राष्ट्रपतिको आलोचनामा कुन नेताले के भने?

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाईको सरकारले दोस्रो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई तिहाईको सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकी हुन। झन्डै दुई घण्टा लगाएर वाचन गरिएको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारले पहिलो वर्ष गरेका कामको समीक्षा सुनाएकी थिइन। झन्डै ४० मिनेटको समय ओली नेतृत्वको सरकारले पहिलो वर्ष सुरु गरेका तथा पूरा गरेका भनिएका कामको फेहरिस्त राष्ट्रपतिले सुनाएकी थिइन। जुन विगतमा स्वयम् प्रधानमन्त्री ओलीले आफ्ना भाषणहरूमा पनि सुनाउदै आएका थिए। पृथकतावादको अन्त्य, पुल निर्माण, हेलिकोप्टरबाट सुत्केरीको उद्दार, हावाहुरी पीडितलाई सरकारले राहत दिएको तथा चीनसँगका सम्झौतादेखि लिएर काठमाडौंलाई चीन र भारतसँग रेलमार्गसँग जोड्ने एवं अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति, सरकारी जग्गा फिर्ता गरेकोदेखि विद्यालय भर्ना अभियान लगायतका कामको सुरुवात भएको उक्त फेहरिस्तमा उल्लेख थियो।

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले राजमार्गलाई विमान ल्यान्डिङ गराउनका लागि स्तरोन्नती गर्ने, खेतका गरा र बारीका पाटा हराभरा गर्ने तथा सुनदेखि युरेनियम उत्खनन गर्ने आगामी काम सुनाइन्। तर, राष्ट्रपतिको सम्बोधन भने विवादमा तानियो। त्यो विवाद थियो एक शब्दको, जसलाई राष्ट्रपतिले एक दर्जनभन्दा बढी पटक उच्चारण गरेकी थिइन। राष्ट्रपतिको ‘मेरो सरकार’ भन्ने शब्दले विवाद सिर्जना गरेको छ।

सत्ताधारी नेकपाका नेताहरूले राष्ट्रपतिले ‘मेरो सरकार’ शब्दको सट्टामा ‘नेपाल सरकार’ भनेको भए हुन्थ्यो भनेर असन्तुष्टि जनाएका छन्। यता प्रतिपक्षीले भने उक्त शब्द प्रयोगमा राष्ट्रपतिमा ‘शक्तिको भोक’ देखेका छन। राष्ट्रपतिलाई राजाहरूको श्री ५ को सरकारसँग नै तुलना गरेर प्रतिपक्षीले आलोचना गरेका छन्।

कुन नेताले के भने?

नीति तथा कार्यक्रमपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले व्यंग मिश्रित भाषामा राष्ट्रपतिको आलोचना गरेका थिए। उनले भने, ‘नेपाल सरकार भनेको भए पनि हुन्थ्यो, उहाँलाई मेरो सरकार भन्ने इच्छा लाग्यो भन्नुभयो।’ नीति तथा कार्यक्रममा पनि पूर्वप्रधानमन्त्री देउवाको असन्तुष्टि थियो। छोटो प्रतिक्रिया दिएका उनले भने, ‘आश्वासन बाहेक केहि पनि छैन, केही पनि नयाँ कुरा छैन।’

हालैमात्र ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी, नेपालले पनि राष्ट्रपतिको ‘मेरो सरकार’ शब्दमा कडा आपत्ति जनायो। राजपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले राष्ट्रपति राजा बन्न खोजेको आरोप लगाए। ‘आजको राष्ट्रपतिको भाषणमा मेरो सरकार, मेरो सरकार भन्दाखेरि राजा बन्न खोजेको देखिन्छ। यो सरकार राष्ट्रपतिको सरकार होइन। यो संसद र जनताको सरकार हो’, उनले थपे, ‘मेरो सरकार, मेरो सरकार भनेर बडा विचित्रको भाषा प्रयोग भएको छ।’

नीति तथा कार्यक्रममा बकबास कुरा राखेको भनेर प्रतिक्रिया दिएका कर्णले बाँकी भने बजेटबाट प्रष्ट हुने तर्क गरे। उनले भने, ‘नीति तथा कार्यक्रम पूरा बजेटबाट हुने हो। बजेटको प्रतिक्षा गरौँ त्यसबाट थाहा हुन्छ।’

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसद पनि राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा सन्तुष्ट देखिएनन्। पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपाका सांसद सुरेन्द्र पाण्डले राष्ट्रपतिको उक्त शब्दको बारेमा प्रतिक्रिया दिनेबेला पूर्वराजाहरूलाई सम्झिए। उनले भने, ‘त्यस (मेरो सरकार)मा टेक्निकल्ली बोल्न चाहन्न। यो नेपाल सरकार भन्ने शब्द उचित शब्द हो। पहिला श्री ५ हुन्थ्यो, राजा। त्यसैले मेरो सरकार हुन्थ्यो। अहिले राष्ट्रपतिको सरकार भन्ने हुँदैन। नेपाल सरकार भनेको भए बढी ठीक हुन्थ्यो भन्ने लाग्छ मलाई।’

पाण्डेले नीति तथा कार्यक्रमबारे भने, ‘केही कार्यक्रम निरन्तरताका रूपमा आएका छन्। ७५३ स्थानीय तहका केन्द्रमा कालोपत्रे सडक पुर्‍याउने लक्ष्य राखिएको छ। यो पूरा भयो भने महत्वपूर्ण सफलता हासिल हुन्छ।’

राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि सरकार राष्ट्रपतिको नभएर जनताको भएको धारणा राखे। उनले भने, ‘यो हाम्रो सरकार हो। मुलुकको संविधानले सार्वभौमसत्ता जनतामा निहीत गरेको छ। जनताप्रति उत्तरदायी सरकार हो। मेरो सरकार भन्नु जनताप्रति र संविधानप्रति सम्मान रहेन। यसलाई करेक्सन गरेर नेपाल सरकार भन्नुपर्छ।’

सांसद रामनारायण विडारीले पनि ‘मेरो सरकार’ भन्ने शब्दप्रति असहमति व्यक्त गरे। उनले धेरै बोल्न नचाहेको भन्दै छोटो प्रतिक्रियास्वरुप भने, ‘नेपाल सरकार भनेको भए हुन्थ्यो। मेरो सरकार भन्ने शब्द संवैधानिक होइन।’

नेपाली कांग्रेसका सांसद गगन थापाले ‘नीति तथा कार्यक्रम सरकारको हो कि राष्ट्रपतिको सरकारको हो?’ भनेर प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्रीजीलाई आग्रह गरेको छु यो यदि सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा ल्याउने गरी यत्रो गल्ती किन भयो?’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बेला ‘मेरो सरकार’ भनेर गणतन्त्रमा सामन्तवाद भित्र्याएको आरोप लगाए।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.