमन्त्रीले विकास र सामाजिक न्यायमार्फत् मुलुकलाई समृद्ध बनाइने बताए।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.